पृष्ठभूमि
बाल तथा मातृ मृत्यु दर घटाउने विशिष्ट लक्ष्यसहित सञ्चालनमा रहेको राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा पर्ने कार्यक्रम हो। खोप सेवाको प्रभावकारिताका कारण विफर रोगको उन्मूलन भएपछि वि.सं. २०३४ सालदेखि नेपालमा विस्तारित खोप कार्यक्रम (ईपीआई) सुरु भएको हो।
प्रारम्भमा तीन जिल्लामा बीसिजी र डिपिटी (४ एन्टिजेन) खोपबाट सुरुवात गरिएको यो कार्यक्रम अहिले देशभरका बालबालिका, किशोरी तथा गर्भवती महिलाहरूलाई लक्षित गरी १४ प्रकारका खोप (एन्टिजेन) राष्ट्रिय खोप तालिका अनुसार प्रदान गर्दै आएको छ।
खोप अत्यधिक चिसो वा तातो तापक्रममा दुवै अवस्थामा विग्रने भएकाले यसको प्रभावकारिता कायम राख्न उत्पादन स्थलदेखि खोप सेवा दिने स्थानसम्म निश्चित तापक्रममा ढुवानी गर्नु अत्यावश्यक हुन्छ। गुणस्तरीय खोप सेवाका लागि कोल्डचेन कायम गर्नु र खोप तथा खोपजन्य सामग्रीहरूको आपूर्ति व्यवस्थापन प्रणालीलाई सुदृढ गर्नु राष्ट्रिय खोप कार्यक्रमको एक महत्वपूर्ण उद्देश्य हो।
यसका लागि जिल्ला स्तरमा जनस्वास्थ्य कार्यालयहरूलाई खोप भण्डारण र ढुवानीको जिम्मेवारी तोकिएको छ। तर, अधिकांश जिल्लामा स्थानीय तहसम्मको ढुवानी कार्यालय सहयोगीहरूले सार्वजनिक सवारीसाधन वा भरिया प्रयोग गरेर गर्ने गरेका छन्, जसले खोपको गुणस्तरमा नकारात्मक असर पार्ने सम्भावना बढाउँछ।
अध्ययनहरूले देखाएका छन् कि खोप पूरा गरेका करिब २१% बालबालिकामा रोग देखिनुको प्रमुख कारण खोप कोल्डचेनको गुणस्तर कमजोर हुनु हो। यही समस्यालाई दृष्टिगत गरी झापा जिल्लाले विगत तीन वर्षदेखि आफ्नै सवारीसाधन प्रयोग गरी प्राविधिक कर्मचारीसहितको टोलीबाट स्थानीय तहसम्म खोप, खोपजन्य सामग्री तथा अन्य अत्यावश्यक औषधि ढुवानी गर्दै आएको छ।
मुख्य सामग्री
नेपालमा खोप भण्डारणभन्दा ढुवानीका क्रममा गुणस्तर ह्रास हुने सम्भावना चार गुणासम्म बढी हुने तथ्य रहेको छ। हाल नेपालमा जिल्ला खोप भण्डारसम्म ढुवानीका लागि रेफ्रिजेरेटर भ्यान वा स्वास्थ्य आपूर्ति केन्द्रले आफ्नै वा भाडाको गाडी प्रयोग गर्छन्।
तर जिल्ला स्तरबाट स्थानीय तहसम्म ढुवानी गर्न जिम्मेवारी र बजेट उपलब्ध भए पनि धेरैजसो ठाउँमा कार्यालय सहयोगीहरूले नै ढुवानी गर्दै आएका छन्। ती सहयोगीहरूमा प्राविधिक ज्ञानको अभाव छ, र उनीहरूले सार्वजनिक सवारीसाधन वा पैदल नै ३५–४५ डिग्री सेल्सियस तापक्रममा, कहिलेकाहीँ वर्षा र हावाहुरीमा समेत लामो दूरी पार गर्दै खोप ढुवानी गर्ने गरेका छन्। यसरी असुरक्षित ढुवानीले खोपको गुणस्तरमा नकारात्मक असर पार्ने तथ्य प्रमाणित छ।
