एआईद्धारा निर्मित तस्विर
काठमाडौं - स्वास्थ्य सेवा प्रणालीको बलियो मेरुदण्ड हुन्, नर्सिङ जनशक्ति। उनीहरु बिना अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा कल्पना पनि गर्न सकिदैन।
बिरामी भर्ना भएदेखि निको बनाएर पठाउने बेलासम्म नर्सको अहम् भूमिका रहन्छ। बिरामीको सेवाका लागि उनीहरु दिनरात, भोकप्यास नभनी खटिरहन्छन्। तर तिनै नर्सहरु कहिले रोजगारीको अभावमा त कहिले तलब सुविधाका लागि सडकमा उत्रन बाध्य हुन्छन्।
यही कारण पनि नेपालमा उत्पादित नर्सहरु स्वदेशको सेवा छाडेर विदेश पलायत हुन बाध्य छन्। नर्सिङ पेशाको उचित मूल्यांकन नभएको भन्दै यसरी विदेश पलायन हुने क्रम नेपालमा चिन्ताजनक अवस्थाले वर्षेनी बढ्दै छ।
गएको दुई दशकमा नेपालबाट ५२ हजार बढी नर्सहरु विदेशिएका छन्। नेपाल नर्सिङ काउन्सिलको २०५९ सालदेखिको तथ्यांक नियाल्ने हो भने हालसम्म ५२ हजार २ सय ५५ नर्सले रोजगारीका लागि देश छाडेका छन्।
२०७२ सालसम्म वर्षेनी ७ सयका दरले नर्स विदेशिएकोमा यो संख्या लगभग तेब्बरले बढ्दै २०७४ सालबाट २ हजार माथिका दरले नर्सहरु विदेशिन थालेका हुन्।
अमेरिका पहिलो रोजाई
नेपालमा उत्पादन हुने नर्सहरु विश्वका १७ देशमा रोजगारीका लागि विदेशिएका छन्। जसमा उनीहरुको पहिलो रोजाई बनेको छ, अमेरिका।
सबैभन्दा धेरै नर्सहरु विदेशिएका देशमध्ये अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा मात्रै आधा बढी २९ हजार ३८५ जना नर्सहरु छन्। अष्ट्रेलियामा १२ हजार ९२४, दुबईमा ४ हजार ४७४, डेनमार्कमा १ हजार ४११, युकेमा १ हजार २८२, क्यानडामा ९७८ जना नर्स विदेशिएका छन्।
काउन्सिलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४ हजार नर्सहरु अमेरिका गएका छन्। सोही वर्ष १ हजार अष्ट्रेलिया, १ सय डेनमार्क, १ सय युके र ६० जना नर्सहरु क्यानडा गएका छन्।
यस्तै, २०७९/८० मा अमेरिका जाने नर्सहरुको संख्या ५ हजार थियो। सोही वर्ष १ हजार २ सय अष्ट्रेलिया, १ सय ५० डेनमार्क, १ सय ५० युके तथा ८० जना नर्सहरु रोजगारीका लागि क्यानडा गएका थिए।
आर्थिक वर्ष २०८०/२०८१ मा ६ हजार नर्स अमेरिका, १ हजार ५ सय अष्ट्रेलिया, २ सय डेनमार्र्क, १ सय ६० युके, १ सय जना नर्सहरु रोजगारीका लागि क्यानडा गएका काउन्सिलको तथ्यांक छ।
सरकारी दरबन्दी थप्नुपर्छ
विदेशीने नर्सको संख्या बढ्दै जाँदा सरोकारवालाहरुले यसलाई रोक्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अस्पताल नर्सिङ प्रशासक नुजन शर्मा झा नर्सिङ जनशक्तिलाई नेपालमै बस्ने वातावरण बनाउन दरबन्दी थप्नुपर्ने बताउँछिन्।
