गर्मी मौसममा भन्दा जाडोमा बाथ रोगको समस्याले धेरैलाई सताउँछ। सामान्यतया जोर्नी दुखाईलाई बाथ रोग भन्ने बुझिन्छ। तर बाथ रोग बारेको बुझाई यतिमा मात्र पर्याप्त नभएको चिकित्सकहरु बताउँछन्।
बाथ कस्तो खालको रोग हो ? बाथ रोगका कारणहरु के के हुन् ? चिसोमा किन बाथ रोग बढ्छ ? लगायत रोगबारे बाथ रोग विशेषज्ञ डा सुधीर कर्माचार्यसँग स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
बाथ कस्तो खालको रोग हो ?
सामान्यतया जोर्नी दुखाईलाई बाथ रोग भन्ने बुझिन्छ। यद्यपि बाथ रोगबारेको बुझाई यतिमा मात्रै पर्याप्त भने छैन। बाथ रोग एउटा छाला हो। यसभित्र धेरै प्रकारको रोगहरु समावेश भएका हुन्छन्।
यसलाई ‘अटो इम्युन डिजिज’ अर्थात् स्वप्रतिरक्षित रोग पनि भन्ने गरिन्छ। हाम्रो शरीरमा रहेको प्रतिरक्षा प्रणाली बिग्रिएर शरीरका कुनै पनि कोषिकाहरुलाई त्यसले आक्रमण गर्न थाल्यो भने बाथ रोग जन्मिने गर्छ। बाथ रोगको प्रमुख लक्षण जोर्नी दुखाई भएपनि अन्य लक्षणहरु पनि हुने गर्छ। समग्रमा भन्नुपर्दा बाथ हाम्रो शरीरमा आफैँ जन्मिने रोग हो। जसले शरीरका विभिन्न अंगहरु जोर्नी लगायत भित्रि अंगहरुमा समेत असर गर्छ।
बाथ रोगका अन्य कारणहरु के के हुन् ?
बाथ रोग एक मात्र कारणले हुँदैन। विभिन्न कारणहरु मिलेर नै बाथ रोग जन्मन्छ। शरीरका विभिन्न अंगमा भएका इन्फेक्सनका कारण पनि बाथ रोग हुने गर्छ। त्यसबाहेक मोटोपना, धुँवा धुलो, खानेकुरामा किटनाशक औषधिहरुको प्रयोग लगायतले पनि बाथ रोग लाग्ने जोखिम बढाउन सक्छ।
चिसो समयमा बाथ रोग बढ्छ भन्ने गरिन्छ के यो साँचो हो ?
गर्मी समयमा ठिक भएका बिरामीहरु पनि जाडो मौसममा बाथ रोग बढेको भन्दै अस्पताल आउने गर्छन्। लुपस भन्ने बाथ रोगमा भित्रि अंगका समस्या लिएर बिरामीहरु अस्पताल आउने गर्छन्। जाडो मौसममा बाथ रोगले बल्झाउने तथा जन्माउने समेत गर्छ।
अस्पताल आइपुग्ने बिरामी संख्याका आधारमा पनि चिसो मौसममा अस्पताल आइपुग्ने बिरामीहरु बढी हुन्छन्। गर्मीमा भन्दा चिसोमा बाथ रोगका बल्झिएका बिरामीहरु धेरै आउने गर्छन्।
बाथ रोगका लक्षणहरु के के हुन्छन् ?
सामान्यतया जोर्नी दुखाई नै बाथ रोग हो भन्ने बुझाई रहेको छ। यद्यपि बाथ रोगको लक्षण यतिमा मात्रै सीमित भने छैन। बाथ रोगको सुरुवाती लक्षण भने जोर्नी दुखाई नै हो।
हातका साना जोर्नीहरु तथा गोलि गाँठाका जोर्नीहरुको दुखाईबाट बाथ रोगको सुरुवात हुने गर्छ। बिस्तारै दुखाईहरु बढ्दै जाने गर्छ। बाथ रोगमा ह्वात्तै बढ्ने तथा कम हुने भने हुँदैन। यस्तो दुखाईका साथै बिहान उठ्ने बेलामा जिउ कक्रक्क हुने, आलस्यपना बढ्ने, शरीरमा थकान महसुस हुने, काम गर्न गाह्रो लाग्ने लगायतका लक्षणहरु बाथ रोगमा देखिने गर्छन्। त्यसबाहेक आँखा रातो हुने, मुख सुख्खा हुने तथा कतिपय बाथ रोगका कारण शरीरका भित्रि अंगहरुमा समेत असर देखिने गर्छ।
लक्षणका आधारमा बाथ रोगका प्रकारहरु के के हुन्छन् ?
बाथ रोगका धेरै प्रकारमा भएपनि प्रमुख रुपमा जोर्नी बांगिने बाथ रोग तथा भित्रि अंग बिग्राने बाथ रोग हुने गर्छन्। जोर्नी बांगिने बाथ रोगमा गठिया बाथ रोग, ढाड कम्मर जोडिने जस्ता बाथ रोगले जोर्नीमा असरमा गर्छ। कतिपय अवस्थामा हात गोडा चलाउन समेत कठिन हुन सक्छ।
लुपस नामक बाथ रोगले मिर्गौलालाई चाँडै असर गर्छ। स्केलोड्रमा नामक बाथ रोगले भने फोक्सो तथा मुटुलाई समेत असर गर्छ। मायासाइटिस नामक बाथ रोगले मांशपेशीहरु एकदमै कमजोर बनाउँछ। कतिपय बाथ रोगमा परीक्षणमा खासै समस्या देखिदैंन। तर बिरामीहरु जोर्नी दुखाई एकदमै भएको भन्दै आउने गर्छन्।
नेपालमा बढी मात्रामा देखिएको युरिक एसिडको बाथ रोगले घुँडा दुखेको भन्दै बिरामीहरु अस्पताल आइपुग्ने गर्छन्। सुरुवाती अवस्थामा धेरै प्रकारमा बाथ रोगमा दुखाई भएको भन्दै बिरामीहरु अस्पतालसम्म आइपुग्ने गर्छन्। बाथ रोगको दुखाई आराम गरेमा झन् बढ्दै जान्छ। यसको दुखाई बिहानमा बढी हुन्छ भने दिउँसोतिर कम हुँदै जान्छ।
बाथ रोगीहरुको खानपान र जीवनशैली कस्तो हुनुपर्छ ?
