प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक रेजिस्टेन्स) विश्वमा तिव्र रुपमा बढ्दै गएको एक गम्भीर स्वास्थ्य चुनौती हो। आधुनिक चिकित्सा विज्ञानले उपलब्ध गराएका सबैभन्दा प्रभावकारी औषधिहरुमध्ये प्रतिजैविकले लाखौँ मानिसको ज्यान बचाउँदै आएको भएपनि अहिले सूक्ष्म जीवाणुहरु ती औषधिहरुको प्रभावबाट जोगिन सक्षम बन्दै गइरहेका छन्।
यसले उपचार प्रक्रियालाई जटिल बनाएको छ र सामान्य संक्रमणले समेत जीवन खतरामा पार्ने अवस्था सिर्जना हुन थालेको छ। नेपाल जस्तो विकासोन्मुख मुलुकमा त यसको प्रभाव झनै गम्भीर देखिन थालेको छ। स्वास्थ्य पूर्वाधार, औषधि प्रयोग संस्कृति र निगरानी प्रणाली कमजोर हुँदा एएमआरको जोखिम बढीरहेको छ।
नेपाल जस्तो विकासोन्मुख देशमा एएमआरको प्रभाव अझै गम्भीर छ। स्वास्थ्य पूर्वाधारको कमजोरी, बिना प्रेसक्रिप्सन प्रतिजैविकको सजिलो उपलब्धता, औषधिको अनियन्त्रित प्रयोग, कमजोर संक्रमण नियन्त्रण तथा पशुपालन र कृषि क्षेत्रमा अत्यधिक एन्टीबायोटिक प्रयोग यी सबैले प्रतिरोध फैलने दरलाई तेज बनाइरहेका छन्। यसको परिणामस्वरुप उपचार अवधि लम्बिने, आर्थिक बोझ बढ्ने, सामान्य रोग जटिल बन्ने र मृत्युदर वृद्धि हुने समस्यारु अहिले नै स्पष्ट रुपमा देखिन थालेका छन्।
यही चुनौतीलाई लक्षित गर्दै विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह हरेक वर्ष नोभेम्बर १८ देखि २४ का बीच मनाईन्छ। यस वर्ष २०२५ को नारा एक्ट नाउ : प्रोटेक्ट आवर प्रिजेन्ट, सेक्योर आवर फ्युचर अर्थात् प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ भन्ने राखिएको छ।
यो नारा केबल आग्रह मात्र होइन। मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि प्रणाली र वातावरण सबैलाई समेट्ने एक स्वास्थ्य दृष्टिकोण अन्तर्गत सामुहिक जिम्मेवारी लिनुपर्ने कठोर यथार्थ हो। एएमआरलाई रोक्न आज उठाइएका कदमहरुले मात्र भोलि सुरक्षित स्वास्थ्य प्रणाली निर्माण गर्न सक्छन्। त्यसैले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहले सबै सरोकारवालालाई एकै स्वरमा जोड्दै अब ढिलाई होइन, आजै सुरुवात र काम गर्न आवश्यक छ भनिएको हो।
प्रतिजैविक प्रतिरोध : के हो र किन बढ्दैछ ?
