नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड घटेको थियो राजदरबारको 'अति सुरक्षित' स्थलमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।
यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि, नेपाल सो समितिमा बसेनन्। उनले राजिनामा दिएका थिए।
बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले तीन दिन समय दिइएकाे थियो। पछि फेरि ४ दिन थपिएको थियो।
समितिले सम्पूर्ण प्रतिवेदनलाई तीन भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो।
तर समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन्। स्वास्थ्यखबरले सोही प्रतिवेदनको हस्तरेखा परीक्षण र विशेषज्ञको रायलाई जस्ताकाे त्यस्तै यहाँ प्रस्तुत गरेको छ।
हस्तरेखा परीक्षण र विशेषज्ञको राय
घटनास्थल नारायणहिटी राजदरवारमा रहेका वन्दूक समेतका हातहतियारमा कुनै औंठाको छाप, हस्तरेखा आदि फेला परे सोलाई विधि विज्ञानको प्रविधि र तरिका बमोजिम संकलन गर्न र वैज्ञानिक परीक्षण गराउनका लागि २०५८।२।२६ गते घटनास्थलको अवलोकन गर्न जाँदा केन्द्रिय प्रहरी वैज्ञानिक प्रयोगशाला, औंठाछाप महाशाखा, काठमाण्डौका प्रहरी उपरीक्षक डम्वरप्रसाद लिम्बु समेतको टोलीलाई घटनास्थलमा लगिएको थियो।
घटनास्थलको सुक्ष्म अध्ययन, अवलोकन गरी सो स्थानमा पाइएका विभिन्न हातहतियार तथा वस्तुहरुमा Chance Print खोजी गर्ने कार्य समेत भयो। यसपछि पुनः २०५८।२।२८ मा समेत विशेषज्ञ सहितको टोली घटनास्थलमा गई घटनास्थलमा प्राप्त मेग्जीनहरुमा Chance Print खोजी गर्ने कार्य गरियो। यसरी संकलित समस्त Chance Print Investigation गराउँदा केन्द्रिय प्रहरी वैज्ञानिक प्रयोगशाला, औंठाछाप महाशाखाका रेखा विशेषज्ञ प्रहरी उपरीक्षक डम्बरप्रसाद लिम्बुबाट देहाय बमोजिमको राय प्राप्त हुन आएको छ।
विशेषज्ञको रायः
१. नारायणहिटी राजदरवारको ए.डि.सी. कार्यालयबाट भित्र प्रवेश गर्दा बायाँपटिृ रहेको त्रिभुवन सदनको दक्षिणतिरको ढोकाको बाहिरी दायाँ किनारामा भेटिृएको ९ एम.एम १९x११ उल्लेख भएको एच.के. ५ एस.एम.जि.– ९ एम.एम. को मेग्जीनमा चान्स प्रिन्ट डेवलप (Chance Print Develop) गर्न टोकियो जापानको एस.के. कम्पनीको सेतो (Latent Fingerprint Developing White Powder) पाउडर, केमल हियर ब्रुस (Camel hair brush) रेविट हियर ब्रुस (Rabbit hair brush) प्रयोग गरी डेवलपिङ्ग (Developing) गरेर चान्स प्रिन्ट खोजी गरी हेर्दा उल्लेखित मेग्जीनमा मधुरो औंठाछाप देखिए तापनि त्यहाँ भएको रेखाका गुण (Ridge Characteristics) हरू विशेषज्ञद्वारा राय दिनलाई चाहिने आवश्यक संख्यामा प्रष्ट रुपले नदेखिएको हुँदा एकिन राय दिन नमिल्ने,
