पोखरा - गण्डकी आयुर्वेद अस्पताल, पोखराले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको खुला जनचेतनामूलक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगितामा दाङकी प्रियङ्का चौधरी प्रथम भएकी छन्।
त्यसैगरी सविता केसी द्वितीय र डा. सरोज पन्थी तृतीय भएका छन्। प्रतियोगितामा प्राप्त भिडियोको मूल्याङ्कन अस्पतालको मूल्याङ्कन समितिले गरेको थियो। नतिजा अस्पतालका कन्सल्टेन्ट शल्य चिकित्सक डा. दीक्षा पौडेलले सार्वजनिक गरेकी थिइन्।
प्रतियोगिताको नतिजा सार्वजनिक गर्नुका साथै अस्पतालले धन्वन्तरीको मूर्तिमा पूजाअर्चना र माल्यार्पण गरी २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाएको छ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी आयुर्वेद अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ ढुंगानाले अध्यक्षता गरेका थिए।
कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालय पर्वतका प्रमुख डा. किरणकमल बस्ताकोटी, स्वास्थ्य मन्त्रालयका बुद्धिसागर अधिकारी, गण्डकी प्रदेश अडानका सदस्य–सचिव डा. विवश बास्तोलालगायतको आतिथ्यता थियो। नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रीय सचिव कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश अध्यक्ष विष्णु चापागाईं, प्रदेश सचिव राजेन्द्र अधिकारी तथा आयुर्वेद व्यवसायी विष्णु बस्याल र गंगा लामिछानेको पनि सहभागिता थियो।
अस्पतालकी कन्सल्टेन्ट कायचिकित्सक डा. सुनिता आचार्यले स्वागत मन्तव्य राख्दै यस वर्षको राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको नारा ‘प्रकृतिअनुकूल आहार, औषध र विहार; रोगमुक्त समाजको आधार’ माथि प्रकाश पारेकी थिइन्। उनले दिवसको महत्व र आयुर्वेद जीवनशैलीको आवश्यकताबारे चर्चा गरेकी थिइन्।
स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र डिजिटल माध्यमबाट सर्जकहरूलाई स्वास्थ्य अभियानमा जोड्ने उद्देश्यले भिडियो प्रतियोगिता आयोजना गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा लामो समयदेखि आयुर्वेद क्षेत्रमा सेवा गर्दै आएकी अस्पतालकी वैद्य निरीक्षक सीता शर्मालाई पनि सम्मान गरिएको थियो। यसै महिनाको अन्त्यमा अनिवार्य अवकाश लिन लागेकी शर्मालाई सेवा निवृत्त जीवनको सुखद कामना गर्दै सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि डा. केसीले जनचेतनामूलक भिडियो प्रतियोगिता आयोजना गर्नु उदाहरणीय कार्य भएको बताए। सन्तुलित, स्वच्छ र स्वस्थ आहारविहारले विभिन्न रोगको जोखिम कम गर्न तथा सुखद र स्वस्थ दीर्घजीवन प्राप्त गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय आयुर्वेद सेवा र समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।
कार्यक्रममा ऋतु र प्रकृतिअनुकूल आहार समावेश गरिएको पञ्चपुरीसहित प्रसाद वितरण गरिएको थियो।