शोभा ढुङ्गानाले नर्सिङ सेवा दिन थालेको ३५ वर्ष भयो । शिक्षण अस्पताल महाराजगञ्जमै नर्सिङ पढेकी उनी त्यही अस्पतालको न्युरो वार्डमा नर्सिङ सुपरभाइजरका रुपमा कार्यरत सिछन् । उनले आफ्नो जीवनकालमा सवै प्रकारका बिरामीलाई उपचार सेवा दिएकी छिन् । तीमध्ये साइक्याट्रिक वार्ड सवैभन्दा चुनौतीपूर्ण लाग्छ भने गरिब बिरामीको सेवामा उनलाई असिम आनन्द मिल्छ । उनले आफ्नो नर्सिङ अनुभव स्वास्थ्यखबरकर्मी सिर्जना खत्रीलाई सुनाएकी छिन्ः
म बाहुनकी छोरी । कक्षा ७ मा पुगेकी थिएँ, बुवाले ‘छोरीको बिहेगरीदिनु पर्यो’ भन्न थाल्नुभयो । त्यो समय सानैमा छोरी अन्माउनु धर्मका रुपमा लिइन्थ्यो । यस्तो सुन्दा मलाई भने धेरै रिस उठ्थ्यो । म रुन्थें । बुवाले मेरो कुरालाई रोइकराई गरेर एसएसी दिएँ । म स्कुल पढ्दा थाहा पाएकी थिएँ, मेरो भानिज दाइकी छोरी भरतपुर अस्पतालमा नर्स हुनुहुन्थ्यो । हामी विदाको दिनपारेर उहाँलाई भेट्न जान्थ्यौँ । नर्सको पहिरनमा उहाँ असाध्यै सुन्दरी देख्थें । उहाँ अस्पतालका सिमेन्टेड भुइँमा ट्वाक–ट्वाक गर्दै हिँडेको आवाज मेरा कानका लागि कुनै संगीत भन्दा कम थिएनन् । कहिलेकाहिँ आमा बिरामी हुँदा घरमा आउनुहुन्थ्यो र आमालाई मायाले औषधि खुवाउनुहुन्थ्यो । त्यही बेला लागेको हो– भविष्यमा म नर्स बन्छु ।
आफ्नै कमाइ मात्रै होइन, चिटिक्कि परेर हिँड्न र अरुको सेवामा समर्पित हुने यो पेशाले यसरी सानैदेखि मोहनी लगायो।
एसएलसी पास गरें तर नर्स कसरी बन्ने ? कहाँ पढ्न पाइन्छ? केही थाहा थिएन । दिदिलाई सोध्न पनि सकनिँ । एकदिन साथीबाट थाहा भयो, काठमाडौँमा स्टाफ नर्सको पढाइ हुन्छ ।
२०४० सालमा म र मेरो स्कुल पढ्ने साथी ज्ञानु कार्की काठमाडौं पुगेर महाबौद्ध चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) पुगेर नर्सिङका लागि फर्म भ¥यौं । पहिलो सूचीमा नाम निस्कियो । पढ्दा पनि रमाइलो लाग्यो । महाराजगञ्ज शिक्षण अस्पतालमा काम गर्दा सवै एकै उमेरका नर्सहरु थियौं । काम गर्दा निकै रमाइलो लाग्थ्यो । विस्तारै सेवा गर्ने लत बस्यो ।
जोखिमपूर्ण साइक्याट्रिक वार्ड
मैले मेरो नर्सिङ जीवनमा सवैजसो वार्डमा सेवा दिएकी छु । सवै खालका बिरामीको उपचारमा संलग्न भएकी छु । सबैभन्दा चुनौतीपूर्ण भने साइक्याट्रिक वार्ड लाग्यो । बिरामीहरु मानसिक अवस्था ठिक नभएका हुन्छन् । बिरामीहरुलाई औषधि खुवाउन पनि निकै मुश्किल पर्छ । हेरबिचार गर्नु पनि उत्तिकै जोखिमपूर्ण हुन्छ । कतिपय अवस्थामा उनीहरु औषधि दिने बेला उल्टै नर्सलाई पिट्न आउँछन् ।
मानसिक समस्या पनि विभिन्न प्रकारका हुन्छन् । तीमध्ये मेनिया भएका बिरामीहरु धेरै उत्तेजित हुन्छन् । आफूलाई संसारका सबैभन्दा बलवान ठान्छन् । अन्य मानिसलाई भुसुना जस्तै देख्छन् । मेनिया भएका बिरामीहरुले बिमारीले धेरै च्यापेको अवस्थामा औषधिले पनि काम गर्दैन, त्यसैले उनीहरुलाई थाम्न मुश्किल पर्छ । बिरामीलाई त्यस्तै छोड्नु पनि हुँदैन । उनीहरु अर्को बिरामीमाथि यौन दुव्र्यवहारसमेत गर्न सक्छन् । कतिपय अवस्थामा बसिराखेको बेला पनि पछाडीबाट आएर पिट्छन् । उनीहरुलाई आफू के गरिरहेको छु होश हुँदैन।
धेरै समय न्युरोमा
