मानव सभ्यताको सुरुवातदेखि नै मानिसले आफ्नो स्वास्थ्यलाई वरिपरिको वातावरणसँग जोडेर हेर्दै आएको छ। प्राचीन समयमा मानिसले हावा, पानी र स्थानको गुणस्तरले रोगको उत्पत्तिमा प्रभाव पार्छ भन्ने विश्वास गर्थे। यही सोचबाट हेल्थ जियोग्राफी वा मेडिकल जियोग्राफी जन्मिएको पाइन्छ जसले स्वास्थ्यलाई स्थान, वातावरण र समाजसँग जोडेर अध्ययन गर्नुपर्ने अबधारणालाई जोड दिन्छ।
स्वास्थ्य भूगोलको जरा हिपोक्रेट्स (४६०–३७० बीसीई)सम्म पुग्छ, जसले आफ्नो प्रसिद्ध कृति “अन इअर, वाटर्स एन्ड प्लेसेज” मा लेखेका थिए, 'जो व्यक्ति रोगको कारण बुझ्न खोज्छ, उसले पहिले स्थान, मौसम र जीवनशैली बुझ्नुपर्छ।' यो विचारले पहिलो पटक स्वास्थ्य र भौगोलिक परिवेशबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गरेको थियो जसलाई हामी स्वास्थ भुगोलको प्राचीन पिता समेत भनेर बुझ्दछौं। यसले भुगोललाई स्वास्थ सँग जोडेर तत्कालिन समयमा नवीन सोच र अबधारणालाई अगाडि सारेको पाइन्छ।
तर त्यो अवधारणा लामो समय सम्म अन्धकारमा नै रुमलियो जसरी यो संसार लामो समय अन्धकारको युग (dark age) को रुपमा अल्मलियो। हजारौँ वर्षपछि लण्डनमा फैलिएको हैजा रोगको उत्पतिको अनुसंधान गर्न John Snow (१८५४) को कलेरा म्यापिङ मार्फत् पुनः यसलाई प्रमाणित गरि स्वास्थ क्षेत्रमा spatial study को महत्वलाई आम सरोकारवालाको बिचमा स्थापित गराए। लन्डनमा फैलिएको हैजाको महामारी उनले नक्सा बनाएर अध्ययन गर्दा थाहा पाए कि रोगको स्रोत “ब्रोड स्ट्रिट पम्प” बाट लिइएको दूषित पानी थियो। स्नोको नक्सा केवल रोग पत्ता लगाउने साधन थिएन, यो स्थानिक डेटा विश्लेषणको आरम्भिक रूप थियो जहाँ भौगोलिक प्रमाणले जनस्वास्थ्य नीतिमा प्रत्यक्ष प्रभाव पार्यो।
१९३० तिर फ्रान्सेली भूगोलविद् Maximilien Sorre ले “pathogenic complexes” भन्ने अवधारणा दिए। उनले रोगको वितरण केवल जीवाणु वा वातावरणले होइन, मानव–पर्यावरण अन्तरक्रिया ले निर्धारण गर्छ भनेर देखाए। उनले भौतिक (जलवायु, स्थलाकृति), जैविक (सूक्ष्मजीव, वनस्पति, जनावर), र सामाजिक (बस्ती, व्यवहार, गरिबी) तत्वहरूलाई एकै साथ विचार गर्नुपर्ने तर्क गरे। त्यस्तै Sorre को सोचले आजको Health Geography को आधार तयार गर्यो जसमा स्वास्थ्य अध्ययन केवल रोग–नक्सा बनाउने विषय होइन, बरु समाज, वातावरण र स्थानबीचको जटिल सम्बन्ध बुझ्ने अभ्यास हो भनेर। यसरी स्वास्थमा भुगोल अध्ययनको महत्व र सान्दर्भिकता बढदै आएको पाईन्छ।
१९५० पछि J.M. May ले “The Ecology of Human Disease” लेखे, जसले चिकित्सा भूगोललाई पृथक् शास्त्रको रूपमा स्थापित गर्यो। त्यसपछि स्वास्थ्य भूगोलले सांख्यिकीय मोडलिङ, महामारीशास्त्र, र GIS प्रविधिको प्रयोगमार्फत तीव्र विकास गर्यो।
२०औँ शताब्दीको उत्तरार्धमा कम्प्युटर प्रविधि र उपग्रह डेटा प्रणालीको विकाससँगै स्वास्थ्य अध्ययन स्थानिक (spatial) दिशातर्फ उन्मुख भयो। आज Health Geography ले प्रमुख रुपमा तीन मुख्य पक्ष समेटने गरेको पाईन्छ।
१. रोगको स्थानिक वितरण
२. स्वास्थ्य सेवाको पहुँच र समानता
३. पर्यावरणीय जोखिम र जनस्वास्थ्य सम्बन्ध
