बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमै बच्चा जन्माएकी छन्।
स्थानीय स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि ती महिलालाई बाटोमै प्रसुति गराइएको हो। फयालगाउँ आधारभूत स्वास्थ्य इकाइमा पुग्ने क्रममा प्रसव पीडा अत्यधिक बढेपछि स्वास्थ्यकर्मी विस्ना रोकायाले बाटोमै पुगेर सुरक्षित रूपमा प्रसुति सेवा प्रदान गरेकी थिइन्।
स्वास्थ्यकर्मी रोकायाको सहयोगमा बाटोमै शिशुको जन्म भएको हो। आमा र नवजात शिशुको अवस्था हाल सामान्य रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।
ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन्। बाजुराका धेरै महिलाहरूले अझै पनि स्वास्थ्य संस्था पुग्न कठिनाइका कारण घरमै वा बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको स्थानीयहरूले बताएका छन्।
तस्विर : केशव भण्डारी