काठमाडौं – राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिका संयोजक श्रीधर खनालले सरकारसँग भएको तीन बुँदे सहमति समयमै पालना नभए पुनः निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मंगलबार राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिद्वारा आह्वान गरिएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। विगत एक महिनादेखि आन्दोलनरत औषधि व्यवसायीहरूले सोमबार साँझ सरकारसँग तीन बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।
संयोजक खनालका अनुसार व्यवसायीहरूले राखेका औषधि ऐन, २०३५ को दफा ११ को उपदफा (३) संशोधन र उपदफा (५) खारेजी गर्नुपर्ने मागका सम्बन्धमा औषधि ऐन, २०३५ सम्बन्धित उपदफाहरूमा प्रचलित कानुनअनुसार संशोधनका लागि आवश्यक प्रक्रियामा अधिकतम ३० दिनभित्र सहजीकरण गर्ने सहमति भएको छ।
त्यस्तै, औषधि व्यवसायी संगठनका कानुनसँग सम्बन्धितबाहेकका माग, (जस्तै पुनः दर्ता लगायतका विषय) औषधि व्यवस्था विभागमार्फत सहजीकरण गर्ने सहमति भएको छ। साथै, औषधि व्यवसायी संघको नेतृत्वमा गठित राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिले १५ मंसिरदेखि आन्दोलनका कार्यक्रम फिर्ता गर्ने सहमति भएको पनि उनले बताए।
नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाका महासचिव शुभमान श्रेष्ठले आगामी ३० दिनभित्र सहमति कार्यान्वयन नभए पुनः कडा आन्दोलन गरिने चेतावनी दिए। औषधि व्यवसायी संगठनका कानुनसँग सम्बन्धितबाहेकका मागहरू समेत पूरा गर्नका लागि बढीमा ३० दिनको समय दिइएको पनि उनले जानकारी दिए।