नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ फेरि एकपटक निर्वाचनको संघारमा छन्। उम्मेदवारहरूका मीठा वचन, राजनीतिक मुस्कान, फोटोसेसन र “हामी परिवर्तन ल्याउँछौँ” भन्ने परिचित संवादहरू चिकित्सा क्षेत्रमा अहिले दिनहुँ देख्न–सुन्न पाइन्छ। यो हरेक निर्वाचनअघि दोहोरिने परम्परागत दृश्य बनेको छ।
तर दशकौँदेखि चिकित्सकहरूको मनमा संचित टुटेका आशा र अपेक्षाहरूको इतिहास एकै स्वरमा भन्छ- “चुनाव सकिएपछि वाचा सम्झिनेहरू अत्यन्तै थोरै हुन्छन्।”
चुनाव जित्नुअघि देशका चिकित्सकका समस्या प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्छ, तर कुर्सीमा पुगेपछि ती वाचा कुर्सीकै आरामसँगै हराउँछन्।
यो केवल राजनीतिक असफलता होइन, चिकित्सकको अस्तित्व, आत्मसम्मान र राष्ट्रको भविष्यसँग जोडिएको मुद्दा हो।
१. देश छाड्न बाध्य बनाइएका हजारौँ युवा चिकित्सक
डाक्टर बन्न दशकौँ लगानी गरेको पुस्ता आज आफ्नै देशमा भविष्य नदेखेर विदेशको ढोका ढकढक्याउन बाध्य छ। कसैको घर चल्दैन, कसैको सम्मान जोगिँदैन, कसैको सपनाले सास लिन पाउँदैन।
हालैको तथ्यांक अनुसार, चार वर्षको अवधिमा नेपाल मेडिकल काउन्सिलमा ८,६२४ जना नयाँ चिकित्सक दर्ता भए भने ६,३६८ जना चिकित्सकले विदेश जान क्यारेक्टर सर्टिफिकेट लिएका छन्।
त्यस्तै, हालै इन्स्टिच्युट अफ मेडिसिन (IOM), महाराजगञ्ज क्याम्पसका एमबीबीएस विद्यार्थीहरूमाथि गरिएको एक सर्वेक्षणमा १०० प्रतिशत विद्यार्थीले विदेश जाने योजना बनाएको बताएका छन्। सर्वेक्षणमा सहभागी ४३ जनामध्ये ४१ जना (९५%) ले आवश्यक लाइसेन्स वा प्रवेश परीक्षाका लागि दर्ता गरिसकेको पाइएको छ।
यो केवल ब्रेन ड्रेन होइन, देशको मेरुदण्ड नै कमजोर हुँदै गएको संकेत हो।
२. परिश्रम, जोखिम र त्यागको मूल्य ? - निराशाजनक पारिश्रमिक
आधा जीवन चिकित्सा अध्ययनमा खर्च गर्ने,
रातभर आपत्कालीन कक्षमा बिरामीको ज्यान जोगाउने,
कहिलेकाहीँ आफैँ संक्रमित भएर आइसोलेसनमा बस्नुपर्ने चिकित्सकले
यति न्यून पारिश्रमिक पाउनु न्याय होइन—अपमान हो।
३. असुरक्षित कार्यस्थल : उपचार गर्ने हातहरू नै जोखिममा
नेपालमा चिकित्सकलाई अपमान, धम्की र हिंसाबाट जोगाउने प्रभावकारी सुरक्षा व्यवस्था अझै छैन। जसले दिनरात अरूको ज्यान बचाउँछन्, उनीहरू नै आफ्नो सुरक्षाका लागि दरिलो कानून खोज्दै भौतारिनुपर्ने अवस्था सामाजिक विडम्बना मात्र होइन, राष्ट्रिय लाज हो।
४. प्रणालीगत राजनीतिक हस्तक्षेप : योग्यता होइन, पहुँच बलियो
मेरिटको सम्मान हुनुपर्ने स्थानमा राजनीति घुसेको छ। निर्णय योग्यता र अनुभवले होइन, पार्टी र पहुँचले गर्छ। यस्तो प्रणालीमा युवा चिकित्सकले देशमै भविष्य देखून् भनेर कसरी आशा गर्ने ?
