प्रदेश अस्पताल गोरखामा आयुर्वेद शाखा स्थापनासँगै गोरखा जिल्लामा एकीकृत स्वास्थ्य सेवाको नयाँ अध्याय शुरु भएको छ। प्रदेश अस्पताल गोरखाका आयुर्वेद चिकित्सक र गोरखा नगरपालिका आयुर्बेद शाखाका कर्मचारीहरुद्वारा संचालन भइरहेको यस शाखाबाट बिरामीहरूलाई निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिँदै आएको छ। यस अस्पतालले प्रदेशस्तरमै पहिलो पटक एलोप्याथिक सेवासँगै आयुर्वेदिक उपचार सुरु गरेको हो, जसले जनस्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको छ।
हाल आयुर्वेद शाखामा मासिक ४०–५० जना बिरामीहरुले नियमित रूपमा उपचार लिइरहेका छन्। टाउकोदेखि खुट्टासम्मका विभिन्न रोगहरूको उपचारमा आयुर्वेदिक विधिको प्रयोग प्रभावकारी देखिएको छ। अस्पतालका अन्य एलोप्याथिक चिकित्सक र स्वास्थ्यकर्मीहरूले पनि आयुर्वेदिक उपचारप्रति विश्वास बढाउँदै बिरामीहरूलाई आवश्यकता अनुसार आयुर्वेद शाखामा सिफारिस गर्ने प्रचलन बढेको छ। यसरी दुवै उपचार पद्धतिबीचको सहकार्य र समन्वयले उपचारको गुणस्तर र जनविश्वास दुवै उच्च बनाएको छ।
गोरखा जिल्ला प्राकृतिक सम्पदाले धनी क्षेत्र हो, जहाँ विभिन्न औषधीय जडीबुटीहरू प्रशस्त पाइन्छन्। हिमालदेखि मध्यम पहाडसम्म फैलिएको भूगोलमा पाइने यी जडीबुटीहरू प्राचीन कालदेखि नै रोगनिवारण र स्वास्थ्य संवर्धनका लागि प्रयोग हुँदै आएका छन्। स्थानिय जनसमुदायले परम्परागत आयुर्वेदिक ज्ञानको आधारमा यी जडीबुटीहरूलाई घरेलु उपचारका रूपमा उपयोग गर्दै आएका छन्।
गोरखामा पाइने प्रमुख औषधीय जडीबुटीहरूमा यार्सागुम्बा (Cordyceps sinensis), जटामसी (Nardostachys jatamansi), कुटकी (Picrorhiza kurroa), बोजो (Acorus calamus), सुगन्धवाल (Valeriana jatamansi), रताञ्जन (Rubia cordifolia), असुरो (Adhatoda vasica), गिलोय (Tinospora cordifolia), अमला (Phyllanthus emblica), अमृतबेल (Cuscuta reflexa)लगायतका जडीबुटीहरू उल्लेखनीय छन्। यी जडीबुटीहरूले श्वासप्रश्वास, पाचन, रक्तसञ्चार, मानसिक स्वास्थ्य, गठिया, तथा प्रतिरक्षा प्रणाली सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक प्रमाण छन्।
अहिले आयुर्वेद शाखामा यी जडीबुटीहरूको मिश्रणबाट तयार गरिएको औषधिहरू बिरामीहरूलाई निःशुल्क रूपमा वितरण गरिन्छ। साथै पञ्चकर्म सेवा, योग, ध्यान, प्राणायाम, रोगप्रतिरोधात्मक औषधि वितरण, बृद्धबृद्धालाई सल्लाह, स्तनपान गराइरहेका आमा र अस्पतालमा भर्ना भएका बिरामीहरूलाई स्वास्थ्य सल्लाह जस्ता कार्यक्रमहरू सञ्चालनमा छन्।
आयुर्वेद शाखाबाट रोगको निदानमा ईसीजी, डिजिटल एक्स-रे जस्ता प्रविधिगत सहयोग उपलब्ध छ, जसले जटिल रोगको उपचारमा सहजता ल्याएको छ। स्त्रीरोग, रक्तरोग, पाचन समस्या, अस्थि-सन्धि रोग, मानसिक रोग, चर्मरोग लगायतका उपचारमा आयुर्वेदिक विधि र एलोप्याथिक परीक्षण एकसाथ प्रयोग गर्दा परिणाम अझ प्रभावकारी भएको अनुभव गरिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ५३०५ महिला र ३१३६ पुरुष गरी जम्मा ८४४१ जनाले आयुर्वेदिक सेवा लिएका छन्। यसले स्पष्ट देखाउँछ कि गोरखाली जनताले एकीकृत स्वास्थ्य सेवाबाट ठोस लाभ लिइरहेका छन्। बिरामीको पीडा घट्नु, उपचारमा विश्वास बढ्नु र रोगप्रतिरोधात्मक जीवनशैलीको विकास हुनु यस सेवाको मुख्य उपलब्धि हो।
गोरखामा अहिले प्रदेश आयुर्वेद चिकित्सालय गोरखा (स्थापना–२०५० साल) पनि सञ्चालनमा छ, जसले निरन्तर रूपमा गोरखा र आसपासका जिल्लाका जनतालाई आयुर्वेदिक सेवा प्रदान गर्दै आएको छ। यस संस्थाले आयुर्वेदिक उपचारको परम्परा जोगाउँदै आधुनिक विधिसँग जोड्ने कार्य गर्दै आएको छ, जसले जिल्ला स्तरमा स्वास्थ्य सेवा पहुँचलाई थप मजबुत बनाएको छ।
हाल चिकित्सक र कर्मचारी संख्या सीमित भएता पनि प्रदेश अस्पताल गोरखाको आयुर्वेद शाखाले निःशुल्क आयुर्वेदिक औषधि वितरण र उपचार सेवा अविरल रूपमा जारी राखेको छ।
आयुर्वेद र एलोप्याथिक दुवै प्रणालीको समन्वित प्रयोगले बिरामी उपचारलाई अझ सुलभ, सुरक्षित र प्रभावकारी बनाउँदै गोरखा जिल्लालाई एकीकृत स्वास्थ्य सेवाको आदर्श नमुनाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
( खनाल प्रदेश अस्पताल गोरखाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुन्)