उनले भनिन्, ‘सरकारी क्षेत्रमा ७० प्रतिशत मात्रै जनशक्ति उपभोग भएको अवस्था छ। न्यूनतम तलब, जोखिम भत्तालगायत विषयहरुलाई सम्बोधन गर्न सके नर्सहरु विदेशिने क्रमलाई केही हदसम्म रोक्न सकिन्छ।’
स्वास्थ्य संस्थाहरुमा नर्सहरु माथि कामको बोझ पनि धेरै नै हुने गरेको उनले बताइन्। स्वास्थ्य सेवाको गुणस्तरीयलाई बढाउन नर्सहरु माथि हुने कामको बोझलाई सुधार गर्नुपर्नेमा उनको जोड छ।
जनस्वास्थ्य ऐन तथा मापदण्डहरुले निर्धारण गरेका न्यूनतम मापदण्डहरु पुरा गर्नुपर्ने उनी बताउँछिन्। बिरामी तथा नर्सहरुबीचको अनुपात मिलाउन सकेमा नर्सहरु कामदेखि सन्तुष्ट हुन सक्ने उनले बताइन्। साथै नेपालमा विशिष्टीकृत नर्सहरुको उत्पादन भइरहँदा उनीहरुको सिपलाई उपभोग गर्न सक्ने अवस्था भए नभएको पनि अध्ययन हुनुपर्ने उनको तर्क छ।
कोरोना जस्ता महामारीमा नर्सिङ जनशक्तिको अभाव हुन सक्छ
नर्सिङ जनशक्ति वर्षेनी विदेशी रहँदा नेपालका अस्पतालहरुमा भने अभाव हुने गरेको छ। कोरोना महामारी तथा विभिन्न आकस्मिक स्वास्थ्य सेवा प्रवाहका क्रममा नर्सिङ जनशक्ति अभाव भोगिरहेको वीर अस्पतालका नर्सिङ निर्देशक संगीता श्रेष्ठ बताउँछिन्।
नर्सहरुले ओटी आइसीयू लगायत विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने स्थानमा समेत अत्यधिक कार्य बोझ लिनुपर्ने अवस्था रहेको उनले बताइन्। कामको बोझ धेरै हुँदा नर्सले दिने गुणस्तरीय सेवामा कमी गरेको उनको भनाई छ। विशिष्टीकृत क्षेत्रमा काम गराउनका लागि नर्सहरुलाई कम्तीमा पनि ३ महिनाको तालिमको आवश्यकता पर्ने उनले बताइन्।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिरा कुमारी निरौलाले नर्सिङ शिक्षामा गुणस्तरीयता कायम गर्न कुनै पनि संस्थाले पूर्वाधार बिना नर्सिङ पढाउन नपाउने नियम ल्याइएको दाबी गरिन्। चिकित्सा शिक्षा आयोग तथा स्वास्थ्य मन्त्रालयले नेपालको आवश्यकतालाई ध्यानमा राखी नर्सिङ जनशक्तिको उत्पादन गरिरहेको उनले बताइन्।
‘पूर्वाधार तथा फ्याक्ल्टीको क्षमताको आधारमा सिट निर्धारण तथा जनशक्ति उत्पादन हुँदै आएको छ। जसले शिक्षाको गुणस्तरमा सकारात्मक असर पार्नेछ,’ निरौलाले भनिन्, ‘चिकित्सा शिक्षा आयोगले प्रयोगात्मक ज्ञानलाई बढाउन समय समयमा अनुगमन गर्दै समेत आइरहेको छ। करिकूलम फ्रेमवर्क बनाइदिएको छ। नर्सिङ कलेजहरुले उक्त करिकूलम फ्रेमवर्क पारित गराएर मात्रै पढाउन पाउने व्यवस्था छ।’
नर्सिङ विद्यार्थीहरुलाई लाइसेन्स दिनु अगाडि प्रयोगात्मक परीक्षाको व्यवस्था आगामी दिनमा गर्नका लागि नर्सिङ काउन्सिललाई उनको सुझाव छ।