पुस ३० अपरान्ह ४ बजेर १६ मिनेटमा माइला दाइ सवारी दुर्घटनामा परेको खबर आयो। को माइला दाइ मैले ठम्याइनँ। पछि फोन गर्ने अमृत दाइले नै प्रस्टाए, ‘तपाईंकै ससुरा बा क्या।’ उनले स्थिति गम्भीर भएको जनाउ दिँदै भने, ‘बचाउन गाह्रो छ।’ मलाई भाउन्न भयो तर सम्हालिएँ।
सम्बन्ध र सम्पर्कको भ्रम
ससुरा बालाई काठमाडौँ ल्याउने हेलिकप्टरको खोजीमा लागेँ। चिनेजानेका निजी हेलिकप्टरवालालाई फोन गरेँ। कतिले उठाएनन्, कतिले अबेर भएकाले उडाउन नसक्ने भन्दै निराश बनाए। सेनाका प्रवक्ता तारा सरलाई फोन गरेँ। उनले तत्कालै रेस्पोन्स गरे र कसैको नम्बर दिएर बुझ्न भने। उसले पाँच मिनेट कुर्न भन्यो। मलाई यो पाँच घन्टाभन्दा लामो लाग्यो।
त्यो बीचमा मैले प्रधान सम्पादक (कान्तिपुर दैनिक) सुधीर शर्मालाई फोन गरेर सेनालाई हेलिकप्टरका लागि भनिदिन आग्रह गरे। सरोज अधिकारी र चूडामणि भट्टराई दाइलाई पनि भनेँ। विमानस्थलका सुधिर श्रेष्ठसँग कुरा गरेँ। अँध्यारो भइसकेकाले पठाउन नसकिने खबर आयो। नाइट भिजनका इन्जिन खोलेर राखेको बताइयो।
मैले कसैगरी आपतकालीन उद्धारको जोहो गर्न सकिनँ। घरबाट श्रीमती ताराले रुँदै फोन गरिरहेकी थिइन्। हेलिकप्टरको जोहो गर्न नसकेको उनको गुनासो स्वाभाविकै थियो। पत्रकारितामा आएर कमाएको भनेकै यही सम्बन्ध र सम्पर्क हो भन्ने लाग्थ्यो। त्यो भ्रम पनि टुट्यो।
बालाई दोलखाको गौरीशंकर अस्पतालका डा. विनोदले जाँच गरेर अवस्था खतरामुक्त भएको बताए। पीरको बोझ अलिकति घट्यो। दोलखाबाट थप उपचारका लागि एम्बुलेन्समै काठमाडौँको ट्रमा सेन्टर ल्याइयो। म बाइकमा अस्पताल पुगेँ।
ट्रमा सेन्टरमै कार्यरत डा. विप्लव सापकोटाले घरबाटै ड्युटीमा रहेका डा. लक्ष्मीलाई बिरामी ल्याइँदै गरेको भनेका रहेछन्। आकस्मिक कक्षमा उनको टिम बाको पर्खाइमा रहेछ। हामी जाने बित्तिकै एक्सरे भयो। छातीको करङ भाँचिएको र अन्यत्र केही नभएको भन्ने पत्ता लाग्यो। डा. लक्ष्मीले आफू अर्थोपेडिक्स रहेकाले बाको केस सीटीभीएसले हेर्नुपर्ने बताए र वीर अस्पतालको सिटिइभिएस टिमलाई खबर गरिदिए।
केही छिनपछि दुई जना आए। एक्सरे हेरे। १० वटाभन्दा बढी करङ भाँचिएको जानकारी दिए। फोक्सो बाहिर हावा र रगत जमेको सुनाए। हामीले तत्काल उपचार सुरु गरिदिन आग्रह ग¥यौँ। छातीबाट प्वाल पारेर रगत र हावा निकाल्ने तयारी उनीहरुले गरे। औषधिको व्यवस्था गर्न हामीलाई पे्रस्क्रिप्सन थमाए। कागजमा लेखिएका आधारमा औषधिको जोहो ग¥यौँ।
डाक्टरलाई कम्पनीको पीर
