बारम्बर भन्ने गरिन्छ, ‘डाक्टर भगवान होइन।’ यसको अर्थ डाक्टर मानव स्वास्थ्यको जानकार मात्रै हो। मुख्य कुरा ऊ आफै मानव हो। त्यसैले उसमा मानवीय गुण वा दोष आम मानव भन्दा भिन्न हुन सक्दैनन्। ती गुण वा दोष पेशासँग जोडिदा देखिने विभिन्न चित्र यसप्रकार छन्ः
डा. दधिची
धनी परिवारमा जन्मेका डा. दधिचीलाई कहिल्यै डाक्टर बन्छु भन्ने लागेको थिएन। तर, उनको वुवाले करकापमा पारेर भएपनि धेरै खर्च गरेर उनलाई डाक्टर बनाए। डाक्टर पढ्दा धेरै खर्च भएको कुरा दिमागमा छ। ब्यापारिक घरानाका भएकाले उनलाई त्यो धेरै कमाउन गरिएको लगानी जस्तो पनि लाग्छ। अहिले उनको काम गर्ने तरिका देख्दा उनी त्यो लगानीको बढी भन्दा बढी प्रतिफल खोजिरहेका छन् जस्तो लाग्छ ! ब्यापारिक पृष्ठभूमिका उनमा ब्यापारिक गुणहरु अझै धेरै देखिन्छन्। उनी महंगो गाडी चढ्छन्, क्लिनिकमा टिकट नकाटेको बिरामीको नमस्कार फर्काउन पनि चाहदैनन्। उनका नियमित बिरामीहरु प्रायः धनाढ्य परिवारकै हुन्छन्।
डा. दुर्वासा
नाम अनुसारकै छ, डा. दुर्वासाको ब्यबहार। जो कोही उनीसँग बोल्न पनि डराउँछ। रिस त उनको नाकैमा झुण्डिएको जस्तै लाग्छ। उनको क्लिनिकमा हरेक कुरा मिलेको हुनुपर्छ। बिरामीले आफ्नो रोगबारे जिज्ञासा राख्दा उनको उत्तर हुन्छ, ‘तपाईं डाक्टर कि म डाक्टर ?’ धेरैपटक कुटाइ खानबाट जोगिएका तर पनि सुध्रिने छाँटकाँट नभएका उनी एक्लै बस्न मन पराउँछन्। उनको परिवारको बारेमा कसैलाई पनि थाहा छैन। किनकि उनलाई सोध्ने हिम्मत त कसले गर्नै सक्दैन। उनी हार्ड ड्रिंक्सका शौखिन हुन्।
डा. बैद्य
शान्त स्वाभावका डा.बैद्य बिस्तारै बोल्छन्। कहिल्यै नरिसाउने उनले काम गर्न थालेको २० वर्ष पुगिसक्यो, जहिल्यै उनी स्कुटरमा देखिन्छन्। उनलाई एलोप्याथिक औषधी भन्दा आयुर्वेदिक औषधी र प्राकृतिक चिकित्सामा बढी विश्वास छ। बिरामीहरुलाई बेला–बेला योगा पनि सिकाइरहेका हुन्छन्। प्रेसरका विरामीलाई करेला खाने, निमपत्ता खाने सल्लाह दिइरहन्छन्। एउटै बिरामी हेर्न कम्तिमा आधा घण्टा लगाउँछन्। धर्ममा पनि उत्तिकै लगाव छ उनको। क्लिनिकको कोठामा पनि भगवानका प्रशस्तै तस्बिर सजाइएका छन्।
डा.एमआर
नयाँ कारमा हुन्छन् उनी। महंगा मोबाइल फेरिरहने बानी छ। विदेश भ्रमणमा पनि निस्किरहन्छन्। गफ निकै मिठो गर्छन्। बिरामीलाई चाहिने भन्दा बढी नै औषधी भिडाउन सक्नु उनको खुबी हो। चिटिक्क परेर बस्ने उनको साथमा जहिले पनि दुई जना एम.आर ( मेडिकल रिप्रेजेन्टेटिभ) हुन्छन्। उनीहरुलाई आफ्नो पिएको जस्तो जिम्मेवारी दिएका छन्। उनको घरमा हरेक महिना महंगा सामग्री औषधी कम्पनीबाट सिधै आइपुग्ने हल्ला सुनिन्छ।