लक्षित सूक्ष्म जीवाणुहरुले प्रतिजैविक औषधिहरुको कार्यमा रोकावट वा अवरोध पैदा गरी उपचार प्रभावहीन बनाउनुलाई प्रतिजैविक प्रतिजैविक भनिन्छ।
प्रतिरोध बढ्नुका प्रमुख कारणहरु :
– एन्टीबायोटिक अत्यधिक वा अनियन्त्रित प्रयोग
– चिकित्सकको निर्देशन बिना औषधि सेवन
– पुरा कोर्स नसकाई बीचमै औषधि छाड्ने प्रवृत्ति
– पशुपालन, कृषि, माछापालनमा प्रतिजैविकको अत्यधिक प्रयोग
– अस्पतालमा कमजोर संक्रमण रोकथाम
– वातावरणीय प्रदुषण तथा निष्कासित फोहोरका कारण औषधीय अवशेष माटो पानीमा मिसिनु
– अनियन्त्रित औषधि वितरण र निगरानीको अभाव
प्रतिजैविक प्रतिरोधको अवस्था
प्रतिजैविक प्रतिरोध अहिले विश्व स्वास्थ्यका सबैभन्दा ठूलो खतरामध्ये एकका रुपमा पहिचान गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले एएमआरलाई स्वास्थ्यका शीर्ष १० गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीमध्ये राखेकाले यसको प्रभाव कति व्यापक र गम्भीर छ भन्ने स्पष्ट हुन्छ।
कुनै समय सामान्य संक्रमणको उपचार सहजै प्रतिजैविकहरुले सम्भव तुल्याउँथे तर आज ती औषधिहरु धेरै संक्रमणमा काम नै नगर्ने अवस्थामा पुगेका छन्। औषधि प्रभावहीन हुनुका पछाडी मुख्य कारण सूक्ष्म जीवाणुहरुको बढ्दो प्रतिरोध क्षमता आज स्वास्थ्य प्रणालीका लागि गम्भीर चुनौती बनिरहेको छ।
औषधि प्रतिरोधी संक्रमणको असर केवल चिकित्सा क्षेत्रमा सीमित हुँदैन। जब औषधि काम नगर्न थाल्छ, सामान्य संक्रमण पनि जटिल बन्छ। उपचार समय लम्बिन्छ। खर्च बढ्छ र कहिले काँही जीवन नै जोखिममा पर्न सक्छ। तथ्यांकहरुले पनि यही वास्तविकता देखाउँछ।
प्रत्येक ३ मिनेटमा १ बच्चाका मृत्यु एमडीआरओ सेप्सीस जस्ता प्रतिरोधी संक्रमाका कारण हुन अनुमान छ। यस्तै विश्वभर हरेक वर्ष १ दशमलव २७ मिलियन मानिस प्रत्यक्ष रुपमा एएमआरका कारण मृत्यु हुन्छन्, जुन कुनै पनि महामारीकै बराबरको जोखिम हो। भविष्यको अनुमान झनै डरलाग्दो छ। विश्वभर २०५० सम्म २८ मिलियन मानिस गरिबीमा धकेलिन सक्ने र स्वास्थय उपचारमा १ ट्रिलियन अमेरिकी डलर बराबरको अतिरिक्त खर्च हुन सक्ने आँकलन गरिएको छ। यसै अवधिमा पशुपालन उत्पादनमा समेत ७ दशमलव ५ प्रतिशत गिरावट आउने संभावना छ, जसले कृषि र खाद्य सुरक्षामा दीर्घकालीन असर पार्नेछ।
विश्वव्यापी एएमआर बोझका तथ्यांकहरुलाई हेर्दा स्थिति अझै स्पष्ट बन्छ। सन् २०२१ मा विश्वभर २१ दशमलव ३६ मिलियन मानिस संक्रमण सम्बन्धी कारणले मृत्यु भएका थिए। जसमा करिब ४ दशमलव ७१ प्रतिशत मिलियन मृत्यु एएमआर सम्बन्धित र १ दशमलव १४ मिलियन मृत्यु प्रत्यक्ष एएमआर सम्बन्धित मृत्यु हुने संभावना व्यक्त गरिएको छ। यी तथ्यहरुबाट स्पष्ट हुन्छ की यदी तुरुन्तै कदम चालिएन भने एएमआर भविष्यमा क्यान्सर, मुटुरोग वा अन्य दीर्घ रोगभन्दा पनि ठूलो हत्यारा बन्न सक्छ।
नेपालमा पनि एएमआरको समस्या विश्वकै प्रवृत्तिसँग मेल खाने गरी बढ्दै गएको छ। २०२१ को तथ्यांक अनुसार नेपालमा ४ हजार ७१० मानिस प्रत्यक्ष एएमआरका कारण मृत्यु भएका थिए। थप १९ हजार ६०० मृत्यु एएमआर सम्बन्धित थिए। सानो जनसंख्या भएको देशका लागि यो अत्यन्तै गम्भीर संकेत हो। आगामी वर्षहरुको पूर्वानुमानले सूचित गर्छ की सन् २०३० सम्म नेपालमा २० हजार ४०० सम्म एएमआर सम्बन्धित मृत्यु हुन सक्छ, यदी प्रभावकारी नीतिगत तथा व्यावहारिक कदमहरु चालिएन भने।
नेपालमा उमेर अनुसार एएमआरको प्रभाव पनि उल्लेखनीय छ। १९९० को दशकमा ५ वर्ष मुनिका बालबालिकामा एएमआर सम्बन्धित मृत्यु सबैभन्दा धेरै थियो। तर २०२१ सम्म आइपुग्दा यो ढाँचा परिवर्तन भई ७० वर्षभन्दा माथिका वृद्धाहरु एएमआरको सबैभन्दा बढी शिकार बन्न पुगेका छन्। यसले देखाउँछ की एकातिर बालबालिकामा संक्रमण रोकथाममा सुधार आएको छ। अर्कोतर्फ वृद्धवृद्धा र दीर्घरोगी जनसंख्या जोखिममा परेका छन्। भविष्यको अनुमानले २०५० सम्म सबै उमेर समूहमा एएमआर सम्बन्धित मृत्यु दर अझै बढ्ने संकेत गर्दछ।
प्रतिजैविक प्रतिरोधले के के असर गर्छ ?
