काठमाडौं – नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष कमल गौतम बिहीबार भैरहवामा भाषण गरिरहेका बेला एक्कासी बेहोस हुँदै ढले।
उनीलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो, तर चिकित्सकहरूले उनलाई अस्पताल पुगेपछि मृत घोषणा गरे। मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईका अनुसार गौतमलाई एक्कासी मुटुको चाल बिग्रेको ‘भेन्ट्रिकूलर एरिदिमिया’ अर्थात् कार्डियाक अरेष्टको समस्या भएको थियो।
डा. भट्टराईका अनुसार कार्डियाक अरेष्टको अवस्थामा मुटुको चाल एक्कासी बन्द हुन्छ, जसका कारण मस्तिष्क र शरीरका अन्य अंगहरूमा रगतको प्रवाह रोकिन्छ।
भेन्ट्रिकूलर आर्थिमिया अर्थात् कार्डियाक अरेष्ट के हो ?
यो अवस्थाले मुटुको चाल असामान्य बनाउँछ। मुटुको चाल एक्कासी बिग्रँदा शरीरमा रगत प्रवाह रोकिँदा बिरामी बेहोस भएर ढल्न सक्छ। चिकित्सक भट्टराईका अनुसार, यस्तो बेला यदि तुरुन्त सीपीआर (कार्डियो पल्मोनरी रेससिटेसन) सुरु गर्न सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ। तर गौतमलाई अस्पताल ल्याइँदा ढिलो भइसकेकाले जोगाउन सकिएन।
डा. भट्टराईका अनुसार मुटु सम्बन्धी रोगका कारण औषधि सेवन गरिरहेका वा पारिवारिक इतिहासमा मुटु रोग भएका व्यक्तिहरूमा यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ। यस्तो जोखिम हुने व्यक्तिहरूले नियमित चिकित्सकको सल्लाहमा रहनुपर्ने सुझाव उनले दिएका छन्।
‘मुटुको चाल बिग्रनासाथ रगत पम्प गर्न नसक्ने हुँदा मस्तिष्क लगायत शरीरका अन्य अंगहरूमा अक्सिजनको आपूर्ति रोकिन्छ,’ उनले भने, ‘त्यसैले मानिस एक्कासी बेहोस भएर ढल्छ।’
डा. भट्टराईका अनुसार कहिलेकाहीँ हर्टअट्याककै कारण मुटुको चाल बिग्रने गर्छ, जसले गर्दा कार्डियाक अरेष्टको अवस्था आउन सक्छ।
कारण
मुटु सम्बन्धी समस्या पहिले नै भएका वा उमेर बढ्दै जाँदा रक्तनली साँघुरो हुने व्यक्तिहरूमा यस्तो समस्या देखिन सक्ने चिकित्सक बताउँछन्। कोरोनरी आर्टरी डिजिजका कारण लामो समयपछि हार्टअट्याक वा कार्डियाक अरेष्टको अवस्था आउन सक्छ।
चर्को स्वरमा बोल्दा वा अत्यधिक शारीरिक तनाव हुँदा शरीरलाई अक्सिजनको बढी आवश्यकता पर्छ। यस्तो समयमा मुटुको नशा ब्लक हुन सक्ने र कार्डियाक अरेष्टको जोखिम बढ्ने डा. भट्टराईको भनाइ छ।
उनका अनुसार कार्डियाक अरेष्ट हार्टअट्याककै एउटा जटिल रूप हो। यस्तो अवस्थामा तुरुन्त सीपीआर सुरु गर्न सकेमा मस्तिष्कमा रक्तसञ्चार निरन्तर राख्न सकिन्छ र बिरामीको ज्यान जोगिन सक्छ।
डा. भट्टराईले ३५ वर्ष नाघेका सबैले अनिवार्य रूपमा मुटुको परीक्षण गराउनुपर्ने सल्लाह दिएका छन्। नियमित स्वास्थ्य परीक्षणले आकस्मिक मुटु सम्बन्धी समस्याबाट जोगिन सकिने उनको भनाइ छ।