GIS, Remote Sensing, र Spatial Statistics ले स्वास्थ्यलाई मापन, दृश्यात्मक र नीतिगत विषय बनाउदै आईरहेको छ जसबाट बिश्वले ठूलो लाभ लिईरहेको सन्दर्भमा नेपालमा यसको प्रयोग नहुनु, महत्व बुझाउन नसक्नु र भएको जनशक्तिले आफ्नो प्रभावकारिता प्रदर्शन गर्न नसक्नुलाई दुखद पक्षको रुपमा चित्रित गर्न सकिन्छ। पछिल्लो समयमा नेपालमा पनि स्थानिक स्वास्थको अध्ययन तथा अनुसन्धान हुन सुरुवात भएको छ। तर स्वास्थ क्षेत्रको मुलधारमा भने अझै जोडन सकिरहेको छैन। २०औँ शताब्दीको उत्तरार्धमा कम्प्युटर प्रविधि र उपग्रह डेटा उपलब्ध भएपछि Geographic Information System (GIS) को विकास भयो। यसले स्वास्थ्य अध्ययनलाई नयाँ युगमा पुर्यायो, जहाँ नक्सा स्थिर चित्र होइन, गतिशील विश्लेषणात्मक उपकरण बन्यो। GIS र रिमोट सेन्सिङ प्रविधिले स्वास्थ्य अनुसन्धानलाई स्थान र समय दुवैको परिप्रेक्ष्यमा हेर्न सक्षम बनायो। अब हामी रोग कहाँ बढी छ भनेर मात्र होइन, किन र कसरी फैलिँदैछ भन्ने प्रश्नको पनि उत्तर दिन सक्ने भएका छौं।
नेपाल विश्वकै विविध भू–आकृतिक देशहरूमध्ये एक हो। हिमाल, पहाड र तराई । यी तीनै भौगोलिक क्षेत्रका जीवनशैली, वातावरणीय जोखिम, र स्वास्थ्य पहुँच फरक–फरक छन्। तराई क्षेत्रमा वायु प्रदूषण, तापमान, र संक्रमणजन्य रोगको जोखिम बढी छ। पहाडी क्षेत्रहरूमा अस्पताल र सडक पहुँच कमजोर छन त्यसैगरी हाम्रो उत्तरी क्षेत्र हिमाली भुभागमा जलवायुजन्य रोग र स्वास्थ्य सेवा अभाव मुख्य चुनौतीको रुपमा रहेका छन। यस्तो जटिल भुगोल भएको र सो अनुरुप चुनौती पनि जटिल रहेको छ। यसलाई भौगोलिक वातावरणबाट सिर्जित समस्याको रुपमा बुझ्ने र सोही अनुरुपमा स्वास्थ नितिको तर्जुमा गर्ना सक्नाले मात्र हामिले खोजेको समधान पाउन सक्छौ जसको लागि spatial health को अबधारणा नै सहि र बैज्ञानिक विधि हुन सक्नेछ।
नेपाल विश्वका ती देशहरूमध्ये एक देश हो, जहाँ भूगोलले नै स्वास्थ्य प्रणालीको स्वरूप निर्धारण गर्दै अएको छ तर हाम्रा निति निर्माता यसमा पुर्णतया नजरअन्दाज गर्दै आईरहेका छन। हिमाल, पहाड र तराईका भौगोलिक भिन्नताले केवल जलवायु होइन, मानिसको जीवनशैली, रोग जोखिम र स्वास्थ्य सेवा पहुँचमा पनि ठूलो अन्तर ल्याउँछ नेपालमा ल्याईरहेको पनि पाईन्छ। हिमाल तथा मध्य पहाडका हाम्रा गाउँहरूमा स्वास्थ्य संस्था पुग्नका लागि घण्टौं हिँड्नुपर्छ, जबकि काठमाडौंमा अस्पतालको घनत्व अत्यधिक छ।
हालका अध्ययनहरूले काठमाडौं उपत्यकामा PM2.5 स्तर WHO को मापदण्डभन्दा ५–८ गुणा बढी रहेको देखाएका छन्। यसले फोक्सोको क्यान्सर र अन्य श्वासप्रश्वास–सम्बन्धी रोगमा वृद्धि गरेको छ। मैले हालै गरेको अध्ययन “Examine the Environmental Determinants of Lung Cancer Risk – A Spatiotemporal Study in Bagmati Province” ले पनि देखाएको छ कि प्रदूषण र जनघनत्वबीचको क्षेत्रीय सम्बन्धले रोगको वितरणलाई स्पष्ट रूपमा प्रभावित गर्छ। GIS प्रयोग गरेर तयार गरिएका जोखिम नक्साले नीति–निर्मातालाई कहाँ हस्तक्षेप गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ। नेपालको सन्दर्भमा यसको प्रभावकारितालाई पुनर्पुष्टी समेत गरेको छ।
