आयुर्वेद चिकित्सा पद्धति अनुसार शारीरिक, मानसिक, इन्द्रियजन्य र आध्यात्मिक स्वास्थ्य गरी स्वास्थ्यलाई चार आयाममा बुझ्ने गरिन्छ। यसमध्ये मानसिक स्वास्थ्य असाध्यै महत्त्वपूर्ण पाटो मानिन्छ।आयुर्वेदले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नमानी शरीर, मन, इन्द्रिय र आत्माको सन्तुलित अवस्थालाई पूर्ण स्वास्थ्य मानेको छ। "समदोषः समाग्निश्च समधातुमलक्रियः। प्रसन्नात्मेन्द्रियमनाः स्वस्थ इत्यभिधीयते॥(सुश्रुत संहिता)" अर्थात्, जसको शारीरिक दोष (वात, पित्त, कफ), अग्नि, धातु र मलक्रिया सन्तुलनमा हुन्छन् एवम् आत्मा, इन्द्रिय तथा मन प्रसन्न हुन्छन्, उही व्यक्ति नै वास्तवमा 'स्वस्थ' हो।आयुर्वेद अनुसार मन र शरीर एक-अर्कासँग गहिरो रूपमा जोडिएका छन्। मानसिक असन्तुलन (तनाव, क्रोध, चिन्ता, लोभ) ले शारीरिक दोषहरूलाई कुपित गराएर शारीरिक व्याधि (जस्तै: अम्लपित्त, उच्च रक्तचाप, अनिद्रा) उत्पन्न गराउँछ। मानसिक स्वास्थ्य मनका तीन गुणहरू—सत्त्व (शुद्धता र सन्तुलन), रजस् (चञ्चलता र क्रियाशीलता), र तमस् (अज्ञानता र आलस्य) मा आधारित हुन्छ। रजस् र तमस् लाई 'मानसिक दोष' मानिन्छ, जसले मनमा विकृति ल्याउँछन्। आयुर्वेद अनुसार अधिकांश रोगको मूल कारण 'प्रज्ञापराध' हो, अर्थात् सही र गलतको ज्ञान हुँदाहुँदै पनि मन र बुद्धि नियन्त्रणमा राख्न नसकेर गलत निर्णय वा आचरण गर्नु हो। मानसिक स्वास्थ्य सुदृढ राख्नका लागि सत्त्वावजय चिकित्सा, आचार रसायन, मेध्य रसायन, दिनचर्या र योग/ध्यानलाई प्रमुख मानिएको छ ।
व्यक्तिगत, पारिवारिक, पेशागत, सामाजिक, आर्थिक, शैक्षिक, आपसी सम्बन्ध लगायत विभिन्न कारणले मानिसको मानसिक स्वास्थ्य कमजोर हुन पुग्दछ। मानसिक रुपमा कमजोर भएको व्यक्तिले व्यक्तिगत रुपमा आफ्नो शरीरलाई, परिवारलाई, समाजलाई कतै न कतै जानेर अथवा नजानेर हानि नोक्सानी पुर्याइरहेको हुन्छ। आयुर्वेदको आधारभूत ग्रन्थहरुमा आयुलाई मुख्यतया चार प्रकारको मानीएको छ: सुखायु, दुखायु, हितायु, अहितायु । यसलाई सरल भाषामा व्यक्तिगत स्वास्थ्य र सामाजीक स्वास्थ्यको रुपमा बुझ्न सकीन्छ । शारीरिक र मानसिक रूपमा निरोगी, तनावमुक्त, तथा आत्मसन्तुष्ट भई बाँचिने जीवन 'सुखायु' हो।पारिवारिक, आर्थिक, पेशागत वा प्राकृतिक कारणले मानसिक रूपमा कमजोर वा विक्षिप्त बनेको व्यक्तिले आफ्नै शरीरलाई हानि पुर्याउने (जस्तै: कुलतमा फस्नु, आत्म-हानि गर्नु, डिप्रेसन वा अनिद्राको शिकार हुनु) अवस्था 'दुखायु' हो।