दैलेख- दुल्लु अस्पताल दैलेखमा रहेको एक मात्र एक्स-रे मेसिन बिग्रिएर केहि समय अगाडिदेखि अवरुद्ध भएको सेवा पुन: सुरु भएको छ।
स्वास्थ्य सेवा निर्देशनालय अन्तरगतको प्रादेशिक बायोमेडिकल एकाईबाट खटिएका बायोमेडिकल प्राविधिकहरुको टोलीले उपकरण मर्मत गरेसँगै आज बुधबारबाट नै एक्स-रे सेवा संचालनमा आएको दुल्लु अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रहिस कोजुले जानकारी दिए।
विगतमा बायोमेडिकल उपकरणहरुमा समस्या आउदा काठमाडौंबाट बायोमेडिकल इन्जिनियर बोलाएर मर्मत गर्दा अस्पताललाई आर्थिक भार पर्ने र समय समेत धेरै लाग्ने गरेकोमा हाल प्रादेशिक बायोमेडिकल एकाईको सहयोगमा न्यून खर्चमा सहज रुपमा उपकरण मर्मत गर्न सम्भव भएको डा. कोजुले बताए।
दुल्लु अस्पतालले जस्तै कर्णाली प्रदेशका सम्पूर्ण सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले उपकरण जडान, संचालन तालिम र मर्मत लगाएतका बायोमेडिकल उपकरणहरुसंग सम्बन्धित सेवाहरु प्रादेशिक बायोमेडिकल एकाई मार्फत नि: शुल्क रुपमा लिन सक्ने एकाईका फोकल पर्सन उत्तम पोखरेलले बताए।
हाल नेपालका सात वटै प्रदेशहरुमा निक साइमन्स इन्स्टिच्युटको सहयोगमा प्रादेशिक बायोमेडिकल एकाईहरु संचालनमा छन्।