२. त्रिभुवन सदन हलभित्र रहेको विलियर्ड वोर्डसंगै भुईमा रहेको एच.के. ५ एस.एम.जि. ९ एम.एम.को १९x१६ मेग्जीनमा समेत उक्त विधि अपनाएर चान्स प्रिन्ट खोजी गरी हेर्दा उल्लेखित मेग्जीनमा केही औंठाछापका रेखा (Ridges) हरू मात्र देखिएका र औंठाछापको जात (Fingerprint Pattern) सम्म पनि प्रष्ट रुपले छुट्याउन सकिने अवस्थामा नरहेको हुनाले यकिन राय दिन नमिल्ने,
३. उक्त ९ एम.एम. १९x१६ मेग्जीन संगै रहेको एच.के. ५ एस.एम.जि. ९ एम.एम. को मेग्जीनमा साविक विधि अपनाएर खोजी गर्दा कुनै चान्स प्रिन्ट नभेटिएको, ४. उक्त एच.के. ५ एस.एम.जि. ९ एम.एम. मेग्जीन संगै रहेकोएस.एम.जि. सव मेशिन गनमा समेत साविक विधि अपनाएर खोजी गर्दा कुनै चान्स प्रिन्ट नभेटिएको,
५. सोही एस.एम.जि. मेशिन गन नजिकै रहेको Glock-9mm पिस्तोलमा साविक वमोजिम विधि अपनाएर खोजी गर्दा कुनै चान्स प्रिन्ट नदेखिएको,
६. सोही वमोजिम त्रिभुवन सदनबाट पूर्वतिर मुख्य ढोका बाहिर वरण्डामा रहेको एम.१६ – ए. २ कमाण्डो राइफलको मेग्जीन,
७. त्रिभुवन सदनबाट पूर्वतिर मूल ढोकाबाट ८/१० कदम अगाडी बायाँपटिृ दुवोको चौरमा रहेको १२ वोर सट गन,
८. उक्त १२ वोर सट गनदेखि ४/५ कदम पूर्व उत्तरतिर सोही चौरभित्र रहेको एम. १६ ए. २ कमाण्डो राईफल,
९. उक्त एम. १६ ए. २ कमाण्डो राईफलदेखि पूर्व–उत्तर १०/१२ कदमको टाढा पुल पारीपटिृ दायाँतिर पानीभित्र किनारामा रहेको Glock पिस्तोल ९ एम.एम. समेत हतियार र उल्लेखित बुँदा ६ को मेग्जीन र बुँदा ७ को १२ वोर सट गन र बुँदा ८ को एम. १६ ए. २ कमाण्डो राईफलमा समेत साविक वमोजिम विधि अपनाएर खोजी गर्दा कुनै चान्स प्रिन्टहरू नभेटिएको,
१०. स्व. श्री ५ महाराजाधिराज दीपेन्द्र सरकारको निवास भवन प्रवेशद्वारभित्र माथि कोठामा जाने भर्याङ्गको रेलिङ्ग समेतमा साविक वमोजिमको विधि अपनाएर खोजी गर्दा कुनै चान्स प्रिन्टहरू नदेखिएको,
११. त्रिभुवन सदनको पूर्वतिरको मूल ढोकाको बाहिरी नजिकै बायाँपटिृ दुवोको झारभित्र रहेको एच.के. ५ एस.एम.जि. ९ एम.एम. को मेग्जीनलाई, र
१२. त्रिभुवन सदनको पूर्वी मुख्य ढोकाबाट सोझै ८/१० कदम अगाडि दायाँतिर चौरको लामो लामो झारभित्र रहेको एम.१६ – ए.२ कमाण्डो राईफलको मेग्जीन समेतलाई साविक वमोजिमको विधि अपनाएर खोजी गर्दा कुनै चान्स प्रिन्ट नभेटिएको ।
उपरोक्त अनुसारको रायका साथै माथि प्रकरण १ र २ मा उल्लेखित घटनास्थलमा भेटिएका मेग्जीनहरुमा देखिएका Chance Print र Chance Print का रेखाहरुलाई सोझै फोटो खिची Develop गरी ५x७ साईजमा ईन्लार्ज गरिएको फोटो थान– दुई समेत उच्चस्तरीय समितिमा प्राप्त हुन आएको देखियो ।
विशेषज्ञको रायबाट देखा परेको परिणामः
घटनास्थलमा फेला परेका (प्रयोग भएका र प्रयोग नभएका समेतका) बन्दूक एवम् मेग्जीनहरुमा हस्तरेखा (Finger Print) का Chance Print हरु प्रष्ट रुपमा कुनै फेला पर्न नसक्नुबाट सो हातहतियारको प्रयोगकर्ताले हातमा पञ्जा जस्ता चिजवस्तु लगाएको तथ्य समर्थित हुन्छ।