काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न महाशाखा, केन्द्र तथा अस्पताल निर्देशकको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेपनि पत्र भने प्रदान गरिएको छैन।
डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिइएको छ। यसअघि उक्त महाशाखाको नेतृत्वमा रहेका डा विवेक लाल निलम्बन परेपछि खाली थियो।
मन्त्रालयले डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकको जिम्मेवारी दिएको छ। उनी यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिव रहेकी थिइन्। केन्द्रका निर्देशक डा. केशवराज पण्डितलाई मन्त्रालयले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा सरुवा गरेको छ।
व्यवस्थापन महाशाखामा रहेका डा. पवनजंग रायमाझीलाई मन्त्रालयले उपचारात्मक सेवा महाशाखाको निर्देशक बनाएको छ। यो पद डा. सुधा देवकोटा डडेल्धुरा अस्पतालमा निर्देशक बनेर गएपछि चार महिनादेखि रिक्त थियो।
त्यस्तै, नारायणी अस्पतालका निर्देशक डा. चुमनलाल दासलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।