राती २ बजेतिर चेस्ट ट्युब राख्ने तयारी भएको थियो। बिरामीको रगतको समूह समेत परीक्षण भएको थिएन। परीक्षणको रिपोर्ट ३ बजे मात्रै आउने भयो। अचम्म, ब्लडको समूह छुट्याउन पनि एक घन्टा लाग्दो रहेछ। त्यत्रो ट्रमा सेन्टरको ल्याबमा एक जना मात्रै ड्युटीमा थिए। पहिलोपल्ट लगेको रगतको नमुना जमेको भन्दै साढे २ बजे फेरि रगत निकालियो। एक जना नर्स टाउको दुख्यो भन्दै सुत्न गइन्। अरु नर्सलाई त रगत निकाल्ने ट्रेनिङ नै पुगेको रहेनछ। उनीहरुले रगत निकाल्न १० मिनेट लगाए। बाको नाडी त कति घोपे कति ? कहिले नसा पत्ता लागेन भन्थे त कहिले रगत नै आएन भन्थे। रगत जाँचको रिपोर्ट ३० गते बिहान सवा ३ बजेतिर आयो।
सिटिभिएस टिमले चेस्ट ट्युब राख्न थाल्यो। शल्यक्रिया कक्षमा बालाई लग्यौँ। उनीहरुले बालाई हिँड्न आग्रह गरे। करङ भाँचिएको मान्छे कसरी हिँड्छ ? त्यो उनीहरु नै जानून्। बा हिँड्न सक्नुभएन। हामीले दुइटै हात थामेर बल्लतल्ल उभ्यायौँ। पीडाले बाको आँखा सेतै फर्किए। मन आत्तियो। डाक्टरको निर्दयीपन देखेर आक्रोशित पनि भएँ। डाक्टरले लेखेको प्रेस्क्रिप्सनमा चेस्ट ट्युबको ब्याग ‘आरओएमएसओएन’ कम्पनीको लेखेको रहेछ। मध्यराती पसलेले अर्कै कम्पनीको दिएछ।
शल्यक्रिया सुरु गरेपछि डाक्टरले त्यो ब्याग हेरेछ। डाक्टर रिसाए, ‘मैले भनेकै कम्पनीको किन नल्याएको ?’ मैले नपाइएको बताएँ। उनीहरुले जसरी पनि खोज्न भनेँ। वीरको वरिपरिका औषधि पसल छापा मारे पनि भेटिनँ र उनीहरुले भनेको नल्याउँदा अप्ठ्यारो पर्ला भनेर टिचिङ अस्पताल, महाराजगन्ज गएँ। एउटै कम्पनीको दुई खालको ब्याग हुने रहेछ। एउटाको ९५ रुपियाँ र अर्काेको एक हजार ६ सय पर्ने। फेरि अर्काे किन ल्याइनस् भनेर डाक्टर रिसाउला भनेर दुइटै लिएर हिँडे।
चेस्ट ट्युब ब्याग लिएर फर्केपछि डाक्टरको खोजी गरेँ। कोही थिएन। सबै सुत्न गइसके भनियो। इमर्जेन्सीमा खटिएर बस्नुपर्ने डाक्टर कर गरेर बोलाउँदा पनि आएनन्। पछि सुशील नामका डाक्टर आए। उनी एमडी पहिलो वर्षमा अध्ययन गर्दै रहेछन्। अरु डाक्टरले लेखेको विवरण पढे। अरु परीक्षण किन नगरेको भन्दै आत्तिन थाले।
अन्योलमाथि अन्योल
दुर्घटनामा परेको बिरामी इमर्जेन्सीमा आउनेबित्तिकै गर्नुपर्ने परीक्षणमध्ये पाँच घन्टासम्म एक्सरेबाहेक अरु केही भएन। एक्सरेमा करङ र फोक्सोको समस्या देखेपछि अर्थोको टिम हिँडिहाल्यो। इमर्जेन्सीले वीरको सिटिभिएस टिमलाई बोलाइदियो। बिरामी दुर्घटनापछि बेहोस भएको र रगत बान्ता गरेको सुनाएपछि न्युरोको विशेषज्ञलाई पनि देखाउनुपर्ने बताए। तिनले करङले अरु अंग (मुटु, कलेजो, मिर्गौला, आन्द्रा) लाई असर गरेको छ, छैन ? भिडियो एक्सरे गर्नुपर्ने बताए।