यस अवस्थालाई गम्भीरतापूर्वक लिएर स्वास्थ्य कार्यालय झापाले विगत तीन वर्षदेखि सरकारी सवारीसाधन (पहिले भाडाको गाडी) प्रयोग गर्दै प्राविधिक कर्मचारीको प्रत्यक्ष संलग्नतामा तोकिएको तालिका अनुसार सुरक्षित ढुवानीको अभ्यास सुरु गरेको छ। यस क्रममा आकस्मिक माग भएका औषधि, परिवार नियोजनका सामग्री र क्षयरोगका औषधिहरू पनि सँगै ढुवानी गर्न सहज भएको छ।
ढुवानीका क्रममा एक जना कोल्डचेन प्राविधिक पनि सँगै खटिने भएकाले स्थानीय तहका खोप भण्डारहरू (सब-सेन्टर वा खोप वितरण केन्द्र) को नियमित अनुगमन, अनसाइट कोचिङ र पृष्ठपोषण हुँदै आएको छ। यसले स्थानीय तहका कर्मचारीको क्षमता विकास, जिम्मेवारीबोध र अपनत्वमा सुधार ल्याएको छ। परिणामस्वरूप खोप गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ।
यस पहलपछि झापाका दमक, शिवसताक्षी, कनकाई, बिर्तामोड र मेचीनगर नगरपालिकामा स्थानीय तहकै व्यवस्थापनमा एक महिनासम्म खोप भण्डारण गर्न सकिने पावर ब्याकअपसहितको कोल्डचेन प्रणाली विकास गरिएको छ। अन्य स्थानीय तहहरूले पनि सेसनपछि बाँकी खोपलाई भ्याक्सिन क्यारियरमा सहजै अटाएर जिल्ला खोप भण्डारमा फिर्ता गर्ने प्रणाली अवलम्बन गरेका छन्।
यी सबै अभ्यासले खोप तथा खोपजन्य सामग्रीको सुरक्षित ढुवानी, भण्डारण र फिर्ता प्रणाली सुधारिएको छ। साथै, मासिक रूपमा अन्य अत्यावश्यक औषधि ढुवानी गर्न पनि सहज भएको छ। प्राविधिक अनुगमन नियमित हुन थालेपछि स्थानीय तहका भण्डारण केन्द्रहरूको गुणस्तरमा सुधार आएको छ र विगतको तुलनामा करिब २० प्रतिशत आर्थिक खर्च पनि घटेको छ।
निष्कर्ष
गुणस्तरीय खोप सेवा सुनिश्चित गर्न खोप तथा खोपजन्य सामग्रीहरूको आपूर्ति व्यवस्थापन प्रणालीलाई सुदृढ गर्नु अपरिहार्य छ। जिल्ला देखि स्थानीय तह र खोप केन्द्रसम्म खोपको ढुवानी, भण्डारण तथा फिर्ता प्रणाली गुणस्तरीय बनाउनु आजको आवश्यकता हो।
स्वास्थ्य कार्यालय झापाले विगत तीन वर्षदेखि प्राविधिक टोलीसहित आफ्नै सवारीसाधन प्रयोग गरी खोप तथा अन्य अत्यावश्यक औषधिहरू सुरक्षित, नियमित र किफायती ढङ्गले ढुवानी गर्दै आएको अनुभव देशभरका जिल्लाहरूका लागि अनुकरणीय उदाहरण हो।
यो कार्यका लागि मासिक जम्मा ३–५ दिन मात्र लाग्ने भएकाले समयमै गुणस्तरीय सामग्री वितरण, आर्थिक मितव्ययिता र सेवा प्रभावकारिता तीनै दृष्टिले सफल भएको छ। त्यसैले, तराईका साथै सडक पहुँच भएका अन्य जिल्लाहरूमा पनि यस मोडेलको अभ्यास विस्तार गर्न सके देशव्यापी खोप सेवाको गुणस्तरमा सुधार भई बाल तथा मातृ मृत्यु दर घटाउने राष्ट्रिय लक्ष्य पूरा गर्न थप मद्दत पुग्नेछ।
(जनस्वास्थ्य प्रशासक बाह्रकोटी स्वास्थ्य कार्यालय झापामा कार्यालय प्रमुखका रुपमा कार्यरत छन्)