यो धेरैले सोध्ने प्रश्न हो। धेरैजस्तो बिरामीहरु अस्पतालसम्म आइपुग्दा खानेकुरा बारेका कारण शरीरलाई अत्यावश्यक तत्वको अभावमा अरु रोगहरु निम्त्याएर आउने गर्छन्।
धेरै जस्तो बाथ रोग खानेकुरासँग सम्बन्धित छैन। यद्यपि केही बाथरोगहरु छन् जसमा केही खानेकुराहरु बार्न आवश्यक छ। यूरिक एसिडको बाथ रोगमा गेडागुडी, अण्डा, च्याउँ जस्ता खानेकुरा खान हुँदैन भन्ने गरिन्छ। यद्यपि विभिन्न अध्ययनहरुले यी खानेकुराको सेवनले बाथ रोग नबढाउने देखाएको छ। यूरिक एसिडको बाथ रोगमा गुलियो खानेकुरा, रातो मासु तथा अल्कोहलयुक्त पदार्थको सेवन भने हानीकारक मानिन्छ। यस्ता खानेकुराले युरिक एसिड बढाउने अध्ययनहरुले देखाएको छ।
बाथ रोग लाग्नुमा जीवनशैलीको भूमिका कत्तिको महत्वपूर्ण छ ?
बाथ रोग लाग्नुमा जीवनशैलीको भूमिका महत्वपूर्ण हुने गर्छ। हामी कहाँ आइपुग्ने धेरै बिरामीहरुको जीवनशैली आराम गर्ने वा शारीरिक परिश्रम नगर्ने खालको हुने गर्छ।
धुम्रपान तथा मद्यपान गर्नेहरुलाई बाथ रोग लाग्ने सम्भावना बढी हुन्छ। सक्रिय जीवनशैली भएकाहरुलाई यो रोग लाग्ने सम्भावना कम हुन्छ। त्यसकारण जीवनशैली तथा मोटोपना नियन्त्रण गर्न सकेमा बाथ रोग लाग्ने सम्भावनालाई घटाउन सकिन्छ।
बाथ रोगीहरुले औषधिको सेवन आजीवन गर्नुपर्छ वा बीचमा छोड्न मिल्छ ?
सुरुवाती अवस्थाामा नै उपचारको थालनी गर्ने तथा सामान्य औषधिले पनि समयमा नै कम गरेमा चिकित्सकको सल्लाहमा औषधि छोड्न पनि मिल्न सक्छ। यद्यपि बिरामीले बेला बेलामा फलोअपमा भने आउनुपर्ने हुन्छ। कतिपय लुपस, यूरिक एसिडको बाथ रोगमा भने एक पटक लागेपछि जीवनभर नै औषधि खानुपर्ने हुन्छ।
नेपालमा बाथ रोगीहरुको संख्या कति छन् ? तीमध्ये कति उपचारको पहुँचमा छन् ?
नेपालमा बाथ रोगीहरुको यकिन तथ्यांक छैन। यद्यपि २० देखि २२ वटा जिल्लाहरुमा गरिएका केही अध्ययन अनुसार २८ प्रतिशत मानिसहरुमा बाथ रोग तथा मांशपेशी सम्बन्धी समस्या छ।
विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको तथ्यांक अनुसार भने ३० प्रतिशतमा बाथ रोग सम्बन्धी समस्या रहेको देखिएको छ। नेपालको ३ करोड जनसंख्यामध्ये ७० देखि ८० लाखमा बाथ रोग तथा यससँग सम्बन्धित समस्याहरु रहेको पाइन्छ। त्यसमध्ये करिब १० प्रतिशत मात्रै उपचारको पहुँचमा छन्। औषधिको सेवन पश्चात् बाथ रोग पूर्ण रुपमा निको नभएपनि यसलाई नियन्त्रणमा भने राख्न सकिन्छ।
बाथ रोगीहरुको पहिचान तथा उपचारमा सरकारले गर्नुपर्ने कामहरु के के होलान् ?
बाथ रोगको पहिचान तथा उपचारका लागि काम गर्न हामीले सरकारलाई पटक पटक आग्रह गर्दै आइरहेका छौँ । बाथ रोगका परीक्षणहरु एकदमै महँगो छ, जसकारण आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले यसको परीक्षण गराउन सक्ने स्थिति छैन।
आर्थिक अवस्था न्यून भएका बिरामीहरुलाई उपचारको पहुँचमा ल्याउनका सरकारलाई सहयोग गर्न हामीले अनुरोध गरेका छौँ। यसका लागि हामीले सहयोगको आश्वासन पनि पाएका छौँ। यद्यपि सहयोग पाइसकेको अवस्था भने छैन । भविष्यमा सहयोग पाउनेमा हामी आशावादी छौँ।