काठमाडौं - टाउको दुखाईको अनुभव नगर्ने मान्छे सायदै कम हुन्छन्। तर धेरैले टाउकोको दुखाईलाई सामान्य रुपमा लिन लिने गर्छन्। तर टाउको दुखाईको धेरै कारणहरु हुन सक्छन्।
कतिपय अवस्थामा तनावका कारण टाउको दुख्छ भने कतिपय माइग्रेन, छारे रोग, ट्युमर लगायत कारणले पनि टाउको दुख्न सक्छ।
टाउको दुखाईको कुन अवस्था जटिल हो ? कुन अवस्थामा अस्पताल जाने ? पुरुषको तुलनामा महिलालाई किन बढी टाउको दुख्छ ? लगायत विषयमा हामीले वीर अस्पतालका प्रमुख क्न्सल्टेन्ट न्यूरो सर्जन डा बिनोद राजभण्डारीसँग कुराकानी गरेका छौँ। डा भण्डारीसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईले गरेको कुराकानी :
सामान्य लाग्ने टाउको दुखाई कुन अवस्थामा जटिल हो ?
धेरै जस्तो टाउको दुखाई सामान्य नै हुन्छ। कहिलेकाही टाउको नदुख्ने मान्छे पनि विरलै हुन्छन्। टाउको दुखाईका धेरै कारणहरु हुन्छन्। कतिपय अवस्थामा आँखामा आउने समस्याका कारण पनि टाउको दुख्छ। धेरै जस्तो टाउको दुखाई तनावका कारण हुने गर्छ। कसैलाई माइग्रेनका कारण तथा शरीरमा आएका अन्य समस्याका कारण पनि कतिपयलाई टाउको दुख्न सक्छ । धेरै जस्तो टाउको दुखाई डरलाग्दो हुँदैन। यद्यपि १–२ प्रतिशत टाउको दुखाई भने आतिनुपर्ने तथा डराउनुपर्ने हुन्छ।
कहिलेकाही दिमाखमा ट्युमर पलाएर, क्यान्सर भएर, दिमाखमा नशा फुटेर, नशा ब्लक भएर पनि टाउको दुख्न सक्छ। त्यसकारण लामो समयसम्म टाउको दुखेमा, एक्कासी एकदमै धेरै टाउको दुखेमा, बिहान बिहान टाउको दुखेमा, वान्ता भएमा भने त्यस्तो टाउको दुखाईमा भने डराउनुपर्ने हुन सक्छ। यस्तो टाउको दुखाई कहिलेकाही दिमाखमा केही पलाएर वा नशा फुटेर पनि हुनसक्छ। कहिलेकाही सामान्य टाउको दुखाईले पनि ठूलो रोगलाई लुकाइरहेको पनि हुन सक्छ।
टाउको दुखाईको कुन अवस्थामा न्यूरो चिकित्सकलाई तथा कस्तोमा फिजिसियनलाई भेट्नुपर्छ ?
लामो समयसम्म एकदमै धेरै टाउको दुखाई भएमा वा सहनै नसक्ने गरी दुखेमा, बिहान टाउको दुख्ने तथा टाउको दुखाईपछि वान्ता हुने, रिगँटा लाग्ने भएमा चिकित्सकका जान जरुरी छ। यद्यपि कहिलेकाही सामान्य टाउको दुखाईमा पनि दिमाखमा ठूलो ट्युमर लुकिरहेको पनि हुन सक्छ। त्यसकारण टाउको दुखिरहने समस्या भएका व्यक्तिहरुले एक पटक न्युरो चिकित्सकलाई भेट्नुपर्ने हुन्छ।
धेरैजस्तो टाउको दुखाईमा न्यूरोचिकित्सकलाई भेटेको राम्रो भन्ने मलाई लाग्छ। यदि उच्चरक्तचाप, ज्वरो तथा अन्य रोगका कारण टाउको दुखेमा भने फिजिसियन कहाँ जानुपर्छ। यदि धेरै टाउको दुखिरहन्छ, टाउको दुखेपछि वान्ता आउने, रिगँटा लाग्ने, बेहोस हुने लगायतका समस्यामा छन् भने न्यूरो चिकित्सकलाई भेट्न मेरो सल्लाह छ।
अस्पताल आइसकेपछि के कारणले टाउको दुखेको हो भन्ने कसरी पत्ता लगाइन्छ ?
