काठमाडौं - एक्मो अर्थात् एक्स्ट्रा कोर्पोरियल मेमब्रेन्स अक्सिजीनेशन। यो एक कृत्रिम चिकित्सकीय प्रविधि हो। जसले कृत्रिम श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीको प्रयोग गरेर रगतमा अक्सिजन पुर्याउने र कार्बन डाइअक्साइड हटाउने काम गर्छ।जब बिरामीको आफ्नै मुटु र फोक्सोले प्रभावकारी रूपमा यी कार्यहरू गर्न सक्दैन।
एक्मोले बिरामीलाई अस्थायी रूपमा फोक्सो र मुटुको काम प्रतिस्थापन गर्दछ। र, ती अंगहरुमा सुधार वा थप उपचारको समय दिन्छ। एक्मोको सुरुवात र विकासमा अतुलनीय योगदान पुर्याएका कारण अमेरिकी डाक्टर तथा अनुसन्धानकर्ता डा रोबर्ट बार्टलेट (१९३९–२०२५) लाई एक्मोका पिता मानिन्छ। सामान्यतया एक हप्तादेखि एक महिनासम्म एक्मोमा राखेर उपचार गर्ने गरिन्छ। यद्यपि ३ सय दिनभन्दा बढी एक्मोमा राखेर उपचार गरिएका उदाहरणहरु पनि छन्।
किन आवश्यक छ एक्मो बारे जानकारी ?
संक्रामक तथा अन्य रोगका कारण श्वासप्रश्वासमा गम्भीर समस्या भएका बिरामीहरू (कोभिड–१९ न्यूमोनिया, स्वाइन फ्लु) मा एक्मो एक महत्वपूर्ण उपचार विधि हो। यसले पारम्परिक उपचार विधिले काम नगरेको अवस्थामा बिरामीहरूको जीवन बचाउने संभावना बढाउँछ। यसले रोग सुधार वा प्रत्यारोपणका लागि पूलको रुपमा काम गर्दछ। एक्मोले गम्भीर अवस्थाहरूमा पनि जीवित रहने सम्भावना उल्लेखनीय रूपमा बढाउँछ।
एक्मो प्रविधि कुन रोगका लागि उपयुक्त उपचार हो ?
मुटु वा फोक्सो सम्बन्धि रोगको कारणले वा अन्य रोगहरुको प्रभावले मुटु तथा फोक्सोले काम गर्न नसकेको अवस्थामा यदी मृत्युदर ८०% भन्दा बेशी हुने अनुमान गरिएको छ र केहि दिनसम्म बचाई राख्न सके बिरामी को मुख्य कारक रोग लाइ नियन्त्रण गर्न वा निको पार्न सकिन्छ भने एक्मोमा राख्नु उपयुक्त हुन्छ। निको नहुने दीर्घ रोगहरु (जस्तै निश्चित क्यान्सर रोगहरु) का लागि एक्मो उपयुक्त उपचार होइन।
एक्मो कसरी गरिन्छ ?
एक्मोमा बिरामीलाई प्राय ठूलो रगत नलीहरूमा राखिने विशेष प्रकारका ट्युब तथा क्यान्नुलाको माध्यमबाट बाह्य मेशिनसँग जोडिन्छ। रगत शरीरबाट बाहिर निकालिन्छ। कृत्रिम फोक्सो (मेम्ब्रेन अक्सिजनटर) मार्फत अक्सिजन रगतमा मिश्रण गर्ने र कार्बन डाइअक्साइड निकाल्ने काम गरिन्छ। यसरी शुद्ध पारिएको रगत पुनः बिरामीमा फिर्ता पठाईन्छ।
यो प्रक्रिया विशेषगरी गहन उपचार कक्ष आइसीयूमा विशेष प्रशिक्षण प्राप्त टोलीद्वारा सुरक्षित र प्रभावकारी रूपमा मात्र सञ्चालन गरिन्छ। एक्मो सामान्यतया मानव शरीरलाई अस्थायी रुपमा बचाई राख्न प्रयोग गरिन्छ। जसले मृत्युलाई केहि समयको लागि पछाडी धकेल्दै थप उपचार गर्ने समय दिन्छ।
बिरामीलाई हृदय र फोक्सोको कार्यक्षमता, रक्तस्राव, संक्रमणहरू र अन्य जटिलताहरूको लागि लगातार नजिकबाट अनुगमन गरिन्छ। केही दिनको उपचारले मुख्य रोग निको हुने अपेक्षा राखिन्छ। यस अवधिमा मुटु र फोक्सोलाई आराम दिएर मुख्य कारक रोगलाई निको पार्ने प्रयास गरिन्छ। जब रोग निको हुन थाल्छ मुटु र फोक्सोले आफ्नो काम गर्न सक्षम हुन्छन् तब एक्मोलाइ बिस्तारै शरीरबाट अलग गरिन्छ।
एक्मो कुन उमेर समूहका बिरामीका लागि उपयुक्त ?