सुखायु र दुखायु व्यक्तिगत स्वास्थ्य सँग सम्बन्धित छ। समाजको भलो गर्ने, अरूको अधिकार र भावनाको आदर गर्ने, र समाजमा सकारात्मक योगदान दिने व्यक्तिको जीवन 'हित आयु' हो । व्यक्तिको मानसिक असन्तुलन, क्रोध, ईर्ष्या वा सामाजिक विचलनका कारण समाज, परिवार र अन्य व्यक्तिहरूलाई जानेर वा नजानेर अहित/हानि पुर्याउनुलाई 'अहित आयु' मानिन्छ । हितायु र अहितायु सामाजीक स्वास्थ्य सँग सम्बन्धित छ।विस्तारमा भन्नु पर्दा दुखी व्यक्तीले आफुले जीवनमा दुख भोग्न सक्छ तर समाजलाई हानी पुर्याउँदैन । तर अहीतायु भएको व्यक्तीले परीवार समाज राष्ट्रलाई समेत हानी गर्न सक्छ ।
मानसिक स्वास्थ्य सुदृढ गरी 'सुखायु' र 'हित आयु' कायम राख्ने आयुर्वेदीय दृष्टिकोण
मानसिक विचलनले व्यक्ति स्वयंलाई (दुखायु) र समाजलाई (अहित आयु) तिर प्रोत्साहीत गरी नोक्सानी नपुर्याओस् भन्नका लागि आयुर्वेदले विभिन्न उपायहरू अवलम्बन गर्न जोड दिएको छ । आचार रसायनः सत्य बोल्नु, क्रोध नगर्नु, अहिंसाको पालन गर्नु, र अरूप्रति दयाभाव राख्नु। जसले स्वाभाविक रूपमा मनलाई शान्त राख्छ। आचार रसायनको पालनाले समाजमा शान्ति कायम भई 'हित आयु' को निर्माण हुन्छ।सत्त्वावजय चिकित्साः मनलाई असत्य, नकारात्मक र हानिकारक विचारहरूबाट टाढा राख्ने अभ्यास गराउनु। यसले मानसिक रूपमा कमजोर भएको व्यक्तिलाई आत्म-हानि (दुखायु) बाट बचाउँछ। सद्वृत्त पालना: व्यक्तिगत र सामाजिक आचरणका नियमहरू पालन गर्नाले व्यक्ति मानसिक रूपमा सन्तुलित र सामाजिक रूपमा जिम्मेवार बन्दछ।मेध्य रसायन र दिनचर्या: नियमित ध्यान, प्राणायाम, योगका साथै ब्राह्मी, अश्वगन्धा जस्ता मेध्य द्रव्यहरूको सेवनले मस्तिष्कको क्षमता वृद्धि गरी तनाव, चिन्ता र डिप्रेसनबाट मुक्त भई 'सुखायु' प्राप्त गर्न मद्दत पुग्छ। यसका साथै नियमित योग, प्राणायाम, र ध्यानले मनका रजस् र तमस् दोषलाई शान्त पारी सत्त्व गुणको वृद्धि गर्छन्।
आयुर्वेद अनुसार व्यक्तिको मानसिक स्वास्थ्य बलियो हुनु भनेको व्यक्ति स्वयं 'सुखायु' तर्फ अघि बढ्नु हो भने, सोही सन्तुलित मनले समाजमा सकारात्मक प्रभाव पार्नु 'हित आयु' हो। त्यसैले मानसिक स्वास्थ्य केवल व्यक्तिगत विषय मात्र नभएर सिङ्गो समाजको हित र कल्याणसँग जोडिएको अहम् सवाल हो।नेपाली समाजको वर्तमान अवस्थालाई हामीले थोरै गहिरिएर हेर्यौ भने हामी देख्न सक्छौ दिनहुँ जस्तो आत्महत्याका घटनाहरु भइरहेका हुन्छन्। पारिवारिक हिंसा, सामाजिक हिंसा, सडक दुर्घटना, प्राकृतिक प्रकोप लगायत कारणले व्यक्तिगत रुपमा आफ्ना नजिकका व्यक्तिहरुबाट टाढा हुनु अथवा उनीहरुको मृत्यु हुनु, शिक्षामा आफूले सोचे जस्तो सफलता हात नपर्नु, बेरोजगार हुनु, आर्थिक कठिनाइ हुनु, व्यवसाय सफल नहुनु, बैंकको ऋण तिर्न गाह्रो हुनु, श्रीमान श्रीमती बीचको सम्बन्धमा समस्या उत्पन्न हुनु, परिवारमा जेष्ठ नागरिक, प्रौढ, युवा, किशोरकिशोरी र बालबालिका बीच जेनेरेसन ग्यापले गर्दा एक अर्काका भावनाहरु बुझ्न कठिन हुनु लगायतका कारणले आजभोलि मानिसहरु मानसिक रुपमा धेरै नै विचलित भएको पाइन्छ।