– सामान्य औषधि निष्प्रभावी बन्ने
– उपचार अवधि बढ्ने र खर्च अत्यधिक बढ्ने
– जटिलस संक्रमणहरुको जोखिम बढ्ने
– शल्यक्रिया आइसीयू उपचारमा जोखिम उच्च
– नवजात शिशु, वृद्ध र दीर्घ रोगीमा मृत्युदर बढ्ने
– कृषिजन्य उत्पादनमा कमी र आर्थिक बोझ
– अस्पतालमा पुनः भर्ना दर बढ्ने
नेपालले के के गरिरहेको छ ?
नेपालले एएमआर नियन्त्रणका लागि पछिल्ला वर्षहरुमा धेरै महत्वपूर्ण नीतिगत र संस्थागत कदम चालेको छ।
– राष्ट्रिय एएमआर कार्य योजना
नेपाल सरकारले २०२४ मा पाँच वर्षे राष्ट्रिय कार्य योजना स्वीकृत गरेको छ। यसमा मानव, जनावर, वातावरण र खाद्य सुरक्षालाई समेटेर वान हेल्थ दृष्टिकोण लागु गरिएको छ।
– नियम र नियमनमा कडाई
रेड लाइन पोलीसी लागु : संवेदनशील प्रतिजैविकमा रातो रेखा राखी चेतावनी।
पशु क्षेत्रका लागि कोलिस्टीन प्रयोग प्रतिबन्ध
पोल्ट्री फिडमा एन्टीबायोटिक प्रयोग प्रतिबन्ध
डब्लुएचओले सिफारिस नगरेका औषधि संयोजनमा प्रतिबन्ध
– संस्थागत संरचना निर्माण
एएमआर मल्टि सेक्टर स्टेरियङ कमिटी
नेशनल टेक्नीकल वर्किङ कमिटी
मानव स्वास्थ्य, पशु स्वास्थ्य, वातावरण र कृषि क्षेत्रका प्राविधिक समूह
– निगरानी र अनुसन्धान
एएमआर डाटा सर्भिलेन्सका लागि मानव तथा पशु स्वास्थ्य प्रयोगशालाहरुको सञ्जाल विस्तार
ग्लासमा डेटा रिर्पोटिङ
– क्षमता विकास र जनचेतना
स्वास्थ्यकर्मीका लागि एएमएस तालिम
आइपीसी स्ट्रेन्थिङ्ग कार्यक्रम
विद्यार्थी, समुदाय र पत्रकारका लागि जनचेतना कार्यक्रम
– अस्पताल स्तरका कार्यक्रम
कार्डेक्स प्रणालीमा सुधार : स्ट्राप रिभ्यु स्टप मापदण्ड
एएमएस कार्यक्रम सञ्चालन र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीरुको क्षमता अभिवृद्धि
इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल कमिटिज सक्रिय बनाउने प्रयास
निष्कर्ष
प्रतिजैविक प्रतिरोध एक दिनमा रोक्ने समस्या होइन। यो साझा जिम्मेवारी हो, जहाँ सरकारी नीति, स्वास्थ्यकर्मीको व्यवहार, पशुपालन अभ्यास, वातावरणीय निगरानी र सर्वसाधारणको चेतना एकैसाथ अघि बढ्न आवश्यक छ। प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ, भन्ने सन्देश अबको पुस्तालाई सुरक्षित राख्ने प्रतिवद्धता हो। आजका सही कदमहरुले भोलि सुरक्षित स्वास्थ्य प्रणाली सुनिश्चित गर्न सक्छन्। .