काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औँ सभा बसेको छ। प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको १०औँ सभाले १ अर्ब ८९ करोड ४६ लाख रुपैयाँको बजेट पारित गरेको छ।
गत वर्षको तुलनामा सरकारले अनुदान केही कम गरिदिए पनि प्रतिष्ठानले आफ्नै सेवा गुणस्तरका आधारमा आम्दानी वृद्धि गर्न सफल भएको छ। गत वर्ष ५७ करोड १९ लाख सरकारी अनुदान पाएको प्रतिष्ठानले यसपटक ३६ करोड ९५ लाख मात्र प्राप्त गरेको छ। तर उल्टै, आन्तरिक आम्दानी भने गत वर्षको १ अर्ब १३ करोडबाट उल्लेखनीय रूपमा बढेको देखिन्छ।
प्रधानमन्त्री कार्कीले प्रतिष्ठानले पछिल्ला वर्षहरूमा उपलब्ध उपकरण, सेवा दायरा र विशेषज्ञ चिकित्सा पूर्वाधारका कारण आफूलाई ‘विश्वसनीय क्षेत्रीय रेफरल अस्पताल’का रूपमा स्थापित गरेको उल्लेख गर्दै सरकारबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।
२०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई रुपान्तरण गर्दै स्थापना गरिएको प्रतिष्ठान हाल ५ सय शय्यासहित विशेषज्ञ सेवा सञ्चालनमा ल्याइसकेको छ।
शैक्षिक कार्यक्रमको सन्दर्भमा एमडी–एमएसका १३ विभागमा १०० विद्यार्थी अध्ययनरत छन् र तीन वटा ब्याच स्नातक भइसकेका छन्। एमबीबीएस, बीएनएस र बीएससी नर्सिङ गरी १७० विद्यार्थी स्नातकतहमा अध्ययन गरिरहेका छन्।
सभामा सहकुलपति तथा स्वास्थ्यमन्त्री डा. सुधा गौतम, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सदस्यहरूको उपस्थिति थियो।