काठमाडौं– नेपाल चिकित्सक संघको वर्तमान कार्यसमितिको कार्यकाल सकिँदै छ। आगामी माघमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ।
निर्वाचन कार्यतालिका अनुसार माघ २ र ३ गते उपत्यका बाहिर र माघ १५, १६ र १७ गते उपत्यकाभित्र चुनाव हुने भएको छ।
वर्तमान कार्यसमितिको कार्यकाल सकिनै लाग्दा चिकित्सा क्षेत्रमा संघको आगामी निर्वाचनमा कुन पदमा कस-कसको उम्मेदवारी रहन्छ भन्ने विषयमा चासो व्यक्त हुन थालेको छ।
डा मंगल रावलले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेस निकट प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि आधिकारिक नाम भने अझै सार्वजनिक भएको छैन। कांग्रेस निकट नै रहेका डा विश्वराज दवाडीले व्यक्तिगत हिसाबमा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेस निकट प्रजातान्त्रिक समूहले डा दवाडीलाई आफ्नो आधिकारिक उम्मेदवार मानेको छैन। समूहले छिट्टै नै आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतको भनाई छ।
प्रजातान्त्रिकतर्फ अध्यक्षमा संघमा हाल वरिष्ठ उपाध्यक्षमा रहेका डा बद्री रिजाल र महासचिव डा सन्जिब तिवारीको नाम चर्चामा छ। यी दुघ जनामध्ये कोही एक जना अध्यक्षका उम्मेदवार हुने लगभग पक्का छ। तर कसले उक्त समूहबाट आधिकारिक उम्मेदवारको टिकट पाउँछ भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।
डा रिजाल हाल ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत छन्। उनी संघको अध्यक्षको टिकट पक्का हुने वित्तिकै प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट राजीनामा दिएर संघको काममा खटिने तयारी गरिरहेका छन्। यसअघि संघको महासचिव रहेका डा रिजालले यसपटक आफूनै आधिकारिक उम्मेदवार हुने बताउँछन्।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत संघका महासचिव डा तिवारी पनि आफूनै आधिकारिक उम्मेदवार हुने दाबी गरिरहेका छन्। उनी संघमा आफूले समय दिइरहेको र अध्यक्षको तयारी गरिरहेको बताउँछन्।
आधिकारिक उम्मेदावरको टुंगो नलागे पनि दुवैजनाले आ-आफ्नो तर्फबाट आन्तरिक रुपमा दाबी गर्दै आवश्यक तयारी भने अगाडि बढाइरहेका छन्।
संघको महासचिव पदमा स्वतन्त्र रुपमा डा अमृत भुसालले उम्मेदवारी घोषणा गरिसकेका छन्। डा भुसाल यसअघि पनि महासचिव पदमा उम्मेदवार भएका थिए। महासचिव पदमा प्रजातान्त्रिक र पेशागत वा अन्य कुनै समूह र एकल रुपमा हालसम्म अरुले उम्मेदवारी दाबी गरेका छैनन्।