नेपालको संघीय संरचनाले स्वास्थ्य सेवा सबैमा पुर्याउने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ, तर भौगोलिक पहुँच अझै पनि समान छैन। AccessMod, ArcGIS जस्ता प्रविधी प्रयोग गरेर गरिएको geographical accessibility analysis ले देखाएको छ कि अझैपनि ६० प्रतिशतभन्दा बढी गाउँहरूमा नजिकको अस्पताल पुग्न एक घण्टाभन्दा बढी लाग्छ। यसरी भूगोलले स्वास्थ्य पहुँचमा असमानता सिर्जना गरेको छ। तर त्यही भूगोल, यदि सही तरिकाले प्रयोग गरियो भने, समाधान पनि त्यहीँबाट सुरु गर्न सकिन्छ।
यस्ता असमानताहरू केवल भौगोलिक समस्या होइनन्, यी स्थानिक अन्याय (Spatial Inequality) हुन्।
नेपालको स्वास्थ्य नीतिले “सबैका लागि स्वास्थ्य सेवा” भन्ने आदर्श बोले पनि, स्थानगत भिन्नतालाई ध्यान नदिँदा सेवाको गुणस्तर र पहुँच असमान छ। नेपालमा स्वास्थ्य नीतिको योजना अझै पनि प्रायः जनसंख्या अनुपात वा बजेट उपलब्धतामा आधारित छ। तर भूगोल–आधारित निर्णय प्रणालीले यी प्रश्नहरूलाई नयाँ दृष्टिकोण दिन सक्छ।
AccessMod, QGIS वा ArcGIS प्रयोग गरेर “Travel time Mmap” तयार गर्न सकिन्छ, जसले जनसंख्या, सडक सञ्जाल, भू–आकृति, र अस्पतालको स्थानलाई एकसाथ विश्लेषण गर्छ। यसले प्रयोगले कुन गाउँ वा नगरपालिका हामिले तोकेको निश्चित किलोमिटर भित्र स्वास्थ्य केन्द्र पुग्छ, र कुन ठाउँहरू यसबाट बञ्चित छन भनेर अध्ययन गर्न सकिन्छ। यसको प्रयोग गरेर कुन ठाउँमा स्वास्थ सेवा अपुग भैरहेको छ र कुन ठाउँमा स्थापना गर्दा अधिकतम मानिसले लाभ लिन सक्छन भनेर स्थान खोज्नको लागि पनि यसलाई उपयोग गर्न सकिन्छ। त्यसै गरि यसलाई रोग जोखिम नक्साङ्कन (Disease Risk Mapping) गर्नको लागि पनि उपयोग गर्न सकिन्छ। उपग्रह डेटा र रोग तथ्याङ्कलाई जोडेर फोक्सोको क्यान्सर, दम, वा मलेरियाको जोखिम क्षेत्र पहिचान गर्न सकिन्छ। नेपालका सहरहरू तथा ग्रामिण क्षेत्रमा देखिएको प्रदूषण र यससँग सम्बन्धित फोक्सोको क्यान्सर वृद्धि लगायतका रोगहरुको Spatial Modelling मार्फत यसलाई सहज ढंगले बुझ्न, अध्ययन गर्न र प्रमाणित गर्न सकिन्छ।
GIS आधारित निर्णय प्रणालीले कुन क्षेत्रमा नयाँ अस्पताल वा स्वास्थ्य चौकी आवश्यक छ भनेर “location suitability analysis” गर्न सकिन्छ।
यसमा जनघनत्व, पहुँच समय, सडक अवस्था, र सामाजिक–आर्थिक सूचक प्रयोग गर्न सकिन्छ। जसबाट जोखिम रहित पुर्वाधार निर्माण गरि दिगो स्वास्थ संरचना बनाउन सकिन्छ। Spatial Justice दृष्टिकोणले “कसले कति सहजतासँग स्वास्थ्य सेवा पाउँछ?” भन्ने प्रश्न उठाउँछ। जस्तै, काठमाडौं उपत्यकामा हजारौँ डाक्टर भए पनि दोलखा, रसुवा वा सिन्धुलीका दुर्गम गाउँमा प्राथमिक स्वास्थ्यकर्मीको पनि अभाव छ। यस्तो असमानता नीतिगत सुधार बिना समाधान हुन सक्दैन। जसलाई बैज्ञानिक तथ्यका आधारमा spatial health ले समधान दिन सक्छ।
