धुलो अनि हिलो बाटो छिचोल्दै,
आशाको दियो बाली घण्टौँसम्म हिँड्छन् डोल्पाली,
सामान्य औषधि र उपचारको आशामै दुःख झेल्दै
अस्पताल अनि स्वास्थ्यचौकी धाइरहन्छन् डोल्पाली ।
यिनका लागि नीति बनेका मात्र कागजमा,
संघ अनि प्रदेश सरकारका महँगा होटलमा बसेर
लेखिएका पन्नाहरूमा।
लाग्छ, यहाँ स्वास्थ्य–राजनीति धुलोसँगै उड्छ,
वाचा–प्रति वाचा
अनि छेउकै डाँडा–हिमालमा हराउँछ ।
यहाँ स्वास्थ्यचौकीका ढोका खुला भए पनि दराजमा
औषधि हुँदैन,
उपकरणको कल्पना टाढै—जिल्लामा पनि सकिँदैन भर पर्न ।
गर्भको जाँच गर्न यहाँ आमाहरू घण्टौँको बाटो हिँडेरे छोट्याउँछन्,
कहिले हिमपात, कहिले बाढी–पहिरो, अनि भीर र खोल्सामा
देवता पुकार्दै भए पनि बाध्य भएर जिल्ला अस्पताल धाइरहन्छन् ।
हामी डोल्पालीका विडम्बना पनि कति–कति!
सामान्य स्वास्थ्य सेवा पाउन पनि घण्टौँ हिँड्नै पर्ने,
यहाँ बिरामीको कहिले हेलिकप्टर कुर्दाकुर्दै ज्यान जान्छ त
कहिले एम्बुलेन्सको अभावमा भाडाका गाडीसँग
भाडा घटाउन हात जोड्दै।
कहिले एम्बुलेन्स आफैँ बिरामी हुन्छ,
त कहिले जबरजस्ती बिरामी बनाइन्छ।
तै पनि हाम्रा नेता भन्छन्—पर्खनुहोस्, विकास आउँदैछ,
स्वास्थ्य क्षेत्रमा कायापलट हुँदैछ ।
यहाँ माथिल्लो डोल्पाली बिरामी हुँदा
लाखौँ तिरेर राजधानीमा हजारको औषधि खाएर निको हुन्छन्।
बर्थिङ सेन्टरको जाडोको डरले घरमै बच्चा जन्माउन बाध्य छन्,
आधुनिक औषधिको अभावले आम्चीको भर पर्न बाध्य छन् ।
कहीँ–कतै कुनै भेगका जनता आज पनि
हड्डी भाँचिँदा काप्रो बाध्न बाध्य छन्,
अनि हात–गोडा सुन्निँदा खोटो लगाउन बाध्य छन्,
घुँडाको गाँठा दुख्दा बातो हान्न सहज मान्छन् ।
तै पनि डोल्पाली शान्त छन्,
मुटु बलियो पारेर चुपचाप—जे छ, जति छ, त्यसमै खुसी छन्।
भोलिको सुनौलो भविष्यको आशामा सोच्दै बसिरहेकाछन्।
कुनै दिन राजनीतिमा स्वास्थ्यले जित्नेछ,
स्वास्थ्यचौकीका खाली दराज औषधिले भरिनेछन्,
स्वास्थ्यकर्मीको उपस्थिती गाउँमा झल्किनेछ ।
बिरामीले बाटो होइन, जीवन रोज्ने दिन आउनेछ,
अनि सबै डोल्पालीको छातीमा
सामान्य रोगले मर्ने डर होइन,
जिल्लामै उपचारको आशाले भरिनेछ ।
डा. अखण्ड उपाध्याय
मेडिकल अधिकृत
डोल्पा