काठमाडौं — सरकारले चुरोट, मदिरा तथा बियरमा अन्तःशुल्क वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व संकलन बढाउने उद्देश्यले कर दरमा संशोधन गरिएको जानकारी दिएका हुन्।
बजेट अनुसार चुरोटमा अन्तःशुल्क १० प्रतिशतले वृद्धि गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यको ७५% भन्दा बढी कर हुनुपर्ने सिफारिस गरेको छ, जसले सुर्ती सेवन घटाउन, अकाल मृत्यु रोक्न र जनस्वास्थ्य सुधार गर्न मद्दत गर्छ। तर नेपालमा सुर्ती कर दक्षिण एशियाकै न्यून दरमध्ये छ । यसपल्ट पनि सरकारले अपेक्षित वृद्धि नगरेको सरोकारवालाले बताएका छन्।
त्यस्तै, मदिरा र बियरमा पनि अन्तःशुल्क दर बढाइएको सरकारको भनाइ छ। सरकारले कर वृद्धिबाट प्राप्त हुने अतिरिक्त राजस्वलाई स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षा कार्यक्रमहरूमा उपयोग गर्ने लक्ष्य राखेको जनाएको छ।