जब बच्चाहरू चकचक गर्छन्, खाना खान मान्दैनन् वा सुत्न इन्कार गर्छन्, आमाहरूले प्रायः मजाकमा भन्छन्- 'यी बच्चाहरूले त मेरो उमेर नै घटाइदिन्छन्।'
एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ।
ऐतिहासिक कागजातहरूको विश्लेषणबाट थाहा भयो कि केही महिलाहरूको उमेर हरेक बच्चा जन्मसँगै झन्डै छ महिनासम्म घटिरहेको थियो। सबैभन्दा कठिन परिस्थितिमा बाँच्ने महिलाहरूमा यसको प्रभाव झनै गहिरो देखियो।
क्रमिक विकास (इभोल्युसन) अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले ‘प्यारिस रेकर्ड’ अर्थात् जन्म–मृत्यु सम्बन्धी पुराना अभिलेखहरूको अध्ययन गरे।
यी अभिलेखहरूमा १८६६ देखि १८६८ सम्म फिनल्यान्डमा परेको भीषण दुर्भिक्ष (अकाल) का बेला बाँचिरहेका ४,६८४ महिलाहरूको विवरण थियो। अध्ययनका प्रमुख शोधकर्ता, नेदरल्याण्ड्सको ग्रोनिङ्गेन विश्वविद्यालयका डा. यूअन यङ भन्छन्, 'यो युरोपको इतिहासकै सबैभन्दा गम्भीर अकालमध्ये एक थियो।'
डा. यङ र उनकी टोली (प्रोफेसर हन्ना डगडेल, प्रोफेसर विरपी लुम्मा र डा. एरिक पोस्ट्मा)ले पत्ता लगाए कि अकालको समयमा आमा बनेका महिलाहरूको जीवन–आयु हरेक बच्चाको जन्मसँगै लगभग छ महिना घटेको थियो। उनीहरूले अनुमान गर्छन् कि महिलाहरूले आफ्नो शरीरका कोषहरूको मर्मत–सम्भारमा ऊर्जा खर्च गर्नुभन्दा प्रजननमा बढी ऊर्जा लगाउनुपर्दा पछि रोगको जोखिम बढ्यो।
तर अकालभन्दा अघि वा पछि आमा बनेका महिलामा यस्तो असर देखिएको पाएन।
डा. यङ भन्छन्, 'हामीले यस्तो दुविधा केवल ती महिलामा मात्र देख्यौँ, जो दुर्भिक्षको समयमा प्रजनन–उमेरमा थिइन्।'
यसले देखाउँछ कि महिलाहरू बच्चा जन्माउने समय–अवधिमा जहाँ बस्थे, त्यही वातावरण अत्यन्त महत्वपूर्ण कारक थियो। तर किन?
एक सम्भावना यो कि कठिन परिस्थितिमा बच्चा जन्माउनुका दीर्घकालीन स्वास्थ्य प्रभावहरू झनै गम्भीर बन्छन्।
पहिल्यैदेखि थाहा भएकै कुरा हो कि आमा बन्ने महिलामा मुटु तथा मेटाबोलिक रोगको जोखिम बढी हुन्छ- जसको कारण तौल बढ्नु र शारीरिक तनाव हो।
डा. यङ भन्छन्, 'अर्को सम्भावना यो पनि हो कि गर्भावस्था, स्तनपान र बच्चा पालन–पोषणका कारण शरीरबाट आवश्यक पोषक तत्व झनै कमी हुन्छ।'
गर्भावस्था र स्तनपानका लागि धेरै ऊर्जा चाहिन्छ। अकालका बेला महिलासँग आफैँलाई स्वस्थ राख्नुपर्ने ऊर्जा झनै कम बचेको हुनसक्छ, जसले दीर्घकालमा रोगसँग लड्ने क्षमता घटाउँछ।
डा. यङ थप्छन्, 'ती समुदायमा महिलाले धेरै बच्चा जन्माउने चलन थियो र प्रसूति बीचमा आराम वा शरीरलाई ठीक हुन पाउने समय कम थियो। यस्तो अवस्थामा स्वास्थ्यमा पर्ने असर एकअर्कालाई थपेर झनै गम्भीर हुन सक्छ।'
तर उनी भन्छन्, यो अध्ययन ऐतिहासिक डाटाको आधारमा भएकाले पूर्ण निश्चित हुन अझ धेरै अनुसन्धान आवश्यक छ।
सन्तान र जीवन–आयुको ‘सन्तुलन’
अनुसन्धानमा देखियो कि धेरै बच्चा भएका महिलामा प्रभाव स्पष्ट देखिए पनि सबैमा समान थिएन।
डा. यङ भन्छन्, 'यहाँ दुई कुरा लागू हुन्छन्- ठूलो परिवार र अकाल जस्ता अत्यन्त कठिन परिस्थितिहरू।'
विज्ञहरू धेरै वर्षदेखि छलफल गर्दै आएका छन्- किन कतिपय प्रजाति (जस्तै मुसा, किरा) धेरै सन्तान जन्माउँछन् र कम बाँच्ने गर्छन्, जबकि हात्ती वा मानव जस्ता प्रजाति कम बच्चा जन्माउँछन् तर धेरै बाँच्छन्?
एक प्रमुख सिद्धान्त अनुसार, शरीरले कोष–मर्मतबाट ऊर्जा हटाएर प्रजननमा लगाउँदा उमेर छिटो बढ्छ।
के आधुनिक महिलामा पनि यस्तो असर देखिन्छ?
२०२३ मा सूडानकी महिलाले औसत ४.३२ बच्चा जन्माइन्- र त्यसैपछि देशका केही भागमा अकाल घोषित भएको थियो।
तर के २०० वर्षपहिलेका तथ्य आजका महिलामा पनि लागू हुन्छन्?
डा. यङ भन्छन्, 'त्यो समयको स्वास्थ्य सेवा निकै कमजोर थियो, र महिलाले औसत चार (पाँच बच्चा जन्माउने गर्थे) आजभन्दा धेरै।'
१८०० पछिदेखि विश्वभर जन्मदर तीव्र गतिमा घटेको छ। २०२३ मा औसत जन्मदर प्रति महिला दुईभन्दा अलि बढी मात्र थियो, शिक्षा, रोजगारी, गर्भनिरोधक पहुँच र बाल–मृत्यु दर घटेको कारण।
तर नाइजर, चाड, सोमालिया, दक्षिण–सूडान जस्ता देशमा महिलाले अझै चार वा बढी बच्चा जन्माउने गरेको पाइन्छ।
डा. यङ भन्छन्, अझ धेरै प्रमाण आवश्यक छ, तर संसारका केही क्षेत्रमा यस अध्ययनका नतिजा आज पनि मिल्न सक्छन्।
बीबीसी हिन्दीबाट