काठमाडौं – संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणको विषयलाई लिएर स्वास्थ्य क्षेत्रका विभिन्न पेशागत संघ–संस्थाहरूको असन्तुष्टि सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा विशेष छलफल गरेका छन्।
मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका अधिकारी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूसहभागी छन्। छलफलको मूल उद्देश्य हालै अर्थ मन्त्रालयमा पठाइएको दरबन्दी प्रस्तावबारे उठेका गुनासाहरूको समग्र समीक्षा गर्नु रहेको छ।
स्वास्थ्य सेवा क्षेत्रमा २ हजार १०२ दरबन्दी थप्नेगरी तयार गरिएको उक्त ओएनएम प्रस्तावलाई विभिन्न संघसंस्थाहरूले एकतर्फी र पेशागत सन्तुलन नभएको भन्दै आपत्ति जनाका छन्। यही असन्तुष्टिलाई सम्बोधन गर्दै मन्त्री पौडेलले छलफल गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अनुसार दरबन्दी थप गर्ने फाइल पुन: स्वास्थ्य मन्त्रालयमा फर्किएको छ।
अर्थ मन्त्रालयले स्वास्थ्यलाई विभिन्न ६ वटा विषय प्रष्ट पार्न भन्दै फाइल फिर्ता पठाएको हो। अर्थले मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई पुनरावलोकन गरी पुन:पठाउन भनेको छ।
स्वास्थ्य मन्त्रालयले जेठ २८ गते नयाँ संगठन तथा व्यवस्थापन सर्वे अनुसार मन्त्रालय र मातहतका निकायका लागि २ हजार १ सय २ जना जनशक्ति थप गर्ने सहमति प्रदान गर्ने फाइल पठाएको थियो।