नेपालको संघीय ढाँचाले स्थानीय तहलाई स्वास्थ्य सेवा सञ्चालनको जिम्मा दिएको छ। तर अधिकांश पालिकामा डेटा व्यवस्थापन, नक्साङ्कन र स्थानिक विश्लेषणको क्षमता सीमित छ। यदि स्थानीय सरकारले GIS–आधारित Spatial Health Information System (SHIS) विकास गर्न सके, नीति निर्माणमा वैज्ञानिक प्रमाण (Evidence-based Planning) सम्भव हुन्छ। GIS–आधारित नीति प्रणालीले स्थानिक प्रमाणमा आधारित नीति बनाउने, जोखिम क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य स्रोतको समान वितरण सुनिश्चित गर्ने, आपतकालीन उद्धार र महामारी तयारीमा सहयोग पुर्याउने जस्ता कार्य गर्न सक्ने भएकाले नेपालको सन्दर्भमा यसको उपयोगिता धेरै रहेको छ।
उदाहरणका रूपमा, २०७२ को भूकम्पपछि राहत वितरणमा GIS प्रयोग गरिँदा कुन बस्तीमा स्वास्थ्य सेवा पुगेको छैन भन्ने तुरुन्त देख्न सकिन्थ्यो। त्यस्तै, कोभिड–१९ महामारीमा स्वास्थ्यकर्मी र परीक्षण केन्द्रको स्थानिक विश्लेषणले धेरै प्रभावकारी सहयोग पुर्याउन सकिन्थ्यो तर बिडम्बना यता तर्फ सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन। नेपालको स्वास्थ सँग सम्बन्धित समस्या समधानम स्वास्थ्य भूगोलविद्हरूको भूमिका अहम हुन सक्दछ। भूगोलविद् र Spatial Data Scientistहरूले स्वास्थ्य क्षेत्रमा निम्न तरिकाले योगदान दिन सक्छन। रोग फैलावट र जोखिम क्षेत्र पहिचान गर्न, स्वास्थ्य पूर्वाधार पहुँच सुधारका लागि काम गर्न, प्रदूषण, तापमान, NDVI, वा जलवायु–स्वास्थ्य सम्बन्ध बुझ्न, स्वास्थ्य स्रोत वितरणमा न्याय सुनिश्चित गर्न, नीति–निर्माताका लागि दृश्य–आधारित निर्णय सहयोग प्रणाली तयार गर्ने जस्त कार्यमा प्रभावकारी भुमिका खेल्न सक्दछन।
नेपालमा हालका विश्वविद्यालयहरू र अनुसन्धान संस्थाहरूले GIS, Remote Sensing, र Health Geography मा आधारित अध्ययन विस्तार गर्न थालेका छन्। यसले वैज्ञानिक प्रमाणमा आधारित जनस्वास्थ्य नीतिको सम्भावना उजागर गर्न सुरुवात गरेको छ। अझैपनी यो सुषुप्त अबस्थामा रहेको छ जुन चिन्ताको बिषय हो।
स्वास्थ्य केवल औषधि र अस्पतालको विषय मात्र होइन यो स्थान, समाज र वातावरणबीचको सन्तुलन पनि हो। जुन नेपालजस्तो विविध भू–आकृति, हावापानी, जनसांखिक बितरण, खानपानी, बानी बेहोरा भएको देशमा स्वास्थ्य प्रणाली सुधारको लागि स्थानिक दृष्टिकोण अपरिहार्य छ। Health Geography ले हामीलाई विभिन्न रोग र स्वास्थको सम्बन्ध, अबस्था र भावी रणनितिलाई बुझ्न सहयोग पुर्याउछ साथै समधानको लागि तथ्यमा आधारित अभिलेख समेत प्रदान गर्दछ। यसको जगमा टेकेर हामिले निर्णय गर्दा समस्या समधान दिगो र भरपर्दो हुने गर्दछ। प्रस्ट छ,
यदि हामीले “स्थान” बुझ्यौं भने मात्र “स्वास्थ्य” न्यायसंगत रूपमा बुझ्न सक्छौं नत्र हामी कुईरोको कागझैं अलमलिनु पर्नेछ। हाम्रो संविधानले दिएको मौलिक हक “प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार” पुर्ण र प्रभावकारी रुपमा साकार पार्ने बाटो नै भूगोल–आधारित नीति, Spatial Health Planning, र वैज्ञानिक प्रमाणमा आधारित शासन प्रणाली हुन जुन हाम्रो जनस्वास्थको समस्या समधान गर्ने बैज्ञानिक विधि हो।
( डा. न्यौपाने, भूगोलविद तथा अनुसन्धानकर्ता हुन, उनि चीनको University of Chinese Academy of Sciences बाट Cartography and GIS मा PhD गरेका छन।)