डा. केके
के.के अर्थात् किरण कुमार। प्रख्यात सर्जन। तर, सबै उनलाई कसाइँ कुमार भन्छन्। अप्रेसनमा साह्रै सिपालु उनी ‘हरेक रोगको उपचार सर्जरी नै हो’ भन्ने मान्यता राख्छन्। उनकोमा गएको बिरामी अप्रेसनबिना फर्किने संभावना निकै कम हुन्छन रे ! विरामीसँग कमै बोल्ने उनी बाहिर भन्दा ओ.टी. (अप्रेसन थिएटर)मा रमाउँछन्। उनको ठाउँका मान्छे कसैका पनि एपेन्डिक्स र पित्तथैलि छैनन् रे ! किनभने उनले अप्रेसन गरेर झिक्दिसके। उनी पैसाको खासै लोभ गर्दैनन्। गरिब विरामीको सित्तैमा अप्रेसन गरिदिन्छन्।
डा. बिजि
बि.जि अर्थात् बिजय जिसी। उनी आफूलाई डा. बिजि भन्न रुचाउँछन्। हुन पनि सधैं बिजि हुन्छन्। उनी हिँडिरहेका हुन् कि दौडिरहेका हुन्, सहकर्मीले कहिल्यै पत्ता लगाउन सकेनन्। मोबाइलामा निरन्तर बोल्छन्। बिरामी हेरिरहेको अवस्थामा पनि मोबाइलमा कुरा गर्न सक्ने खुबी छ उनको ! सधैं हतारमा देखिन्छन्। न्युनतम एक घन्टा ढिलो मात्रै हस्पिटल आइपुग्छन्। आउने बित्तिकै सबैलाई अत्याइदिन्छन्। किनभने हरेक कुरा टाइममा हुनुपर्छ भन्ने मान्यता छ उनको ! एउटा बिरामीलाई दुई मिनेट समय दिन्छन्। बिरामीले केही जिज्ञासा राख्यो भने उत्तर हुन्छ, ‘अहिले यो औषधि खानुस्, भएन भने फेरि भेटौँला।’ बिहान छ बजे घरबाट निस्किने उनी रातको १० बजे मात्रै घर पुग्छन्।
डा. पिपि
पी.पी अर्थात् प्रेम प्रसाद। तर, सबैले उनलाई परीक्षण प्रसाद भनेर चिन्छन्। बिरामीको समस्या सुन्न भन्दा बढी परिक्षण गर्छन्। अर्थात् इन्भेस्टिगेसनमा उनको ठूलो रुची छ। ल्याबको रिपोर्ट हेरेपछि बिरामी हेर्नै नपर्ने उनको मान्यता छ। हरेक टाउको दुखाईका लागि सिटी स्क्यान र पेट दुखाईका लागि भिडियो एक्स रे गर्नुपर्ने उनको दृढ विश्वास छ। शंकालु पाराका उनी ‘हरेक सानो कुरामा ठूलो समस्या लुकेको हुन्छ’ भन्ने मान्यता राख्छन्।
डा. मैंहुँ
उनको असली नाम मोहम्मद हुसेन हो। तर, उनी डा. मैहुँका नामले प्रख्यात वा यसरी भनौं कुख्यात छन्। मेडिकल प्य्राक्टिसको २५ वर्ष भइसकेको छ उनको। आफ्नो ठाउँका नामुद डाक्टर हुन्। उनको समयमा कम्पिटिसनमा आउनसक्ने कोही थिएनन्। आजभोलि भने नयाँ प्रतिस्प्रर्धिहरु आउन थालेका छन्। उनमो घमण्ड घट्नुको साटो झन् बढेर गएको छ। कसैलाई मान्छे गन्दैनन्। बिरामीलाई छुन पनि खोज्दैनन्। उनको आत्मविश्वास भन्छ, ‘म जस्तो एक्सपिरिएन्स्ड डाक्टरले बिरामी जाँच्नै पर्दैन, हेरेरै रोग पत्ता लगाइदिन्छु।’ उनले क्लिनिकमा आफ्नो लागि आरामदायी सोफा र बिरामीका लागि सानो स्टुलको ब्यबस्था गरेका छन् !