यसरी बिहान साढे ४ बजेसम्म पनि केही भएन। अर्काे समस्या, ट्रमा सेन्टरमा रातको समयमा सिटिक्यान र भिडियो एक्सरे हुँदो रहेनछ। ट्रमा सेन्टरका प्रमुख डा. बुलन्द थापा हुन् भन्ने थाहा थियो। उनलाई रुँदै फोन गरेँ। बिरामीको अवस्थाबारे बताएँ। उपचारमा भइहेको ढिलासुस्तीलाई लिएर जंगिएँ पनि। डा. बलन्दले भने, ‘अहिले त म रिटायर्ड भइसकेँ। तर, यतिका करङ भाँचिएको मान्छेलाई तत्काल आइसियूमा राख्नुपर्छ।’ म झन् आत्तिएँ।
डाक्टरको १५ हजार
पत्रकार भएकाले होला, सबभन्दा पहिले स्वास्थ्यसम्बन्धी रिपोर्टिङ गर्ने साथीहरुलाई सम्झिएँ। स्वास्थ्य क्षेत्रमा धेरै वर्ष काम गरेको धाक लगाउने साथीले बिहान ६ बजे २० भन्दा बढी पल्ट फोन गर्दा पनि उठाएनन्। त्यसपछि मात्रै स्वास्थ्य खबरपत्रिकाका साथी अनिल न्यौपाने र नागरिकका दीपक दाहाललाई सम्झिएँ। फोन गर्दा आत्तिएर रोएछु।
फोन गरेको १५ मिनेटमै अनिल अस्पताल आइपुगे। बिरामीको यथेष्ट उपचार भइरहेको नदेखेर उनले डा. विप्लव सापकोटालाई फोन गरे। ट्रमाकै रेसिडेन्ट डाक्टर विप्लवको ड्युटी थिएन। अनिल आफैँ घरमा गएर उनलाई लिएर आए। उनी आएपछि भने केही सहज भयो। भिडियो एक्सरे गरेपछि ८ बजे सिसियूमा भर्ना ग¥यौँ। भर्ना गरेर आइसियूको गेटमा आइपुगेको थिएँ, डा. बिप्लवले पर्स निकालेर १५ हजार रुपियाँ हातमा थमाए। ड्युटी नभए पनि उपचारमा सहजीकरण गर्न आइपुगेका उनले संकटमा त्यसरी सहयोगी मन देखाउँदा लाग्यो, ‘यस्ता नि डाक्टर छन्, राती त्यस्ता नि डाक्टर थिए।’ मलाई कहिल्यै नचिनेका डाक्टरले त्यसरी पैसा सहयोग गर्दा लिन अप्ठ्यारो लाग्यो। उनैले सहजीकरण गरे, ‘सधैँलाई दिएको होइन, आपतको समयमा अप्ठ्यारो पर्न सक्छ राख्नुहोस्।’
आफैँ घाइते ट्रमा सेन्टर
सरकारले ट्रमा सेन्टरको जुन परिकल्पना गरेको थियो, मैले त्यो पाइनँ। विशेषज्ञ चिकित्सक देखिनँ। सबै सेवा २४ सै घन्टा सुचारु हुनुपथ्र्याे, त्यो छैन। भिडियो एक्सरे गर्ने जिम्मेवारी पाएको व्यक्तिले साँचो अरुलाई नदिने रहेछन्। आइसियू निकै संवेदनशील ठाउँ हो। त्यहाँका कुरुवाले प्रयोग गर्ने शौचालय यति फोहोर छ कि बिरामीलाई समस्या पर्ने स्थिति थियो। बिरामीलाई खुवाउने र औषधि लिएर जाने कुरुवाले नै गर्ने हो।
माघ ४ बिहानसम्म बालाई सिटिभिएसको विशेषज्ञ डाक्टरले हेरेकै थिएनन्। आइसियूमा राखिएको थियो। मैले डा. पुकारचन्द्र श्रेष्ठलाई फोन गरेर विशेषज्ञ चिकित्सकलाई भनिदिन आग्रह गरेँ। उनकै आग्रहमा डा. किरण श्रेष्ठ आइसियूमा आएर जाँच गरिदिए। उनले आइसियूबाट क्याबिन वा भीडभाड नहुने बेडमा सार्न सल्लाह दिए। ट्रमामा क्याबिन रहेनछ। पाचौँ तलामा बिरामीको भीडभाडमा लगेर राखेँ। चिसो कोठा थियो। भारतले प्रत्येक तलामा एसीसहित फुल अप्सनको कोठा बनाइदिएको छ। मैले नर्सिङ स्टेसनमा सोधे, ‘एसी किन नचलाउनुभएको ?’ झ्यालमा पर्दा नराखेका कारण एसी नचलेको रे। यो भन्दा गैरजिम्मेवारपन के हुन्छ ?