एक्मो ७० वर्ष भन्दा कम उमेरका बिरामीहरुका लागि गरिन्छ। तर उमेर मात्रैको आधारमा निर्णय गरिँदैन। मुटु र फोक्सोको गम्भीर समस्या भएका तर निको हुन सक्ने रोग भएका बिरामीलाई जीवनरक्षा प्रदान गर्दछ। दीर्घ रोगरुमा भने काम लाग्दैन। शल्यक्रिया वा प्रत्यारोपण जस्ता थप उपचारको लागि बिरामीलाई बचाई सुधारको समय दिइन्छ। अपर्याप्त अक्सिजन पुर्याउँदा हुने नोक्सानी एक्माले कम गर्छ।
जोखिमहरु के–के हुन्छन् ?
एक्मोको फाइदासँगै यसका जोखिमहरु पनि छन्।
रक्तस्राव: बिरामीमा रक्तस्राव ३० देखि ४० प्रतिशत हुन सक्छ। जसमध्ये मस्तिष्कमा हुने रक्तास्रावले गर्दा बिरामीको मृत्यु समेत हुन सक्छ।
हेपारिन–प्रेरित प्लेटलेटको कमीः एक्मो प्रयोग गर्नेहरुमा हेपारिन–प्रेरित प्लेटलेटको कमी हुने संभावना बढी हुन्छ।
रगत जम्ने समस्याः रगत शरीरबाट बाहिर निकालेर उपचार गर्ने प्रक्रियामा रगत जम्ने समस्या हुन सक्छ। जसले थप जटिलता ल्याउँछ।
संक्रमणहरूः अस्पतालमा हुने संक्रमणहरूको जोखिम १० देखि १२ प्रतिशतसम्म हुन्छ।
प्रकाशित नतिजाहरु हेर्दा एक्मोमा राखेर उपचार गरिएका बिरामीमध्ये ४० देखि ६० प्रतिशतसम्म बाचेको तथ्यांक छ।
एक्मो विधिद्वारा उपचार नेपालमा कहाँ उपलब्ध छ ?
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगायत केही निजी अस्पतालहरुमा यो उपचार विधि उपलब्ध छ। जसमध्ये फोक्सो रोगका लागि त्रिवि शिक्षण अस्पताल र केही निजी अस्पतालमा तथा मुटु रोगका लागि माथि उल्लेखित अस्पतालहरुमा उपचार सेवा उपलब्ध छ।
एक्मोका बिरामीलाई आइसीयूमा राखेर विशेषज्ञता हासिल गरेका स्वास्थ्यकर्मीहरुले विशेष उपकरणको प्रयोग गरेर गरिने उपचार हो। सामान्यतया यो उपचार निकै महँगो हुन्छ। तर यस वर्ष सरकारको सहयोगमा सहुलियतमा उपचार गर्ने व्यवस्था त्रिवि शिक्षण अस्पतालमा मिलाइएको छ।
( डा हेमराज पनेरु त्रिवि शिक्षण अस्पतालमा आइसीयू विशेषज्ञ चिकित्सक तथा एक्मो विशेषज्ञका रुपमा कार्यरत छन्।)