प्युठानको दुर्गम क्षेत्र स्याउलिवाङ पुग्ने सौभाग्य मिल्यो। गाडीका लागि खनिएका बाटाहरु सकिएर पनि ५-६ घण्टा अझै हिँड्नुपर्ने गरिको टाढा रहेछ। बाटोमा हिँड्दै गर्दा पहाड फोर्दै बाटो खन्दै गरेका एक्स्काभेटरहरु भेटिए। पहाडका कडा चट्टानसँग लडिरहेका, भिडिरहेका। भविष्यका लागि गतिलो बाटो बनाउन एक्लैएक्लै विरानो पहाडमा एकनासले कोतरिरहेका ती एक्स्काभेटरलाई देख्दा मलाई आफ्नै झल्को पो आयो। मलाई यी एक्स्काभेटर हाम्रो देशका जीपी डाक्टर जस्ता पो लागे।
एक्स्काभेटरले बाटो नै नभएको ठाउँमा पहाड फोडेर बाटो निकाल्छ। एक्लै काम गर्छ, सीमित स्रोत साधानमा काम गर्छ। जब सडक राम्रो बन्छ, चिल्लो कालोपत्रे बन्छ सायद कसैले त्यहाँ एक्स्काभेटरलाई चल्न दिँदैनन्। कसैगरी चल्यो भने पनि 'यो यहाँ किन आयो, कसरी आयो, यो यसको क्षेत्र नै होइन' भनेर कर्के आँखाले हेर्छन्। नेपालका हामी एमडी जिपी 'जेनेरल प्राक्टिस स्पेसलिस्ट' हरुको अवस्था पनि उस्तै छ।
दुर्गमका गाउँगाउँमा जबसम्म सुविधा हुँदैन, स्रोत हुँदैन, औषधि हुँदैन तबसम्म जिपी डाक्टरले जसोतसो गरेर स्वास्थ्य सेवा दिइरहेका हुन्छन्। बिना एनेस्थेसियोलोजिस्ट शल्यक्रिया गर्छन्। बिना एनेस्थेसिया मेसिन, बिना पोस्टअप सुविधा कस्ताकस्ता खतरा मोलेर बिरामीको ज्यान बचाउनका लागि शल्यक्रिया गर्छन्। बिना पर्याप्त र तालिमप्राप्त सहयोगी नर्स, पारामेडिक्स जटिल बिरामीको उपचार गर्छन्। रगत उपलब्ध नभए पनि सिजेरियन गर्छन्। एउटै जिपीले फिजिसियन, पेडियाट्रिसियन, गाइनेकोलोजिस्ट, सर्जन, एनेस्थेसियोलोजिस्ट, साइक्याट्रिस्ट, डर्माटोलोजिस्ट, रेडियोलोजिस्ट, काउन्सिलर जस्ता भूमिका निभाइरहेको हुन्छ। सेवा दिइरहेको हुन्छ। जब सेवाको विकास हुन्छ, स्रोत साधन थपिन्छन्, अनि ती जिपीहरु पनि एक्स्काभेटरझैं घाँडो बन्न पुग्छन्।
'यो फिजिसियन होइन, यसलाई पेट, मुटु हेर्नै आउँदैन। यो पेडियाट्रिसियन होइन, यसलाई बच्चा देखाउनु हुँदैन। यो गाइनेकोलोजिस्ट होइन, यसलाई सिजेरियन गर्न दिनु हुँदैन। यो सर्जन होइन, यसलाई अपरेसन गर्न आउँदैन। यो रेडियोलोजिस्ट होइन, यसले भिडियो एक्सरे गर्न पाउँदैन।' खासमा, सुविधा थपिँदै गएपछि जिपीहरुले गर्न पाउनेभन्दा नपाउने कामको लिस्ट लामो हुन्छ। टाउको दुखे टाउकोकै, मुटु दुखे मुटुकै डाक्टर खोज्ने बिरामीहरुको भीडमा सम्पूर्ण मानव शरीर, परिवार र समाजका डाक्टर जिपीहरुले आफ्नो स्थान भेट्न सक्दैनन्। भेट्न पनि दिइँदैन।
अनि ऊ पनि एक्स्काभेटरजस्तै अर्को बिरानो दुर्गम गाउँ खोज्दै, त्यही समाजमा भिज्न, पहाड फोर्दै बाटो बनाउन, भविष्य बनाउन र नयाँ ट्र्याक खोल्न जंगलतिर छिर्छ।