अस्पताल आइसकेपछि सबैभन्दा पहिले त बिरामीको हिस्ट्री लिने गरिन्छ। कसरी, कहाँ टाउको दुखिरहेको छ भन्ने लक्षणका आधारमा टाउको दुखाईको कारण पहिचान गरिन्छ। उपचार पनि लक्षणका आधारमा नै गरिन्छ। यदि केही रोगको शंका लागेमा एमआरआई, सिटी स्क्यान गरेर पनि टाउको किन दुख्यो भन्ने पत्ता लगाइन्छ।
टाउको दुखाईको प्रमुख कारण नै तनाव हो। महिलाहरुमा धेरै जस्तो माइग्रेनका कारणले टाउको दुख्ने गर्छ। टाउको दुखाईको थोरै कारण दिमाखभित्र लुकेको हुन्छ। ब्रेन ट्युमर,ब्रेन क्यान्सर, नशा फुटेमा, दिमागको नशा ब्लक भएमा पनि टाउको दुख्ने गर्छ। ब्रेन ट्युमर, ब्रेन क्यान्सर लगायत टाउको दुखाई भने धेरै न्यूरो सर्जनहरुले हेर्नुपर्ने हुन्छ।
पुरुषको तुलनामा महिलालाई बढी टाउको दुख्छ भनिन्छ यो वैज्ञानिक आधारमा सत्य हो कि होइन ?
टाउको दुखाईका कारण अस्पतालसम्म आइपुग्ने बिरामीको संख्याको आधारमा पनि पुरुषको तुलनामा महिलाहरुमा बढी टाउको दुख्ने समस्या हुन्छ भन्न सकिन्छ।
माइग्रेन पुरुषको तुलनामा महिलाहरुलाई धेरै हुने गर्छ। यो वंशाणुगत पनि हुन्छ। वंशाणुगत रुपमा स्थानन्तरण हुँदा पनि पुरुषको तुलनामा महिलामा बढी सर्ने गर्छ। यद्यपि पुरुषहरुलाई माइग्रेन नहुने भने होइन तर महिलाको तुलनामा भने कम हुने गर्छ। माइग्रेन सुगर र प्रेसरजस्तै हो, यसलाई निर्मुल पार्न नसकेपनि कम गर्न भने सकिन्छ। यद्यपि टाउको दुखाईको दर कम गर्न भने औषधि दिने गरिन्छ।
गालेको अचार, कफी लगायत खानेकुराले कतिपयको माइग्रेनलाई बढाउन सक्छ। माइग्रेनको धेरैजस्तो कारण अझै पत्ता लगाउन सकिएको छैन। कतिपयलाई वंशाणुगत कारणले पनि माइग्रेन हुन सक्छ। मानव दिमागमा स–सानो विद्युतीय कणहरु उत्पादन भइरहेको हुन्छ। त्यस्ता कणहरु असामान्य तरिकाबाट निस्कियो भने त्यस्तो अवस्थालाई छारे रोग भनिन्छ। जसका कारण पनि टाउको दुख्नसक्छ। यो रोग पनि धेरै प्रकारको हुन्छ, यस रोगको कारण कोही बेहोस हुन्छन् भने कोही अर्धबेहोस हुने गर्छन्।
टाउको दुखाईको समस्यालाई कसरी कम गर्न सकिन्छ ?
टाउको दुखिरहने मानिसले स्वस्थ खानपानमा ध्यान दिनुपर्ने हुन्छ। दैनिक व्यायाम, योगा, ध्यान, रक्तचाप नियन्त्रण, तनाव कम गरेमा धेरै जस्तो टाउको दुखाईलाई कम गर्न सकिन्छ ।
टाउको दुखाईमा प्रयोग गरिने निम्स, पेनकिलर जस्ता औषधिको असर के–के हुन सक्छन् ?
टाउको दुखाईमा धेरैजस्तो मानिसले चिकित्सकको सल्लाहबिना नै पेन किलर खाने गरेको पाइन्छ । लामो समयसम्म यसरी पेन किलरको प्रयोगले मिर्गौलालाई असर गर्न सक्छ । लामो समयसम्म एउटै औषधि खानाले ग्यास्टिक हुने,पेटमा धाउ भएर आन्द्रामा रगत बग्ने समस्या पनि आउन सक्छ ।
टाउको दुखाई र ब्रेन ट्युमर बारे केही बताइदिनुहोस् न ?
टाउको दुखाईको अर्काे महत्वपूर्ण कारण ब्रेन ट्युमर पनि हो। नेपालमा अहिलेको समयमा ब्रेन ट्युमरका बिरामीहरुको संख्या बढ्दै गएको पाइन्छ।
विगतमा यसको उपचारका लागि आवश्यक यन्त्र उपकरणको उपलब्धता कम थियो। बिरामीहरुको यसबारे सजगता पनि विगतमा कम थियो। त्यसकारण विगतमा ब्रेन ट्युमरका बिरामीहरु थोरै मात्रै पत्ता लाग्ने गथ्र्यो। पछिल्लो समय बिरामीहरुमा रोगबारेको चेतना बढ्दै गएको पाइन्छ। उपचारका लागि यन्त्र, उपकरण तथा प्रविधिको उपलब्धता पनि बढ्दै गएको पाइन्छ। त्यसकारण ब्रेन ट्युमरका बिरामीहरु बढ्दै गएका छन्।