शरीरमा भएका कोशिकाहरुको अनियन्त्रित विकास हुनु नै क्यान्सर हो। ग्लोबोक्यान २०२२ को अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा देखिने स्तन क्यान्सरपछि दोश्रो प्रमुख क्यान्सर हो।
धेरैजसो क्यान्सरहरुको ठ्याक्कै कारण भने पहिचान गर्न अझै चुनौतीपूर्ण छ। यद्यपि क्यान्सरका परिवर्तन गर्न सकिने कारक तत्वहरुमा सुर्तीजन्य पदार्थ, मद्यपान, फलफूल तथा तरकारी कम खाने, प्रशोधित मासु वा रातो मासु बढी खाने, मोटोपना र निष्क्रियता, विकिरण, वातावरणीय प्रदूषण, विषाक्त वा रसायन, रोग प्रतिरोधात्मक क्षमता कम हुनु, संक्रमण आदि पर्दछन्। तर पाठेघरको मुखको क्यान्सर एक मात्र त्यस्तो क्यान्सर हो जसको कारण थाहा छ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण (९८ प्रतिशतभन्दा बढी केशमा) ह्युमन प्यापिलोमा भाइरस एचपिभी संक्रमण हो, जसमा एचपिभी १६ र १८ प्रकार अत्यन्त जोखिमपूर्ण मानिन्छन्। यो भाइरस प्रायः यौन सम्पर्क मार्फत सर्ने भएकाले सुरक्षित यौन व्यवहार अपनाउनु पनि महत्वपूर्ण हुन्छ। तर यो भाइरस पाठेघरको मुख÷शरीरमा हुँदैमा पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने हुँदैन।
धेरैजसो अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले १२ देखि १८ महिनाभित्र यो भाइरस समाप्त गरिदिन्छ। तर संक्रमण लामो समय (१० देखि २० वर्ष) कायम रहँदा क्यान्सर बन्ने सम्भावना बढ्छ।
पाठेघरको मुखको क्यान्सरको रोकथाम कसरी गर्न सकिन्छ ?
कारण थाहा भएकाले पाठेघरको मुखको कारण विरुद्धको एचपिभी भ्याक्सिन सकेसम्म यौन त्रियाकपालमा एक्पोज हुनु पूर्व नै महिलाहरु (९ दखि १४ वर्षका बालिकाहरु) लाई दिनु नै पाठेघरको मुखको क्यान्सर रोकथामको एउटा मुख्य रणनीति हो। तर तत्पश्चात पनि एचपिभी भ्याक्सिन लगाउन सकिन्छ तर यसको प्रवाभकारीता कम हुँदै जान्छ।
पाठेघरको मुखको क्यान्सर रोकथामको अर्को महत्वपूर्ण उपाय भनेको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि परीक्षण(स्क्रिनिङ्ग) गर्ने हो। पाठेघरको मुखको क्यान्सर पूर्ण रूपमा रोकथाम गर्न सकिने क्यान्सर हुँदाहुँदै पनि चेतना अभाव, स्क्रिनिङ्गमा पहुँचको कमी र जोखिमबारे अपर्याप्त जानकारीका कारण ठूलो संख्यामा महिलाहरू यसबाट प्रभावित भइरहेका छन्।
प्रत्येक दिन कम्तीमा ६ महिलालाई यो क्यान्सर निदान हुन्छ भने ४ जनाको मृत्यु यसकै कारणले हुने दर्दनाक तथ्यांक छ। यसैले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्यसहित निम्न रणनीति लिएको छ।
– ९ देखि १४ वर्षका कम्तीमा ९० प्रतिशत बालिकाले पूर्ण मात्रा एचपिभी खोप पाउने।
– ३० देखि ४९ वर्षका कम्तीमा ७० प्रतिशत महिलाले नियमित स्क्रिनिङ्ग गराउने (नेपालका लागि ९० प्रतिशत लक्ष्य)।
– क्यान्सर पत्ता लागेकाहरूको कम्तीमा ९० प्रतिशतले उपचार पाउने।
पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गका विधिहरु के के छन् र कुन विधि उपयुक्त हुन्छ ?
पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गका लागि एचपिभी डिएनए परीक्षण, भीआईए परीक्षण, प्याप स्मेयर परीक्षण, लिक्युड बेस क्याटलोगी लगायतका विधिहरु उपलब्ध छन्।
ती विधिहरुमध्ये ३० वर्षदेखि माथिका महिलाहरुमा सबैभन्दा प्रभावकारी र सिफारिस गरिएको विधि एचपिभी डिएनए परीक्षण हो। किनभने यसले महिलाको पाठेघरमा एचपिभी नै छ कि छैन भनेर पाठेघरको मुखको रस निकालेर त्यसलाई केमिकलमा डुबाएर सुरक्षित रुपमा आवश्यक तापक्रममा कायम गरी १४ दिनभित्र ल्याबमा डिएनए विधिबाट परीक्षणका लागि पठाइन्छ। तर सरकारले हालसम्म ललितपुर, काठमाडौं, भक्तपुर, सुनसरी, मोरङ्ग, रुपन्देही, दाङ, चितवन, तनहुँ, कास्की र झापा गरी १० वटा जिल्लाको सीमित स्थानीय तहहरुमा मात्र स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा एचपिभी डिएनए कार्यक्रम लागू गरेको छ ।
एचपिभी डिएनए लागू भएका स्थानहरुमा निशुल्क रुपमा शिविर गरी महिलाहरुबाट नमुना निकालेर तोकिएको जनस्वास्थ्य प्रयोगशालामा पठाइ निशुल्क जाँच गरिन्छ भने सो को प्रतिवेदन ढिलोमा ३० दिनभित्र महिलाले प्राप्त गर्न सक्दछन्। तर यस विधिमा नमुना स्वास्थ्यकर्मीले नै निकाल्नपर्छ भन्ने छैन।
महिलाले स्वयमले तोकिएको तरिकाबाट सजिलै नमुना निकाल्न सक्छन्। कार्यक्रम लागू भएका स्थानहरुमा जिल्लास्थित जनस्वास्थ्य कार्यालय वा स्थानीय तह मार्फत पायक पर्ने स्थानमा नमुना संकलनका लागि शिविर संचालन गरिन्छ भने कार्यक्रम लागू नभएका जुनसुकै स्थानका महिलाले स्वेच्छाले सेवा शुल्क तिरेर समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, ७ वटै प्रदेशका जनस्वास्थ्य प्रयोगशाला, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, थापाथली, निजामति कर्मचारी अस्पताल मिनभवन लगायतका ठूला सार्वजनिक अस्पतालहरुमा सामान्यतया एक हजार रुपैयाँसम्म एचपिभी परीक्षण गराउन सकिन्छ। अन्य निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुबाट समेत सशुल्क यो परीक्षण गराउन सकिन्छ।
एचपिभी डिएनए परीक्षण नेगेटिभ भएमा हरेक ५/५ वर्षमा पुन स्क्रिनिङ्ग गर्नुपर्दछ। एचपिभी डिएनए परीक्षण पोजेटिभ आएमा उक्त महिलाको पाठेघरको मुखमा एचपिभी भाइरस छ भन्ने बुझिन्छ। यो क्यान्सर भएको होइन जोखिम मात्र हो सन्तुलित भोजन र नियमित व्यायाम गरेर रोगसँग प्रतिरोधात्मक क्षमता बढाउन सकियो भने भाइरस आफैँपनि हराउन सक्छ।
तर एचपिभी डिएनए नेपालमा केही वर्ष अघि मात्र भित्रिएको कारण यसबारे जनमानस मात्र नभएर कतिपय चिकित्सक र स्वास्थ्यकर्मीहरुमा समेत अनभिज्ञता देखिएको छ। एचपिभी डिएनए परीक्षण पोजेटिभ आएको भनेर आत्तिएर ठूला निजि क्यान्सर/जनरल अस्पतालमा सेवा लिन जाँदा एचपिभी डिएनए पोजेटिभ रिपोर्ट आएकै आधारमा ३० वर्षका महिलाको समेत पाठेघर फालिएको उदाहरण हामीलाई जानकारी प्राप्त भएको छ। जुन अत्यन्तै निन्दनीय र अनैतिक कार्य हो।
एक त एचपिभी हुँदैमा क्यान्सर भएकै होइन। अर्को कुरा पाठेघर फालेपनि एचपिभी हराउँदैन। झन् अब बाँकी रहेका भित्री भागहरुमा क्यान्सर फैलिन सक्छ तर फैलिएको छ छैन परीक्षण गर्नका लागि पाठेघर र यसको मुख नभएका कारण प्रारम्भिक स्क्रीनिङ्ग असम्भव प्राय हुन्छ। चिकित्सकमा पनि एचपिभी डिएनए बारे ज्ञानको कमी वा नैतिकता भन्दापनि अत्यधिक व्यावसायिक मानसिकता यसका सम्भाव्य कारणहरु हुन सक्दछन्। त्यसैले जनतामा पनि यसबारे जानकारी अभिवृद्धि गर्न जरुरी देखिएकोले १७ नोभेम्बरमा विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस “आजैदेखि लागौंः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ”भन्ने नाराका साथ मनाईंदै छ।
एचपिभी डिएनए पोजेटिभ आएमा के गर्ने ?
