नेपाली समाजमा डाक्टर भन्नेबित्तिकै कि त 'एमबीबीएस' वा मुटु, पेट, नशा आदिका 'विशेषज्ञ' भन्ने बुझाइ छ। तर, यी दुवैको बीचमा एउटा यस्तो विशेष विधा छ, जसलाई नेपालको भौगोलिक अवस्था र स्वास्थ्य प्रणालीको मेरुदण्ड मानिन्छ। त्यो हो एमडीजीपी (मास्टर अफ डक्टर इन जेनरल प्राक्टिस) अर्थात् 'जनरल प्राक्टिस'मा विशेषज्ञता।
नेपालको पहाडी भूभागदेखि काठमाडौँका कर्पोरेट अस्पतालसम्म एमडीजीपी डाक्टरहरूले कसरी स्वास्थ्य सेवाको मुहार फेरिरहेका छन्? यस लेखमा हामी बुँदागत रुपमा उनीहरुका महत्वपूर्ण भूमिकाका विषयमा चर्चा गर्नेछौं। सर्वप्रथम त एमडीजीपी नै के हो भन्ने विषयमा बुझौं।
के हो एमडीजीपी?
धेरैले एमडीजीपीलाई केवल 'जनरल फिजिसियन' ठान्छन्, तर यो गलत बुझाइ हो। एमडीजीपी ऐन्ड ईएम तीन वर्षको विशेषज्ञ पढाइ हो। यसलाई चिकित्सा क्षेत्रको 'स्विस आर्मी नाइफ' पनि भनिन्छ। किनकि, एक एमडीजीपी डाक्टरले बच्चाको उपचारदेखि गर्भवतीको शल्यक्रिया (सिजरियन), हाडजोर्नीको प्लास्टर र आकस्मिक सेवासम्मको जिम्मेवारी सम्हाल्न सक्छन्।
अब ग्रामीण नेपाल र काठमाडौं लगायतका सहरी क्षेत्रका विषयमा चर्चा गरौं।
१. ग्रामीण नेपालमा: 'एक व्यक्ति, अनेक जिम्मेवारी'
नेपालका दुरदराजका जिल्ला अस्पतालहरूमा जहाँ मुटु, बालरोग वा स्त्रीरोगका अलग–अलग विशेषज्ञ पुग्न सम्भव छैन, त्यहाँ एमडीजीपी डाक्टरहरू 'भगवान' सरह नै मानिन्छन्।
जीवन बचाउने शल्यक्रिया: डोल्पा, अछाम वा ताप्लेजुङ जस्ता जिल्ला अस्पतालमा आमाको पेटमा बच्चा अड्किँदा वा एपेन्डिक्स फुट्दा तुरुन्तै काठमाडौँ ल्याउन सम्भव हुँदैन। यस्तो बेला एमडीजीपी डाक्टरले नै 'सिजरियन सेक्सन' गरेर आमा र बच्चाको ज्यान बचाउँछन्।
व्यवस्थापकीय नेतृत्व: गाउँमा उनीहरू केवल डाक्टर मात्र होइनन्, अस्पतालको मेसु पनि हुन्। सीमित स्रोत र साधनका बीच अस्पताल चलाउने, जनशक्ति व्यवस्थापन गर्ने र स्वास्थ्य शिविरहरू चलाउने जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ।
रिफरल सिस्टमको सुधार: बिरामीलाई कुन अवस्थामा गाउँमै राख्ने र कस्तो अवस्थामा मात्र सहर पठाउने भन्ने निर्णय गरेर उनीहरूले बिरामीको लाखौँ रुपैयाँ बचाइदिएका हुन्छन्।
२. सहरी क्षेत्र: 'फ्यामिली डाक्टर' को उदय
सहरमा ठूला अस्पतालहरूको भिडभाडमा एमडीजीपी डाक्टरको भूमिका फरक तर उत्तिकै महत्त्वपूर्ण छ।
होलिस्टिक केयर: सहरमा बिरामीहरू टाउको दुख्दा न्युरोलोजिस्ट र पेट दुख्दा ग्यास्ट्रोलोजिस्ट कहाँ धाउँदा हैरान हुन्छन्। एमडीजीपी डाक्टरले बिरामीको समग्र स्वास्थ्य जाँच गर्छन्। उनीहरूले बिरामीको शारीरिक मात्र होइन, मानसिक र पारिवारिक इतिहास बुझेर उपचार गर्छन्।
इमर्जेन्सी विभागको कमान्डर: काठमाडौंका अधिकांश ठूला अस्पतालका इमर्जेन्सी विभागको नेतृत्व एमडीजीपी डाक्टरले गर्छन्। दुर्घटना, हृदयघात वा अन्य आकस्मिक अवस्थामा कुन विशेषज्ञलाई बोलाउने भनेर 'ट्राइज' गर्ने काम उनीहरूको हो।
दीर्घ रोग व्यवस्थापन: प्रेसर, सुगर, थाइराइड जस्ता दीर्घ रोगहरूको नियमित फलो-अपका लागि एमडीजीपी सबैभन्दा उपयुक्त मानिन्छन्।
चुनौती र भविष्य
यति धेरै महत्त्व हुँदाहुँदै पनि एमडीजीपी डाक्टरहरूले नेपालमा उचित पहिचान पाउन सकेका छैनन्। सरकारी दरबन्दीमा उनीहरूको दरबन्दी को कमिलेगर्दा एमडीजीपी डाक्टरहरू विदेश पलायन भइरहेका छन्।
निक साइमन्स इन्स्टिच्युट जस्ता संस्थाहरूले ग्रामीण क्षेत्रमा एमडीजीपी डाक्टर पठाउन प्रोत्साहन गरिरहेका छन्, तर राज्यस्तरबाटै यसको दीर्घकालीन व्यवस्थापन हुन जरुरी छ।
अन्तमा,
नेपालको भौगोलिक विकटतालाई हेर्दा हामीलाई हरेक विधाका अलग–अलग डाक्टरभन्दा, सबै विधाको आधारभूत ज्ञान र सीप भएका एमडीजीपी डाक्टरहरूको खाँचो बढी छ। गाउँको स्वास्थ्य चौकीलाई 'रिफर सेन्टर' बाट 'उपचार केन्द्र' बनाउने हो भने एमडीजीपी डाक्टरहरूको भूमिकालाई कदर गर्नैपर्छ।
-(डा. विश्वराज दवाडी जेनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन नेपालका अध्यक्ष हुन्।)