शौचालयको हालत झन् खराब थियो। सबैतिर जामा थियो। नर्सिङ स्टेसनसम्म दुर्गन्ध फैलिएको थियो। बिरामीलाई अस्पतालले दैनिक खाना, दूध, बिस्कुटलगायतको खानेकुरा दिँदो रहेछ। मेरो बिरामीलाई पनि सोधे, ‘के लिनु हुन्छ ?’ मैले खानेकुरा चाहिँदैन, शौचालय सफा गरिदिनुस् भनेँ।
वीर र ट्रमाको झगडा
वीर अस्पतालमा भनसुनका आधारमा क्याबिन पाएँ। क्याबिन पाएपछि ट्रमाबाट बिरामीको फाइल ल्याउनुपर्ने रहेछ। तर, ट्रमाबाट बिरामी ट्रान्सफर लेखिदिने डाक्टर नै पाइनँ। धेरैबेरपछि डा. रविले ‘ट्रान्सफर टू वीर क्याबिन’ लेखिदिए। त्यसकै आधारमा ट्रमामा उपचार गराएबापतको सबै रकम चुक्ता गरेँ।
फेरि अर्काे झन्झट आइलाग्यो। ट्रमाबाट बिरामी वीर पठाउँदा ट्रान्सफर नभई डिस्चार्ज नै गर्नुपर्ने सर्त तेस्र्याइयो। माघ ५ मा त ट्रमाबाट वीर जानै दिएनन््। ६ गते बिहान पनि डिस्चार्ज लेख्ने डाक्टर नभएर धेरैबेरसम्म कुर्नु प¥यो। यो समस्या मैले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. गणेश गुरुङलाई फोनबाट जानकारी गराएँ। डा. गणेशले कसलाई के भने खोइ? पाँचौँ तल्लाको नर्सिङ स्टेसन बिरामी वीर पठाउन राजी भयो।
वीरमा सारेपछि विशेषज्ञ चिकित्सक सेवा पाइयो। सिटिभिएस विभाग प्रमुख डा. किरण श्रेष्ठले निरन्तर जाँच गरिदिए। ट्रमामा जस्तो बोलाइरहनु परेन। ट्रमा र वीरको झगडाले धेरै सेवाग्राही समस्यामा छन्। दुवै अस्पताल न्याम्सअन्तर्गतकै हुन् भने एकबाट अर्काेमा सहज स्थानान्तरण किन हुन दिइँदैन ?
वार्डमा पनि आइसियूकै शुल्क
वार्डमा माघ ४ देखि ६ गते बिहान ९ बजेसम्म बस्यौँ। ट्रमाको काउन्टरले सबै दिन आइसियूमा बसेको भन्दै १५ हजार रुपियाँ लियो। आइसियूबाट बिरामी वार्डमा सारेको रेकर्ड फाइलमा प्रस्टै थियो। आइसियूको तीन हजार रुपियाँ र वार्डको दुई सय रुपियाँ तिर्नुपर्छ। बिरामी वार्डमा सारेको भनेर बढी तिरेको पैसा फिर्तामा माग्न गएँ तर पाइनँ।
(कान्तिपुर दैनिकका पत्रकार श्रेष्ठसँगको कुराकानीमा आधारित)
(सूचना: सेवाको स्तरोन्नतिका लागि स्वास्थ्य खबरपत्रिकाले यो अभियान चलाएका हो। तपाईंले पनि उपचारका क्रमका आफ्ना भोगाइ लेखेर पठाउन सक्नुहुनेछ।)