तनावपूर्ण परिस्थितिहरू (ऋण, बेरोजगारी, पारिवारिक सम्बन्धमा खटपट, जेनेरेसन ग्याप, प्रियजनको क्षति आदि) मा हरेक व्यक्तिको प्रतिक्रिया फरक हुनुको मूल कारण नै आयुर्वेद अनुसार उसमा भएको मानसिक क्षमताको स्तर हो।
आयुर्वेदले मनको यो अवस्थालाई प्रवर (उत्तम), मध्य (मध्यम), र अवर (हीन/कमजोर) गरी तीन भागमा विभाजन गरेर यसको समाधान र समाजको दायित्व स्पष्ट पारेको छ । प्रवर सत्त्व (उत्तम मानसिक बल) भएका व्यक्तिहरूमा 'सत्त्व गुण' अत्यधिक प्रबल हुन्छ। जीवनमा ठूला-ठूला विपत्ति, आर्थिक घाटा वा पारिवारिक वियोग आउँदा पनि उनीहरू विचलित हुँदैनन्। उनीहरू नियमित योग, ध्यान, सत्सङ्ग, र आचार रसायन (सकारात्मक जीवनशैली र संयमित आचरण) को सहारा लिएर परिस्थिति सामना गर्छन् र आफ्नो कर्तव्यबाट भाग्दैनन्।मध्य सत्त्व (मध्यम मानसिक बल) भएका व्यक्तिहरू आफैँ एक्लै कठिन परिस्थितिसँग जुध्न नसके पनि अरूको ढाडस, साथ र सल्लाह पाएपछि सम्हालिन्छन्।वर्तमान अवस्थामा समाजका धेरैजसो मानिस यस श्रेणीमा पर्छन्। उनीहरूलाई मनोसामाजिक परामर्श (Counseling), परिवारको साथ, साथीभाइको आड-भरोसा र सकारात्मक मार्गदर्शनको खाँचो हुन्छ। सही समयमा परामर्श पाउँदा उनीहरू पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन सक्छन्।अवर सत्त्व (कमजोर/हीन मानसिक बल) भएका व्यक्तिहरूमा 'रजस्' र 'तमस्' दोषको अधिकता हुन्छ। उनीहरू सामान्य तनाव, असफलता वा दुःख सहनै सक्दैनन् र सजिलै विचलित हुन्छन्।समाजमा दिनहुँ जसो भइरहेका आत्महत्याका घटना, कुलतमा फस्ने प्रवृत्ति, र चरम निराशा (Depression) को शिकार हुने मूलतः 'अवर सत्त्व' भएका व्यक्तिहरू नै हुन्। उनीहरूले आफूलाई सम्हाल्न नसकेर जानेर वा नजानेर आत्म-हानि वा समाजलाई नोक्सानी पुर्याउन पुग्छन्।
अवर र मध्य सत्त्व भएका व्यक्तिहरूप्रति समाज र राज्यको दायित्व
जब व्यक्ति स्वयं मानसिक रूपमा असक्षम वा अवर अवस्थामा पुग्छ, तब उसलाई बचाउने पूर्ण जिम्मेवारी समाज, परिवार र राज्यको हुन्छ। आयुर्वेद र आधुनिक मनोशास्त्र दुवैको दृष्टिकोणबाट यसका लागि निम्न कदमहरू उठाउनु अपरिहार्य देखिन्छ । सत्त्वावजय चिकित्सा र परामर्शः अवर र मध्य सत्त्व भएका व्यक्तिहरूलाई सत्त्वावजय चिकित्सा (अर्थात् मनलाई अहितकर विषयहरूबाट रोकेर सकारात्मकतातिर प्रोत्साहित गर्ने विधि) र मनोसामाजिक परामर्शको तत्काल आवश्यकता हुन्छ।