जनकपुरधाम - मधेश प्रदेशका महिलाहरूमा रक्तअल्पताको समस्या पछिल्ला वर्षमा झनै बढ्दै गएको छ।
शुक्रबारदेखि जनकपुरधाममा सुरु भएको आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपानेले प्रस्तुत गरेका तथ्यांकले महिलामा रक्तअल्पता वृद्धि भएको पुष्टि गरेको हो।
निर्देशक न्यौपानेका अनुसार महिनावारी गडबडी, गर्भावस्था र प्रसूतिको समयमा रगतसँगै रातो रक्तकोष क्षय हुँदा महिलामा रक्तअल्पताको जोखिम उच्च रहने गर्छ। मधेशमा ५२.४ प्रतिशत महिलामा रक्तअल्पता देखिएको उनले बताए।
आर्थिक वर्ष २०७८/७९ को एचएमआईएस तथ्यांकअनुसार ४८ प्रतिशत गर्भवती महिलाले मात्र १८० दिन आइरन चक्की सेवन गरेका थिए। गर्भावस्थामा नियमित आइरन चक्की नखाने, भोजनमा खनिज, गेडागुडी, सागसब्जी, फलफूल तथा प्रोटिनयुक्त पदार्थको कमी रहेको तथा आवश्यक पोषक तत्वयुक्त खानेकुरा दैनिक आहारमा नसमेटिँदा रक्तअल्पता बढेको उनी बताउँछन्।
उनका अनुसार गर्भवती अवस्थामा आइरन चक्की पाउने महिलाको प्रतिशत भने पछिल्ला तीन आर्थिक वर्षमा क्रमशः बढ्दै गएको छ।
देशका अन्य प्रदेशसँग तुलना गर्दा कर्णालीमा महिलामा रक्तअल्पता सबैभन्दा कम २१.२ प्रतिशत छ, जबकि लुम्बिनी प्रदेशमा यो दर ४४.४ प्रतिशत रहेको छ। मधेश प्रदेशले तय गरेको लक्ष्य भने पूरा गर्न चुनौती भइरहेका तथ्यांकले देखाउँछ।
विशेषगरी ग्रामीण क्षेत्रमा जनचेतनाको कमी, केही जिल्लामा पोषक भोजनको अभाव तथा दिएको आइरन चक्की नियमित नखाने प्रवृत्तिले कार्यक्रमले अपेक्षित प्रगति हासिल गर्न नसकेको निष्कर्ष निर्देशक न्यौपानेले प्रस्तुत गरे।
गाउँका महिलामा गर्भावस्था तथा प्रसूतिपछि पोषणयुक्त भोजनको कमी, भएका खानेकुरालाई सन्तुलित ढंगले मिलाएर नखानु तथा स्वास्थ्य संस्थाले उपलब्ध गराएको आइरन चक्की नियमित नखाने प्रवृत्तिले समस्या स्थिर देखिएको छ।
“सरकारले आइरन चक्की दिएको हुन्छ, तर कसैले व्यस्तताका कारण, कसैले परिवारको सहयोग नपाएर पूरा मात्रा सेवन गर्न पाउँदैनन्,” निर्देशक न्यौपानेले भने।
रक्तअल्पता मुख्यतया पाँच वर्षमुनिका बालबालिका तथा १५ देखि ४९ वर्ष उमेरका गर्भवती महिलामा बढी देखिएको छ। परीक्षण गरिएका महिलामध्ये गर्भवती समूहका झण्डै ६० प्रतिशत मा रक्तअल्पता भेटिएको छ। गर्भवती नभएका प्रजनन–क्षमतायुक्त (१५–५० वर्ष) महिलामा भने यो समस्या तुलनात्मक रूपमा कम छ।
रिपोर्टका अनुसार मधेशमा क्षयरोग, कुष्ठरोग र समग्र पोषणको अवस्थामासमेत केही वर्षयता सुधार आएको छ। यद्यपि, पोषणयुक्त भोजनको अभावले गर्दा बालबालिका कुपोषित हुने समस्या यथावत् रहेको जनाएको छ।
स्वास्थ्य निर्देशनालयले आयोजना गरेको तीनदिने समीक्षा गोष्ठीको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सरोजकुमार यादवले गरेका हुन्। उनले स्वास्थ्यकर्मीको भूमिकालाई महत्वपूर्ण बताउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा पछि परेको मधेशमा स्वास्थ्य सेवाको पहुँच अझ सहज बनाइनु आवश्यक रहेको उल्लेख गरे।
गोष्ठीमा स्वास्थ्य मन्त्रालयका सचिव ओमप्रसाद अर्याल, स्वास्थ्य तालिम केन्द्र बाराका निर्देशक डा. राजीवकुमार झा, प्रदेशका आठै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, फोकल पर्सन तथा अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता थियो।