२०८१ माघ महिना तिर २२ वर्षका युवक उपचारका लागि जिल्ला अस्पतालमा गाउँलेले ल्याएर आए, उक्त बिरामीको कलेजोको पानिको फोका फुटेर शरीरमा संक्रमण फैलिएपछि थप उपचारका लागि रिफर गर्नुपर्ने भयो। लामो समयदेखि हवाईजहाज आएको थिएन, बुझ्दा आउँदैन भन्ने भयो, गाडीबाट पठाउँदा ९ देखि ११ घण्टा एम्बुलेन्सले कम्तिमा लगाउने गर्छ।
अझ त्यो माथि गाडिमा सलाईन पानि जाँदैन तैपनि उनलाई एम्बुलेन्समा पठायौँ तर उपचारका लागि सम्बन्धित अस्पतालमा नपुग्दै बाटैमा मृत्यु भयो उनै युवकको। केही महिना पहिले एउटा नम्बरबाट फोन आयो बच्चामा देखिएको समास्या सुनाए अनि दुनै ल्याएर आउन भन्यौं, १५ दिनको बच्चालाई अस्पतालमा पहेलो शरिर छ भनेर उपचारका लागि आमा बुवाले ल्याएर आउनुभयो। हेर्दा बच्चा पूरै पहेँलो थिए, रगत जाँचेर हेर्दा जण्डिसको मात्रा ४० एमजी/डीएल थियो, अर्थात् बच्चाको रगत नै साट्नु पर्ने अवस्थामा थियो, साथै बच्चाको रगतमा संक्रमण पनि देखाएको थियो। एम्बुलेन्स खोजेर नेपालगंज पठायौं, दुनैबाट दिउसो ३ बजे हिडेको राति ३ बजे नेपालगंज पुगे। एउटा निजी अस्पतालमा राम्रै खर्च गरेर उपचार गरे अहिले बच्चा ठिक भएर डोल्पा फकिर्यो।
अघिल्लो वर्ष बाटोबाट खसेर मेरुदण्डमा चोटलागेको बिरामिलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रिफर गर्यौंड। तर आर्थिक अवस्था कमजोर भएका कारण एम्बुलेन्सको भाडा पनि तिर्न नसक्ने भए। स्वास्थ्य कार्यालयको एम्बुलेन्स अर्को बिरामी बोकेर नेपालगंज गएको थियो, दुनैमा भएको एम्बुलेन्सले बिना पैसा बोक्न नमान्ने, उपचारका लागि यातायातको रकम जोर्न नसकेर बिरामिको ३ दिन पछि मृत्यु भयो।
केही समय पहिले मिति ठ्याक्कै याद भएन, माथिल्लो डोल्पाका शेफोक्सुण्डो गाउँपालिकाबाट एकजना बृद्ध जसको एक्कासी शरीर सुन्नियो । 'खाना खान मान्दैन, ज्वरो आएको छ' भनेर उपचारका लागि सल्लाह माग्न सम्पर्क गरे। त्यहाँका स्वास्थ्यकर्मीसँगको कुरा पछि उक्त बृद्ध 'बा'लाई थप उपचार चाहिने र त्यसका लागि जति सक्दो चाँडो तल झानुपर्छ भन्ने भयो। उपचारका लागि गाउँपालिका र उनको परिवारले करिब ८ लाख खर्च गरेर राजधानी लानुभयो। त्यहाँ केही दिनको सामान्य उपचार गरि निको भएर फर्कनुभयो।
केही समय पहिले २ वर्षको बच्चामा कालाजार देखियो, थप उपचार र जाँचको लागि नेपालगंज वा सुर्खेत लानुपर्ने भयो । अस्पतालबाट नेपालगंज भेरी अस्पतालमा कुरा गर्यौं, त्यहाँ सामाजिक सेवा एकाईबाट नि:शुल्क उपचारको व्यवस्थ गरायौं तर यातायात खर्च र अन्य खर्च थिएन बाआमासँग। बा २१ वर्ष आमा १७ वर्षकी थिइन्।
माथिका यी दृष्य केहि उदाहरण मात्र हुन्, जुन हामि चिकित्सकको सम्पर्कमा मात्र आएका हुन्। यस्ता उदाहरण धेरै छन्। राज्यले स्वास्थ्यमा लगानी नै नगरेको पक्कै होइन तर जति लगानी गरेको छ, त्यसको प्रतिफल आउन सकेको छैन। कतै राज्यले नै खुम्चाउदा जनताले समस्यामा परेको बेला उपयोग गर्न सकेका छैनन्।
