काठमाडौं - काठमाडौंको थली निवासी सलिना थापाको चार वर्षीय छोरालाई ज्वरो र खोकीले सताउन थाल्यो। नजिकैको पसलबाट उनले औषधि किनेर खुवाइन्। औषधि खुवाएको एक दिनमै छोरा निको पनि भए। तर केही दिन नबित्दै छोरा बिरामी पर्न थाले। उस्तै ज्वरो र खोकीले छोरालाई फेरी पनि सताउन थाल्यो। तर यो पटक भने औषधि खुवाउँदा पनि छोरा निको भएन।
उनी आत्तिदै जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा छोराको उपचारका लागि पुगिन्। परामर्शका क्रममा उनले चिकित्सकलाई सबै कुरा बताइन्। त्यो बेला मात्र उनले थाहा पाइन्, छोरालाई किनेर खुवाएको औषधि एन्टिबायोटिक थियो, जुन चिकित्सकको सल्लाह बिना आफूखुशी प्रयोग गर्न हुँदैन भनेर। चिकित्सकले पनि उनलाई एन्टिबायोटिक औषधि त्यसरी चिकित्सकको सल्लाह बिना नखुवाउन सुझाव दिए।
जोरपाटीका ५० वर्षीय इन्द्रबहादुर तामाङलाई बेला बेला दाँतको दुखाईले सताइरहन्थ्यो। दुखाईलाई कम गर्न उनी नजिकैको फार्मेसीबाट औषधि किनेर खाने गर्थे। लगातार दुई वर्ष जति भयो, उनले यसरी औषधि किनेर खाने गरेको।
दुई वर्षसम्म त औषधिले दाँतको दुखाई कम हुन्थ्यो। तर अहिले त्यही औषधिले दुखाई ठिक नभएपछि उनी साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पताल पुगे। चिकित्सकले अब उनको दुखाईमा ती औषधिले काम नगर्ने बताए।
सलिना र इन्द्र बहादुर जस्तै धेरैलाई एन्टिबायोटिकको सही प्रयोग बारे थाहा छैन। यही जानकारीको अभावमा उनीहरु रोग छिटो निको पार्ने चक्करमा जथाभावी एन्टिबायोटिकको प्रयोग गरिरहेका छन्।
एन्टिबायोटिकले काम गर्न छाड्ने हो कि भन्ने चिकित्सकको चिन्ता
रोग निको पार्न होस् या दुखाई कम गर्न आफुखुशी एन्टिबायोटिक औषधिको प्रयोग दिनप्रति दिन बढ्दो छ। चिकित्सकको सल्लाह बिना प्रयोग गरिने एन्टिबायोटिकले एन्टिमाइक्राबियल रेजिस्टेन्स (प्रतिजैविक प्रतिरोध) को समस्या बढाइरहेको छ।
विगतमा प्रयोग हुँदैं आएका एन्टिबायोटिकहरुले हाल काम नगर्ने अवस्था आएको भन्दै ओम अस्पतालमा कार्यरत सिनियर कन्सल्टेन्ट फिजिसियन डा परशुराम घिमिरे चिन्ता व्यक्त गर्छन्। सामान्य रुघाखोकी तथा ज्वरोको उपचारमा पनि उच्च डोजको एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था आएको उनले बताए।
जथाभावी रुपमा एन्टिबायोटिकको प्रयोगले हुँदा हाल बजारमा एकदमै विरलै पाइने एन्टिबायोटिकहरुले मात्रै काम गर्ने अवस्था रहेको उनले जानकारी दिए। अत्यावश्यक समयमा प्रयोग गर्नका लागि राखिएको रिजर्भ एन्टिबायोटिक मात्रै हाल प्रयोग गर्नसक्ने अवस्था रहेको उनले बताए। उनका अनुसार त्यस्ता एन्टिबायोटिकहरु एकदमै महँगो हुने, विरलै पाइने, विदेशमा मात्रै पाइने अवस्था छ।
औषधिको अहिले नै सही उपयोग नहुँदा आगामी दिनमा शरीरमा रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने डा घिमिरे बताउँछन्। जथाभावी एन्टिबायोटिकको प्रयोगलाई रोकथाम गर्नसके भविष्यमा आउन सक्ने जटिलतालाई रोक्न सकिने उनले बताए। चिकित्सकको सिफारिस बिना एन्टिबायोटिकको प्रयोग हुँदा बिरामीको रोगको हिस्ट्रीबारे जानकारी पाउन नसकिने भएकोले त्यसले समस्या ल्याउन सक्ने उनले बताए।
एन्टिमाइक्रोबियल्स औषधिमा रातो धर्का राख्नुपर्ने नियम कार्यान्वयन भएन
औषधि विज्ञ डा रमेश शर्मा पौडेल एन्टिमाइक्रोबियल्स औषधिमा रातो धर्का राख्नुपर्ने सरकारको नियम अझै पनि पूर्ण रुपमा पालना हुन नसकेको बताउँछन्। यी औषधिको जथाभावी प्रयोग हुन दिन फार्मेसी तथा बिरामी दुवैले आफ्नो व्यवहारमा परिवर्तन गर्न आवश्यक रहेको उनले बताए।
‘बिरामीले फार्मेसीमा गएर एन्टिबायोटिक माग्नु भएन। मुख्य कुरा त फार्मेसीले चिकित्सकको सिफारिस बिना त्यस्ता औषधि दिनु हुँदैंन।, उनले भने ‘यस्तो गर्न सकिएमा समुदायस्तरमा हुने जथाभावी प्रयोगलाई कम गर्न सकिन्छ।’
न्टिबायोटिकको जथाभावी प्रयोगले आगामी दिनमा औषधिले काम नगर्ने तथा महँगो र बढी डोजको एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ उनी सचेत गराउँछन्। यसले भविष्यमा उपचार महँगो पर्ने तथा शरीरलाई गम्भीर असर गर्ने, उपचारमा जटिलताको अवस्था आउन सक्ने उनले बताए।
एन्टिबायोटिक औषधिमा रातो धर्का राख्नुपर्ने नियम पालना भएको विभागको दाबी
यता औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल एन्टीबायोटिक औषधिमा रातो धर्का राख्नुपर्ने व्यवस्था अनिवार्य रुपमा पालना भएको दाबी गर्छन्। यदाकदा यूरोपबाट आएका केही औषधिहरुमा रातो धर्का नराखिएको हुन सक्ने भएपनि नेपाली औषधि उद्योगबाट उत्पादित औषधिमा त्यस्तो नभएको उनको दाबी छ।
साथै एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्न विभिन्न सचेतनामूलक कार्य गर्दै आइरहेको बताउँछन्। उनले विभागले एन्टिबायोटिकको लेभलिङका लागि आवश्यक कामको थालनी गरिएको जानकारी दिए।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी एन्टिबायोटिकको जथाभावी प्रयोग कम गर्न चिकित्सकहरुलाई पनि निर्देशन दिएको बताए। औषधिमा रातो धर्का भएमा एन्टिबायोटिक हुने र त्यस्ता औषधि चिकित्सकको सिफारिस बिना प्रयोग गर्न नहुने जानकारी विभिन्न माध्यमबाट दिँदै आएको उनले बताए।