तारा पोखरेल, स्याङ्जाको दुर्गम गाउँ कालीगण्डकीमा जन्मेकी हुन्। उनी ९ वर्षको उमेरमा पहिलोपटक विद्यालय गएकी थिइन्, जहाँ स्कुल जाने पहिलो केटी मान्छे पनि उनी नै थिइन्। नेपालगञ्जबाट अनमीबाट आफ्नो यात्रा सुरु गरेकी पोखरेल, नेपाल नर्सिङ काउन्सिल तथा नर्सिङ एसोसिएसन नेपालकी अध्यक्ष, महाराजगञ्ज नर्सिङ क्याम्पसकी नर्सिङ चिफ तथा एसोसिएट प्रोफेसर समेत भइसकेकी छिन्। उनी नेपालको नर्सिङ शिक्षाको विकास, अभ्यास र नीति निर्माणमा सक्रिय योगदान गरेकी व्यक्ति हुन्। स्वास्थ्य खबर 'वियोन्ड द नाइटिंगेल: नर्ससँग अन्तरंग' पडकास्ट शृंखलामा उनले राखेका मुख्य विचार :
नर्सिङ क्षेत्रमा देखिएका प्रमुख समस्या
१.आर्थिक शोषण र ब्रेन ड्रेन
नर्सिङ अध्ययनमा लाखौँ खर्च भए पनि सरकारी रोजगारी सहज छैन। निजी अस्पतालमा तलब न्यून (सुरुमा ७–८ हजार, पछि १२–१८ हजार) हुने भएकाले यो शोषणकै रूप हो। यही कारणले धेरै नर्सहरू विदेश पलायन भएका छन्।
२.नर्सिङलाई सम्मान र सहयोगको अभाव
नर्सहरूको चुनौतीपूर्ण र व्यस्त कामलाई समाजबाट आवश्यक सम्मान प्राप्त भएको छैन। यस्तो वातावरणले पेशामा मनोबल घटाएको छ।
३.कार्यसमय र कार्यभारको असन्तुलन
नियमित रूपमा ८ घण्टा काम गर्ने नीति भए पनि नर्सहरू १२ घण्टा वा सोभन्दा बढी काम गर्न बाध्य छन्। यसले नर्सहरूको व्यक्तिगत जीवनमा समेत असर पुर्याएको छ।
४.नीतिगत कमजोरीहरू
नर्स-बिरामी अनुपात अनुसार मापदण्डको अभावले सेवा गुणस्तरमा असर पारिरहेको छ।
सरकारका नीति तथा नियम प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन्।
एमएससी नर्सिङ गरेर विदेशबाट फर्किएका नर्सहरूलाई सेवामा पुनः प्रवेश गर्न नीति अपारदर्शी छ।
नर्सिङ शिक्षाका लागि आवश्यक पूर्वाधार (भवन, प्रयोगशाला, क्याम्पस) अभाव छ।
५.संस्थागत चुनौती
नर्सिङ एसोसिएसनको स्थायी भवन बनाउन आर्थिक कठिनाइ छ। संस्थागत सशक्तीकरण अभावले नेतृत्व कमजोर देखिएको छ।
सुधारका लागि तारा पोखरेलका सुझावहरू
तलब वृद्धि र शोषण न्यूनीकरण: नर्सहरूको न्यूनतम तलब सुनिश्चित गर्दै निजी क्षेत्रको शोषण रोक्न स्पष्ट नीति बनाइनुपर्छ।
कामको घण्टा व्यवस्थापन: कार्यसमय ८ घण्टामा सीमित गर्दै कामको बोझ न्यूनीकरण गर्न आवश्यक छ।
मापदण्डअनुसार सेवा प्रणाली: नर्स-बिरामी अनुपात अनुरूप सेवा दिने मापदण्ड लागू गर्नुपर्छ।
सशक्त नेतृत्व: नर्सिङ नेतृत्वलाई सशक्त बनाउँदै नीति निर्माण प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ।
नर्सिङ शिक्षामा लगानी: शिक्षाका लागि छुट्टै पूर्वाधार, योग्य प्रशिक्षक र पर्याप्त स्रोतहरू सुनिश्चित गरिनुपर्छ। एमएससी र पीएचडी अध्ययनका अवसर नेपालमै बढाइनुपर्छ।
प्रकोप व्यवस्थापन तालिम: नर्सहरूलाई विपद् व्यवस्थापनका लागि आवश्यक सीप र परामर्श दिन सक्ने क्षमता विकासका तालिम दिनुपर्छ।
पुरुष नर्सहरूको समावेश: अन्तर्राष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि पुरुष नर्सहरूको सहभागिता बढाउन नीति निर्माण गरिनुपर्छ।
समाज र राज्यको सकारात्मक दृष्टिकोण: नर्सिङ पेशालाई सम्मानित बनाउन सामाजिक र सरकारी समर्थन आवश्यक छ। युवा पुस्तालाई आकर्षित गर्न पेशामा दीर्घकालीन अवसर र प्रोत्साहन दिइनुपर्छ।
तारा पोखरेलको अनुभव र दृष्टिकोणले नेपालको नर्सिङ क्षेत्रमा सुधारको स्पष्ट खाका प्रस्तुत गर्छ। यो पेशा केवल सेवामुखी नभई, नीतिगत रूपमा सशक्त बनाइनुपर्ने आवश्यकता उनले औंल्याएकी छन्।
नर्सहरूलाई सम्मान, अवसर र अधिकार सुनिश्चित गर्ने दिशामा राज्य र समाजले सामूहिक रूपमा कदम चाल्नुपर्छ।