राज्यले लागु गरेको गर्भवति तथा सुत्केरी आमाहरुको हवाई उद्धार सम्बन्धि कार्यक्रम डोल्पा जस्तै दूरका आमाहरुका लागि वरदान साबित भएको छ। माथिल्लो डोल्पाको साल्दाँग होस् या त दुनै अस्पतालमा उपचार सम्भव नभएको ज्यान जोखिममा परेका आमाहरुले बेलैमा विशेषज्ञ उपचार पाउन सकेका छन्। यो सुविधा आमाहरुका लागि वरदान सावित भएपनि यही सुविधाको दायरा खुम्चिदा कैयौंले ज्यान गुमाउनु परेको छ। माथिको केही उदाहरणहरु पनि त्यस्तै हुन्। डोल्पा जिल्ला हाल पनि सडक बाटोको यात्रा सहज छैन।
नेपालगंज अथवा सुर्खेत पुग्न १२ घण्टासम्म लाग्छ भने साथै बर्खामा ९-१० ठाउँ गाडी परिवर्तन गर्दै जाने गर्नुपर्छ। जसको प्रत्यक्ष मार सिरियस बिरामीहरुलाई पर्ने गरेको छ। जसरी राज्यले ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धि कार्यविधि २०७७ लागु गरेर तोकिएका निश्चित जिल्ला छन्। त्यहाँ यो सुविधाले नवजात शिशु तथा मातृ मृत्युदरलाई कम गर्न सहयोग गरेको छ तर कहिलेकाहिँ यो कार्यविधिमा उल्लेख गरेको भन्दा फरक किसिमले आउने गर्भवति तथा सुत्केरी आमाहरुको समयमा उद्धार हुन नसक्दा ज्यान गएको छ। अझ यस कार्यविधिमा उल्लेख भएको बच्चा जन्मेको २४ घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर श्वास फेर्न समस्या भएमा उद्धार गर्न मिल्ने भनिएको छ तर जन्मजात जण्डिस भएको २ दिनको नवजात शिशुलाई एम्बुलेन्सबाट सुर्खेत लग्दा बाटैमा मृत्यु भएको तितो अनुभव पनि छ।
यो कार्यविधिलाई हुबहु आत्मसाथ गर्ने हो भने एउटा गर्भवती आमालाई हेलिउद्धार गर्नका लागि स्थानीय तहदेखि प्रशासनसम्मको सिफारिस चाहिन्छ, उपल्लो डोल्पा जस्तै फोनको टावर राम्ररी नटिप्ने ठाउँ परे त झन् यो सुविधा प्राप्तिका लागि प्रशासनसम्म पनि पुग्न पाउँदैनन्। केही समय अगाडि हेलिको लागि आवश्यक सिफारिस तयार गर्दागर्दै गर्भवति आमाले बच्चा जन्माएर अत्यधिक रक्तश्राव हुँदा जेनतेन जोगाउन सकिएको अनुभव पनि छ। तर गर्भवति आमाहरुको लागि राज्यले दिएको यो सेवाकै कारण कैयौँ ज्यान जोगिएको छ।
दूरका जिल्ला जहाँ यातायातको सुविधा राम्रो छैन, जहाँ स्वास्थ्य सुविधा राम्रो छैन, त्यहाँ आकस्मिक रुपमा सिरियस भएका बिरामिको लागि पनि यसरी नै उद्धार गर्ने व्यवस्था गर्ने कि? बरु हालका लागि त्यस्ता सिरियस बिरामिको उद्धार सेवा जिल्ला अस्पतालबाट मात्र गरेर हेर्ने कि? कहिलेकाहिँ पर्याप्त जनशक्त्ति र अन्य सुविधाको अभावका कारण पनि बिरामीलाई रिफर गर्नुपर्छ, उपचार भन्दा पनि यातायात खर्च बढी हुन्छ। त्यस्तो अवस्थामा पनि सहयोग हुने गरी राज्यले केही पहल गरिदिए दूरका जटिल बिरामीले अकालमै मर्नु पर्ने थिएन !
सरकार राजधानीमा उपलब्ध स्वास्थ्य सेवा हेरेर अन्य विकसित राष्ट्रसँग दाँजेर गुणस्तरीय स्वास्थ्य सेवातिर हामी अघि बढिरहेको महशुस गरिरहेको छ। बिडम्बना आज पनि सामान्य औषधि र यातायातको अभावमा मान्छे मरिरहेको कुरा भने बिर्सिएको छ। एक हदसम्म अमेरिका र काठमाडौं उपलब्ध स्वास्थ्य सेवाको अवस्था उस्तै छ तर यही देश भित्रको डोल्पा जस्ता दुर्गम जिल्लाका जनता आज पनि सिटामोल खोज्दै बस्न बाध्य छन्। तसर्थ यो देशको सरकारसँग एउटै माग छ, दुर्गमका गर्भवती तथा सुत्केरी आमालाई जसरी उद्धार गरिरहेको छ, त्यसरी नै आकस्मिक जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई पनि नि:शुल्क हवाई उद्धारको व्यवस्था गरिदिनु पर्छ। सरकारले यत्ति सुविधा दिने हो भने कैयौंको ज्यान अकालमा जाने थिएन।