सबैभन्दा धेरै समय बिताएको भने मैले न्युरो वार्डमा हो । न्युरोका बिरामीहरु लामो समयसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ । त्यसैले न्युरोका बिरामी र उनीहरुका आफन्तहरुसँग नर्सहरुको सम्बन्ध पनि परिवारका सदस्य जस्तै भइसक्छ।
नर्स भइसकेपछि धनीगरिब सबैको हेरविचार गर्नु पर्छ । एउटा बिरामीको रुपमा हामी उपचारमा कुनै विभेद गर्दैनौं । व्यक्तिगत रुपमा मलाई गरिब बिरामीको सेवा गर्दा आनन्द मिल्छ । किनभने उनीहरुका लागि अस्पतालमा हामी निर्विकल्प विकल्प हुन्छौं । यसबाहेक अस्पतालमा घरेलु हिंसा पीडित महिलाहरु पनि आइपुग्छन् । उनीहरुको उपचार गरेर उद्धारमा समेत सहयोग गर्ने गरेकी छु । अस्पताल भर्ना हुनेगरी चोटग्रस्त उनीहरुलाई सहेर नबस्न सु्झाउँछु । आफ्ना लागि आफैंले आवाज उठाउन बल दिने गरेकी छु।
नबिर्सिने त्यो घटना
मैले मेरो नर्सिङ करियरमा धेरै घटना भोगेदेखेकी छु । त्योमध्ये एउटा घटना कहिल्यै बिर्सिन सक्दिनँ । मैले गर्दा आफूले नयाँ जीवन पाएको उनले बताएकी थिइन् । म स्वयम्भूमा बस्दाको घटना हो । एकजना बहिनी थिइन्, उनी शेर्पा केटासँग आफै बिहे गरेर आएकी रहेछिन्।
प्रेम विवाह भएपनि उनका श्रीमानले उनलाई जहिल्यै पिट्ने रहेछन् । उनी हरेक बिहानजसो चोटग्रस्त हुन्थिन् । म प्राथमिक उपचार गरिदिन्थें । त्यही समय मलाई भनिरहन्थिन्, ‘ दिदि मैले दुःख पाएँ । बुढाले जहिलेपनि रक्सी खाएर आउँछ र मलाई पिट्ने गर्छ । केही काम खोजिदिनुभए हुन्थ्यो ।’ मेरो भाउजुको दिदिले होटल खोल्नुभएकोे थियो । नयाँ बजारमा शिला दिदिलाई भनेर उनलाई काममा लगाइदिएँ तर उनको श्रीमानले थाहा पाएर त्यहाँबाट फर्काएर आफ्नो घर लगे । पछि उनका श्रीमान आफु विदेश गए ।
उनका श्रीमान् विदेश गइसकेपछि ती बहिनी फेरि होटलमा काम गर्दै भाषा सिकेर विदेश जान तयार भइन् । तर म्यानपावरमा ४ लाख रुपैयाँ बुझाउनुपथ्र्यो । उनीसँग त्यति पैसा थिएन, त्यसैले उनकी छोरी पर्नेले एक लाख पैसा दिइन्, मैले साढे ३ लाख रुपैयाँ दिएँ ।
मलाई एक पीडितको उद्धार गर्न त्यति खर्च भए पनि होस् भन्ने थियो । तर, उनी यति इमान्दार रहिछिन् कि कमाएपछि सवै पैसा फिर्ता गरिदिइन् । अहिले पनि नेपाल आएको बेला भेट्न आउँछिन् । भनिरहन्छिन्, ‘तपाईले उद्धार नगरेको भए म अहिले पनि श्रीमान्को पिटाइ खाएर बस्नुपथ्र्यो । अहिले उनको कमाइ राम्रो छ । जीवन पनि सुखमय बितिरहेको छ । उनलाई उद्धार गरेर जीवनको राम्रो काम गरेजस्तो लाग्छ मलाई पनि।
चित्त दुख्ने कुरा
हामी आफ्नो बलबुताले भ्याएसम्म रातदिन नभनी बिरामीको सेवामा खटिन्छौं । अस्पतालमा आएका बिरामी सधैं निको भएर घर फर्किन्छन् भन्ने हुँदैन । कतिपय अवस्थामा अनेक कारण बिरामीको जटिल स्वास्थ्य, प्राविधि गडबढी वा मानवीय कमजोरीले बिरामी कतिपय अवस्थामा अस्पताल प्रशासनको प्राविधिक कमजोरी वा डाक्टरको गल्ती हुन्छ । तर, हरेकपल्ट दोष नर्सले खेप्ने गरेका छौं । यस्ता घटनामा नर्सलाई दोषि देखाउँदा हाम्रो पेशाको छवी बिग्रिएको छ । केही भयो भने डाक्टरहबोल्छन् र उहाँहरुका कुराको सुनुवाई हुन्छ तर हाम्रो कुराको सुनुवाई पनि हुँदैन । नर्सिङ पेशामा महिला मात्रै भएकाले होला, धेरैले हेपिएर बस्नुपरेको छ।