स्वास्थ्यकर्मी तथा मनोचिकित्सकहरूले यस्ता व्यक्तिहरूलाई केवल औषधिको भरमा मात्र नछाडी उनीहरूको मनोबल बढाउन, मेध्य रसायन (जस्तै: ब्रह्माी, अश्वगन्धा आदि मस्तिष्कलाई तागत दिने जडीबुटी) र उपयुक्त जीवनशैलीको प्रयोग गराउनुपर्छ।यसमा पारिवारिक र समाजको भुमिका पनि महत्वपूर्ण हुन्छ । परिवारका जेष्ठ नागरिक, युवा र बालबालिका बीचको 'जेनेरेसन ग्याप' कम गर्न संवादको वातावरण सिर्जना गर्ने। एकापसमा भावना साटासाट गर्ने र घरलाई सुरक्षित तथा सहानुभूतिपूर्ण थलो बनाउने।राज्यको दायित्व समेत यसमा महत्वपूर्ण हुन्छ । स्थानीय तहदेखि नै मनोसामाजिक परामर्श केन्द्रहरूको स्थापना गर्ने, आत्महत्या रोकथामका लागि २४ सै घण्टा हेल्पलाइन र उद्धारको व्यवस्था गर्ने, र आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका नागरिकलाई राहत र रोजगारीका अवसरसँग जोड्ने। मानसिक रूपमा कमजोर हुनु कुनै अपराध वा स्थायी अवस्था होइन। आयुर्वेदले देखाएको यो मार्गनिर्देशनले स्पष्ट पार्छ कि समाजका 'अवर सत्त्व' भएका व्यक्तिहरूलाई उपेक्षा होइन, सहानुभूति, समयमै परामर्श, उपचार र मार्गदर्शन को सबैभन्दा बढी खाँचो छ। यिनै उपायहरूमार्फत मानिसलाई 'दुखायु' र 'अहित आयु' बाट जोगाएर 'सुखायु' र 'हित आयु' तर्फ प्रेरित गर्न सकिन्छ।
पारिवारिक, सामाजीक, आर्थीक, प्राकृतीक विपद अथवा अध्ययन, रोजगारी, प्रेम सम्बन्ध, व्यवसाय आदिको असफलता आदि कारणले सो समयमा आउने डर, त्रास, र प्रियजनप्रतिको असीम चिन्ताले मानिसको मनको सत्त्व गुणलाई तीव्र रूपमा घटाउँछ । यस्तो अवस्थामा आयुर्वेद र आधुनिक मनोशास्त्र दुवैले देखाएको बाटो निम्न अनुसार छ । व्यक्तिगत दायित्व अन्तर्गत सत्त्व बल अभिवृद्धि र आत्म-सम्हाल्ने उपाय पर्दछन् । विपद्को बेला घरमा एक्लै हुने व्यक्तिहरू (विशेष गरी वृद्धवृद्धा, गृहिणी वा अध्ययन/रोजगारीका कारण एक्लै रहेका युवा) मा मानसिक विचलन वा त्रासको जोखिम बढी हुन्छ। यस्तो अवस्थामा आफ्नो मनको 'सत्त्व' (Mental Resilience) बढाउन निम्न अभ्यासहरू प्रभावकारी हुन्छन् । आध्यात्मिक तथा सांस्कृतिक अभ्यास: बिहान सबेरै उठेर योग, ध्यान, पूजापाठ, वा आफ्नो धर्म-संस्कृति अनुसार मनलाई शान्त राख्ने क्रियाकलाप गर्नु। यसले मनमा सकारात्मक ऊर्जा र ढाडस दिन्छ।सद्द्वृत्त र परोपकार (सेवा भाव): आफूले सकेको अवस्थामा छिमेकी वा अन्य पीडितलाई सहयोग गर्नु। आयुर्वेद अनुसार अरूको सेवा र सहयोग गर्नाले मनमा डर होइन, आत्मबल र सन्तुष्टि पैदा हुन्छ। सञ्चार र सम्बन्ध: घरमा एक्लै हुँदा नजिकका आफन्त वा छिमेकीहरूसँग निरन्तर सम्पर्कमा रहने र आफ्ना भावनाहरू साटासाट गर्ने।