काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुदृढीकरणका लागि आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा बोर्डलाई १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले बीमा बोर्डका लागि छुट्याइएको बजेट गत आर्थिक वर्षको तुलनामा दोब्बरले वृद्धि भएको बताएका हुन्।
यसअघि सरकारले स्वास्थ्य बीमा बोर्डका लागि करिब ७ अर्ब रुपैयाँ विनियोजन र थप गरेर करिब १० अर्ब दिँदै आएको थियो। तर बोर्डको तथ्यांकअनुसार वार्षिक २२ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।
अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउन व्यापक पुनर्संरचना गरिने पनि बताएका छन्। सरकारले बीमा प्रणालीलाई दीगो, व्यवस्थित र नागरिकमैत्री बनाउन संरचनागत सुधार गर्ने तयारी गरेको छ।
सरकारले स्वास्थ्य बीमामार्फत नागरिकको उपचार खर्चको बोझ घटाउने र सेवा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।