जेन्जी आन्दोलनबाट जे जस्तो उपलब्धि प्राप्त भएको छ त्यसलाई नेपाली जनताले कम ठानेका छैनन्। कैयौँ निमुखा भाई बहिनीहरुले आफनो ज्यान गुमाएर यो परिवर्तन ल्याएका छन् भने कैयौँ घाइते भएर जीवनभरी तड्पिन बाध्य छन्। यस आन्दोलनको सदुपयोग गरेर नेपाली जनतालाई सुशासन, सुरक्षा, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा दिलाउन सकेन भने यो आन्दोलनबाट र ती महान् शहीदहरुको बलिदानबाट के नै उपलब्धि हासिल भयो र ?
संघीयता र स्वास्थ्य
स्वास्थ्यको बजेट स्थानीय र प्रदेश तहमा पाएर सम्बन्धित अधिकारीहरु खुशी हुनु बाहेक यो तीन तहको सरकारबाट नेपाली जनताले स्वास्थ्यमा खासै उल्लेखनीय उपलब्धि हासिल गरे जस्तो महसुस भएको छैन। स्थानीय, प्रदेश र संघमै पनि समय र परिस्थितिले माग गरे बमोजिम जनताको स्वास्थ्यमा आवश्वक सुधार हुन सकेको छैन।
संघीयताले सबै निकायलाई आफुले निर्णय गर्ने अधिकार दिलाए। तर कतिपय निकायहरुमा अधिकारवालाहरुले मनमानी गर्न थालेपछि निमुखा जनताले कतै कसैसँग उजुरी गर्ने साहस नभएर अन्याय सहेर बस्न बाध्य छन्।
यता सरकारको कमजोरीको कारण उपलब्ध वार्षिक बजेट खर्च गर्न नसक्ने अवस्था पनि उस्तै छ। उता आवश्यकता छ/छैन भन्ने केही अध्ययन नै नगरी हचुवाको भरमा हरेक स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न भनेर बजेट छुट्याइयो। जिल्लामा सञ्चालित एउटा जिल्ला अस्पतालमा औषधि, उपकरण, चिकित्सक र आवश्यक स्वास्थ्य जनशक्ति पुर्याउन नसकेको अवस्थामा स्थानीयस्तरमा ६ सय बढी अस्पताल भवन बनाउन बजेट खर्च गर्न कत्तिको उपयुक्त थियो होला र ?
कार्यक्रमको लेखाजोखा गर्ने क्षमताको अभावमा कैयन स्वास्थ्य कार्यक्रमहरु अपेक्षित उपलब्धि हासिल गरी सकेपनि वर्षौ लगातार चलाएर अनाहकमा राज्य कोषको दुरुपयोग हुँदै आएको छ। करीब २० प्रतिशतभन्दा बढी बजेट यस्तै कार्यक्रमहरुमा खर्च भइरहेका छन्। स्वास्थ्य उपकरण तथा औषधिहरु जस्ता रोगको उपचारमा प्रयोग हुने संवेदनशील सामग्रीहरुको खरीदमा उचित ध्यान पुर्याउन नसकी रहेको कारणले गर्दा कम गुणस्तरको सामग्रीहरु महँगोमा किनेर वितरण भइरहेको कयौँ उदाहरणहरु छन्।
स्वास्थ्य बीमा लागु गरेर जनतालाई केही स्वास्थ्य राहत दिने कोशिस गरेताप ित्यसको कुशल व्यवस्थापनको अभावमा जुन समुदायलाई स्वास्थ्य बीमा आवश्यक थियो त्यो समुदायमा सेवा पुर्याउन सरकार असमर्थ भएको स्थिति छ।
जनताको माग र देशको आवश्यकता अनुसार सुपर स्पेसीयालीटी अस्पतालहरुको स्थापना गरेर स्वास्थ्य सेवाको कुशल व्यवस्थापन गर्नुको बदला विभिन्न रोगको लागि भनेर हचुवाको भरमा पैसा वितरण गरेर सरकारले झारा टार्ने काम गरेका छन्।
गरीब देश हुनाको कारण स्वास्थ्य जस्तो संवेदनशील विषयमा पर्याप्त बजेट नहुनु सामान्य कुरा हुन्। तर उपलब्ध बजेटको सही सदुपयोग नहुनु हाम्रो ठूलो दूर्भाग्य हो।