सामाजिक दायित्व: द्रुत सहयोग र परामर्शः जब विपद्ले मानिसलाई विक्षिप्त बनाउँछ, तब व्यक्ति एक्लैले आफूलाई सम्हाल्न नसक्न सक्छ। यस्तो अवस्थामा स्थानीय सरकार र स्वास्थ्य निकायको भूमिका मुख्य हुन्छ । पहिचान र उद्धार: वडा कार्यालय र स्थानीय टोल विकास समितिले आफ्नो क्षेत्रभित्र एक्लै रहेका वृद्धवृद्धा, बालबालिका, र असहायहरूको पहिचान गरी उनीहरूलाई सुरक्षित स्थान वा सहयोग उपलब्ध गराउने।प्राथमिक मनोसामाजिक सहयोग (Psychological First Aid): स्वास्थ्य कार्यालय र मनोसामाजिक परामर्शदाताहरूले समस्या ग्रस्त व्यक्तिलाई भेटेर 'तपाईँ सुरक्षित हुनुहुन्छ' भन्ने विश्वास दिलाउने र पिडितको कुरा सुनिदिने। राज्यको तहबाट: मानसिक स्वास्थ्य समस्याको व्यवस्थापन योजनामा केवल हट लाईन र आपतकालिन उद्दार मात्र नभई 'मानसिक पुनर्स्थापना' (Mental Rehabilitation) लाई पनि अनिवार्य समावेश गर्ने। आयुर्वेद उपचारको पहुँच: प्रभावित क्षेत्रमा मेध्य रसायन (जस्तै: अश्वगन्धा, ब्राह्मी) तथा योग-प्राणायाम शिविरहरूको आयोजना गरी प्राकृतिक रूपमै तनाव घटाउन पारिवारिक, सामाजीक, आर्थीक, प्राकृतीक वातावरण बनाउने।सामुदायिक ऐक्यबद्धता: समाजमा एक-अर्कालाई आड-भरोसा दिने, सामूहिक ध्यान वा छलफल गर्ने, र कोही व्यक्ति धेरै नै डराएको वा विक्षिप्त भएको पाइएमा तुरुन्तै विशेषज्ञकहाँ पुर्याउने। व्यक्तिले आफ्नो सत्त्व बल बढाउने, समाजले एकापसमा सहयोग गर्ने, र राज्यले समयमै संरक्षण दिने हो भने मानसिक स्वास्थ्य समस्यालाई सफलतापुर्वक व्यवस्थापन गर्न सकिन्छ।
विपद्पछिको मानसिक स्वास्थ्य समस्याको सन्दर्भमा आफ्नो परिवार (अभिभावक, सन्तान वा दाजुभाइ-दिदीबहिनी) गुमाएका व्यक्तिहरूको मनमा उत्पन्न हुने शोक (Grief), निराशा र शून्यतातर्फ ध्यान दिनु जरुरी हुन्छ । समयमा मनोपरामर्श नपुगेमा उनीहरू दीर्घकालीन रूपमा 'अवर सत्त्व' वा मानसिक विक्षिप्तताको शिकार हुन पुग्छन्।विपद्मा भौतिक सम्पत्ति गुम्नुभन्दा पनि मानव मन टुट्नु बढी भयावह हुन्छ।
मानसीक स्वास्थ्यलाई सबल राख्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिहरूलाई निम्न अनुसार कार्यान्वयन गर्न सकिन्छ ।
१. अल्पकालीन रणनीति को लक्ष्य आपत्कालीन मानसिक राहत, त्रास नियन्त्रण र सुरक्षाको अनुभूति गराउनु हो।पीडितलाई सुरक्षित महसुस गराउने, उनीहरूका कुरा धैर्यतापूर्वक सुनिदिने । अनित्य भावना र ढाडस: गीताको "जो भयो, राम्रो भयो; जो हुँदैछ, राम्रो हुँदैछ" र "संसारमा केही पनि स्थायी छैन (अनित्य)" भन्ने विचारमार्फत पीडितलाई शोकबाट बाहिर ल्याउन वैदिक परामर्श (Vedic Counseling) दिने। अति तनावमा रहेका व्यक्तिहरूलाई अनुलोम-विलोम, भ्रामरी प्राणायाम र योगनिद्रा गराएर स्नायु प्रणालीलाई शान्त पार्ने।