५. अवसरको अभाव : उत्कृष्ट बन्न चाहनेहरूका लागि बन्द ढोका
अनुसन्धान, सुपर–स्पेसियलिटी र उन्नत तालिम- यी सबै अवसर प्रायः विदेशमै सीमित छन्। देशमा बस्ने चाहना छ, क्षमता छ, उत्साह छ, तर प्रणालीमै ढोका बन्द छन्।
अब पर्याप्त भयो।
चुनावअघि देखिने वाचा, भाषण र प्रतिबद्धता
चुनाव सकिएपछि हराउने यो परम्पराले
नेतृत्व चयनलाई चिठ्ठा निकाल्ने खेलजस्तो बनाइसकेको छ।
“जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखान आज चिकित्सा क्षेत्रमा झन् सत्य लाग्न थालेको छ।
चिन्ताजनक तथ्य
विश्व स्वास्थ्य संगठन (WHO) अनुसार आदर्श चिकित्सक–बिरामी अनुपात १:१,००० हुनुपर्छ। तर नेपालमा यो अनुपात करिब १:३,००० छ। ग्रामीण क्षेत्रमा अवस्था अझै गम्भीर छ, जहाँ अनुपात १:१५,००० सम्म पुगेको अनुमान छ।
यसले गम्भीर प्रश्न उठाउँछ- आखिर समस्या कहाँ छ ?
अब नेतृत्वले अनिवार्य रूपमा गर्नुपर्ने साहसी कामहरू
१. वैज्ञानिक र सम्मानजनक पारिश्रमिक
परिश्रम र जोखिमको सम्मान हुने तलब संरचना
निजी अस्पतालमा न्यूनतम पारिश्रमिकको कानुनी मापदण्ड
रेसिडेन्ट र युवा चिकित्सकका लागि जीविकोपार्जन योग्य तलब
२. ‘Zero Tolerance’ सुरक्षा नीति
चिकित्सकमाथि हिंसा भए तुरुन्त पक्राउ र कानुनी कारबाही
अस्पतालमा अनिवार्य सुरक्षा पोस्ट
महिला चिकित्सकका लागि विशेष रात्री सुरक्षा कार्यक्रम
३. राजनीतिक हस्तक्षेपको अन्त्य
सम्पूर्ण प्रक्रियामा पारदर्शिता
योग्यता, अनुभव र योगदानका आधारमा निर्णय
काउन्सिल र संघलाई पार्टी स्वार्थबाट मुक्त गर्ने स्पष्ट प्रतिबद्धता
४. क्यारियर विकास र फेलोसिप
राष्ट्रिय फेलोसिप कार्यक्रम
विदेशबाट फर्कन चाहने विशेषज्ञका लागि आकर्षक योजना
अनुसन्धानमा सरकारी लगानी
५. अस्पताल र स्वास्थ्य प्रणालीको आधुनिकीकरण
प्रदेश तहसम्म गुणस्तरीय अस्पताल
उपकरणको नियमित मर्मत र व्यवस्थापन
डिजिटल स्वास्थ्य सेवा र टेलिमेडिसिन विस्तार
चुनावलाई औपचारिकता नबनाऔँ- चिकित्सा क्षेत्रको भविष्य बचाउने अवसर बनाऔँ।
कसैको प्रलोभनमा परेर अमूल्य मत खेर नफालौँ।
असल, इमानदार र क्षमतावान नेतृत्व चयन गरौँ।
यदि नेतृत्व बदल्न सकेनौँ भने
आज डाक्टर पलायन हुन्छन्,
भोलि देश नै उपचारविहीन बन्छ।
अबको मतदान भावनाले होइन- न्याय, सुधार र चिकित्सा क्षेत्रको भविष्यले मार्गदर्शन गरोस्।