देशमा उपलब्ध विभिन्न तहको स्वास्थ्य जनशक्तिहरुको सही व्यवस्थापन गर्न नसक्नुमा कमजोर प्रशासनिक व्यवस्था त छँदैछ। त्यसमाथि पनि स्वास्थ्यको कर्मचारी कुनै न कुनै राजनैतिक पार्टीसँग आवद्ध भएको हुनाले कर्मचारीहरु देश र जनताको कामप्रति भन्दा पार्टी प्रति बढी बफादार देखिन्छन्। यसले गर्दा संघदेखि स्थानीय तह सम्म मन्त्री तथा स्थानीय तहमा फेरबदल हुँदा कर्मचारीहरु पनि सरुवा तथा बर्खास्त गर्ने प्रक्रियाहरु सामान्य भइसकेका छन्। उदाहरणको लागि हालै जेन्जीको सरकारले महत्वपूर्ण स्थानहरुमा सरुवा गरेर सो प्रक्रिया यथावत राखेकै देखिन्छ।
जनताले आशा गरेका स्वास्थ्य व्यवस्था
राजनीति परिवर्तनसँगै प्रधानमन्त्री नयाँ आए, धेरै नयाँ मन्त्रीहरु पनि नआएका होईनन्। र, अब जेन्जीको मन्त्री पनि हुनुहुन्छ तर जनताले माग गर्दै आएका कुराहरु केही पनि नयाँ छैनन्।
स्वास्थ्य सेवा गुणस्तरीय हुनु पर्यो। हरेक नागरिकको पहुँचमा हुनु पर्यो र धनी गरीब नभनी सबै नेपालीले सरल तरिकाले उपभोग गर्न पाउनु पर्यो। जबसम्म तराई, पहाड, हिमालका हरेकले समुदायस्तरमा सरल तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउँदैनन्, तबसम्म स्वास्थ्य सेवामा भएको लगानीको ठोस उपलब्धि हासिल भएको मान्न सकिँदैन।
स्वास्थ्यमा के सुधार गर्नु आवश्यक छ र त्यो कसरी गर्ने भन्ने कुनै सोच नभएका जो कोहीलाई ल्याएर कुर्शीमा राख्दैमा स्वास्थ्य सुधार भएको अवस्था देखिन्न। र, यस्तो पुरानो परीपाटी चलेको पनि वर्षौ भयो।
ग्रामीण समुदायका जनताहरु तालिम प्राप्त स्वास्थ्यकर्मीको सेवाबाट बञ्चित छन्। २० औँ वर्षदेखि नेपाली ग्रामीण समुदाय अझै पनि स्वयं सेवकहरुबाट स्वास्थ्य सेवा लिन बाध्य छन् समयानुकुल अब हरेक महिला स्वयंसेविकासँग एउटा सामुदायिक नर्स पनि हुन आवश्यक छ। जसले समुदायमा परिवार नियोजन, गर्भ परीक्षण, स्वास्थ्य शिक्षा साथै स्वास्थ्य परामर्शहरु दिन दिलाउन सकिन्छ। तर यस तर्फ कसैको ध्यानै गएको देखिदैन। सायद सयौं वर्षसम्म ग्रामीण भेगका जनताहरुले स्वयं सेवकहरुबाटै मात्र स्वास्थ्य सेवा लिन बाध्य होलान्।
जेन्जीलाई स्वास्थ्य सेवामा ठोस परिवर्तन ल्याएर आन्दोलनको उपलब्धि हासिल गर्ने अवसर
हरेक कुराको समय हुन्छ। समयको सदुपयोग गर्न चुक्नु हुँदैन। पछि पछताउनु पर्ने हुन्छ। २४ घण्टामा व्यवस्था परिवर्तन गर्न सफल भयो। निमुखा शहीदहरु तथा कैयन युवाहरुको अमूल्य योगदानबाट हासिल गरेको ऐतिहासिक उपलब्धिबाट देश र नेपाली जनताले पुस्तौसम्म याद रहने गरी परिवर्तन ल्याउनु जरुरी छ।
जेन्जी आन्दोलन पश्चात धेरै दिनसम्म नेपाली जनताले हेरी रहे, अब केही होला भनेर पर्खि रहे तर कुनै ठोस माग रहेको देखिएन। पत्रकार सम्मेलन वा भेटघाटमा समेत त्यस्तो केही माग रहेको बुझिएन।
जति समय बित्दै जान्छ उति नै छिटो सबै कुरा बिर्संदै जान्छ। यो संसारको रित नै हो। समय रहँदै स्वास्थ्यमा जेन्जीहरुले कमसे कम एउटा दुई वटा ठोस माग चाँही राख्नै पर्छ। त्यति मात्र होईन त्यो माग कुनै पनि तवरले पुरा गरेरै छाडनु पर्ने हुन् । वर्तमान स्थितिमा यो संभव पनि छ। तर सधैको जस्तै अवस्था भए वीर जेन्जी शहीदहरुको आत्माले शान्ति पाउने छैनन्। उनीहरुको योगदान खेर जानेछ।
(डा मिङमार गेल्जेन शेर्पा स्वास्थ्य सेवा विभागका पूर्व निमित्त महानिर्देशक हुन्।)