२. मध्यकालीन रणनीतिको लक्ष्य आत्मबल जगाउनु, मनलाई सम्हाल्नु र सामान्य जीवनतर्फ मोड्नु हो।यसका लागी दैनिक योग, ध्यान र सत्सङ्ग शिविर, नियमित सामूहिक योग, ध्यान र सत्सङ्ग सञ्चालन गर्ने । अवर सत्त्व भएका व्यक्तिहरूलाई व्यक्तिगत परामर्श दिने र आयुर्वेद अनुसार मस्तिष्कको कार्यक्षमता बढाउने ब्राह्मी, अश्वगन्धा, जटामान्सी जस्ता औषधीय जडीबुटीहरूको प्रयोग गराउने। भविष्योन्मुख सकारात्मक सोचका लागी "जे बिग्रियो, सकियो—अब कसरी बनाउने?" भन्ने भाव जगाउन उनीहरूलाई साना-तिना व्यवसाय, अध्ययन, रोजगारी र सामुदायिक कार्यहरूमा व्यस्त बनाउने।
३. दीर्घकालीन रणनीति अन्तर्गत विद्यालय, कलेज र समुदाय स्तरमै मानसिक स्वास्थ्य, योग, ध्यान र वैदिक जीवनशैलीलाई शिक्षाको हिस्सा बनाउने, जसले गर्दा भावी पुस्ताको मानसिक सत्त्व बल (Mental Resilience) सधैँ प्रवर (बलियो) रहोस्।स्थानीय तह (वडा/पालिका) मा स्थायी रूपमा प्रशिक्षित मनोसामाजिक परामर्शदाता र आयुर्वेदिक स्वास्थ्यकर्मीको व्यवस्था गरी मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवामै एकीकृत गर्ने।
सारांश
"शरीरमाद्यं खलु धर्मसाधनम्" (अर्थात्, सबै कर्तव्य, धर्म र जीवनका लक्ष्यहरू पूरा गर्ने पहिलो र मुख्य माध्यम यो शरीर नै हो ।हाड-छालाले बनेको यो भौतिक शरीर नै हाम्रो मन, बुद्धि र आत्माको आश्रयस्थल हो। विपद्, कठिन परिस्थिति वा क्षणिक निराशामा आत्तिएर आफ्नो जीवन टुङ्ग्याउने निर्णय गर्नु केवल एउटा व्यक्तिको अन्त्य मात्र होइन—त्यसले सिङ्गो परिवारको भरोसा, बाबुआमाको सपना र प्रियजनहरूको खुसी सधैँका लागि खोसेर लैजान्छ। तसर्थ हामीले शरीरको यत्नपूर्वक रक्षा गर्नु पर्छ । आफ्नो शरीरलाई, मनलाई सकेसम्म स्वस्थ, तन्दुरुस्त राख्नु पर्छ । जसरी सात्विक, ताजा र सन्तुलित खानपानले शरीरलाई निरोगी र बलियो बनाउँछ त्यसै गरी योग, प्राणायाम, ध्यान र ऊर्जा व्यायामले मनको सत्त्व गुण बढाएर तनाव र निराशालाई जित्ने शक्ति दिन्छ।परिस्थिति जस्तोसुकै कठिन र अनित्य भए पनि "जीवन रहे मात्र सम्भावनाहरू रहन्छन्" भन्ने सत्यलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै वास्तविक बुद्धिमत्ता हो। विश्व मानसिक स्वास्थ्य दिवसको यस पावन अवसरमा हामी सबैको शरीर स्वस्थ रहोस्, मन सन्तुलित रहोस्, र समाजमा सुखायु एवं हित आयु कायम होस् भन्ने हार्दिक शुभकामना, जय आयुर्वेद ।
(काउन्सिल साइकोलोजीमा पीजी डिप्लोमा गरेकी डा अधिकारी आयुर्वेद औषधी उत्पादन केन्द्र, चितवनमा कार्यरत छिन्)