काठमाडौं- किष्ट शिक्षण अस्पतालले उपचार सेवा सुदृढ तथा विस्तार गर्ने उद्देश्यसहित भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग औपचारिक सहकार्य सम्झौता गरेको छ। ललितपुरस्थित हिमालय होटलमा आयोजित कार्यक्रममा मेदान्त अस्पतालका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र अन्तर्राष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमित कुमार ओझाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।
हालै किष्ट शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता एनएबिएच (NABH) प्राप्त गरेको थियो। मान्यता प्राप्त गरेको एक वर्षभित्रै अस्पतालले अन्तर्राष्ट्रिय सहकार्यको नयाँ पहल अघि बढाएको हो।
सम्झौता अनुसार दुवै संस्थाबीच चिकित्सकीय तथा शल्य–उपचार सेवामा उत्कृष्टता हासिल गर्ने उद्देश्यले प्रविधि, विशेषज्ञता र ज्ञान आदानप्रदान हुनेछ। यसले किष्टमा अत्याधुनिक उपकरण र उपचार सेवा थप विस्तार भई जटिल रोगको उपचार तथा अनुगमन सेवा नेपालमै सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको अस्पताल निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बताए।
सहकार्यले हृदय शल्यक्रिया, अस्थि मज्जा प्रत्यारोपण, किरण उपचारलगायत विशेष सेवा विस्तारमा मद्दत गर्नेछ। साथै चिकित्सक तथा प्राविधिक कर्मचारीलाई तालिम तथा सीप आदानप्रदानका अवसर पनि उपलब्ध हुनेछ।
दुवै अस्पतालबीच दुरदराज स्वास्थ्य सेवा (टेलिमेडिसिन) प्रणाली जडान गरिनेछ भने गम्भीर बिरामीका लागि हवाई एम्बुलेन्स मार्फत रेफरल तथा उपचार प्रक्रिया थप सहज बनाइनेछ।
किष्ट शिक्षण अस्पताल बहुविषयक तृतीयस्तर स्वास्थ्य सेवा केन्द्र हो भने मेदान्त अस्पताल भारतको प्रमुख बहुविशेषज्ञता सम्पन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था मानिन्छ। यस सहकार्यलाई किष्ट–मेदान्त स्वास्थ्य साझेदारी नाम दिइएको छ।