एचपिभी डिएनए पोजेटिभ भएमा थप परीक्षण (भीआइए) गरिन्छ। यसले एचपिभी भाइरसले पाठेघरको मुखमा कुनै परिवर्तन गराइएको छ कि छैन भनेर एसिटिक एडिसलाई नरमल स्लाइनमा मिसाएर पेन्ट गरी १ मिनेट मै तालिम प्राप्त स्वास्थ्यकर्मीले दशौँ वर्षपछि हुन सक्ने क्यान्सरका परिवर्तनहरु समेत थाहा पाउन सक्ने सरल र छरितो विधि हो भिआईए पनि पोजेटिभ देखिएका धेरै जस्तो केशहरुमा लो ग्रेड प्रिक्यान्सरीयस लेसन्स हुन सक्छन्। जसको उपचार तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा थर्मोकोवाजुलेशन भन्ने प्रविधिबाट केही मिनेटमै गर्न सकिन्छ।
एचपिभी डिएनए लागू भएका स्थानीय तहहरुमा र कम्तीमा सबै प्रदेशस्तरीय अस्पतालहरुमा उक्त उपचारका लागि आवश्यक थर्मोकोवाजुलेशन मेसिन र तालिम उपलब्ध गरिसकिएको स्थिति छ भने एचपिभी डिएनए लागू भएका स्थानीय तहहरुमा शिविर संचालन गर्दा पोजेटिभ रिपोर्ट महिलालाई दिने बेलामा नै अनिवार्य रुपमा भिआइए र थर्मोकोवाजुलेशन सेवाको निशुल्क व्यवस्था शिविरमै गरिएको हुन्छ।
केही गरी भिआइए परीक्षणमा हाई ग्रेड प्रिक्यान्सरीयस लेसन्स देखिएमा मात्र कोलोस्कोपी वा बायोस्पी द्वारा थप परीक्षण र लिप जस्ता प्रविधिद्वारा थप उपचार गर्नुपर्ने हुनसक्छ। जसको संख्या ललितपुरमा गरेको प्रति १ हजारमा परीक्षणमा करिब २ देखि ४ जना मात्र देखिएको छ। एचपिभी डिएनए परीक्षण पोजेटिभ आएका महिलाहरुमा हरेक वर्ष यो जाँच दोहोर्याएर भाइरस हरायो हराएन जाँच गर्नुपर्दछ।
एचपिभी डिएनए परीक्षण उपलब्ध नभएमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग कसरी गर्ने ?
भिआइए जाँच गरी ३० देखि ४९ वर्षसम्मका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गर्न सकिन्छ तर ५० वर्ष र माथिका महिलाहरुलाई स्क्रिनिङ्ग गर्न भने एचपिभी डिएनए परीक्षण गर्नुपर्ने हुन्छ। आइभिआइए नेगेटिभ आएमा हरेक ३÷३ वर्षमा दोहोर्याउनु पर्दछ।
धेरै जस्ता ठूला अस्पतालहरुमा अझै पनि प्याप स्मेयर परीक्षण सजिलै उपलब्ध हुने हुनाले चिकित्सकहरुले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गका यही विधि सिफारिस गर्ने गरेको देखिए तापनि यसमा सुख्खा कटन बडले ले नमुना लिइने हुनाले नमुना संकलन र ल्याब परीक्षण गर्दा लामो अन्तरालमा गरिएमा यथार्थ प्रतिवेदन आउने सम्भावन कम हुन्छ।
निष्कर्ष
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा हुने प्रमुख क्यान्सर भएतापनि सबैभन्दा रोकथाम गर्न सकिने क्यान्सर हो।नियमित स्क्रिनिङ्ग र एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरबाट हजारौँ महिलाको जीवन जोगाउन सक्छ। एचपिभी पोजेटिभ हुनु क्यान्सरको स्थिति होइन। केबल जोखिम मात्र हो, यसका लागि थप परीक्षण आवश्यक हुन्छ।
(सृजना लिंथेप जनस्वास्थ्य कार्यालय ललितपुरमा पब्लिक हेल्थ नर्सिङ निरीक्षक एवं प्रजनन् स्वास्थ्य कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरुको जिल्लास्तरीय कार्यक्रम संयोजकको रुपमा कार्यरत छिन्।)