डा. साइनो
यो उनको उपनाम हो। आफ्नो नाम पत्ता लगाउन उनी आफैँले समेत नागरिकता हेर्नुपर्छ ! किनभने उनको बानीका कारणले बिरामी र सहकर्मीले डा. साइनो भन्छन्। उनीकहाँ आउने हरेक बिरामी उनको आफन्त पर्छ। किनभने उनी थर, उमेर र ठाउँ जताबाट मिल्छ त्यतैबाट साइनो लगाएर पठाउन सक्छन्। बिरामीसँग साइनो गाँसेर मीठो कुरा गर्छन्। आफ्नै उमेरकालाई साथी, अलिकति बढीकालाई दाई दिदी, बुढाबुढीलाई बुवाआमा, सानालाई नानी, बाबु भनेर साइनो लगाउँछन्। थर र ठाउँ मिल्यो भने त आफ्नै दाजुभाई र बाआमा भन्दा नजिक ठान्छन् ! प्रशस्त समय दिएर बिरामीका समस्या सुन्छन्। बिरामीहरु उनीदेखि सन्तुष्ट पनि छन्। दुई सन्तानका पिता उनको पारिवारिक जीवन पनि सुखी छ। उनले हेरेका बिरामी औषधीले होइन उनको कुराले निको हुन्छन्। जस्तो जटिल समस्या आाएपनि उनले रिफर नगरेसम्म बिरामीहरु अर्काे ठाउँमा जाँदैनन्।
डा. बक्र
नाम अनुसारकै ब्यवहार भएका मान्छे हुन् उनी। उनले डाक्टरी कम र राजनिती बढी गर्न जानेका छन्। अरु डाक्टरका कुरा काट्न र अरुलाई गाली गर्न खप्पिस छन्। अरुले डाक्टरले लेखेको औषधी काटिदिने र बिरामीका अघि उक्त डाक्टरलाई होच्याउने गर्छन्। आफूले लेखेको औषधी बाहेक अरु औषधी नखान बिरामीलाई कडा चेतावनी दिन्छन्। बेला–बेलामा डाक्टर संघको चुनाबमा उठ्छन्। तर, अहिलेसम्म उनले जितेको कसैले थाहा पाएको छैन। कुरामा चाहिँ आफू जन्मजात राजनीतिक क्षमता भएको मान्छेका रुपमा अघि सार्छन्।
माथिका उदाहरणहरु डाक्टर(हामी)मा भएका मानवीय गुण, अवगुणहरुको उच्चतम बिन्दु हुन्। यीनका केही अंश सबै डाक्टरमा हुन्छन्। तीमध्ये कोहीमा बढी होलान् त कोहीमा कम मात्रै। बिरामी भएर वा विरामी लिएर डाक्टरलाई भेट्दा डाक्टरहरुमा माथि उल्लेखित गुण अरुले पनि पक्कै भेटेका छन्। यी हामी भित्रका मानवीय गुण वा अवगुणहरुका चित्रण हुन्। यसले आफ्नो बारेमा सोच्न, बुझ्न, आफ्नो दृष्टिकोण र बिरामीप्रतिको ब्यवहार बुझ्न र परिमार्जन गर्न समेत सहयोग गर्न सक्छ।
(पुनश्चः प्रोफेसर जोन मुर्ताघको पुस्तक ‘जनेरल प्राक्टिस’बाट नेपालीकरण गरिएको हो।)