धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई दिने अन्तर्राष्ट्रिय स्तरको क्यान्सर कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानको अन्कोलोजी डिभिजनको तत्वावधान, वीपीकेआइएचएस् स्टुडेन्टस् अन्कोलोजी विंग्सको संयोजकत्व, हेल्थ भोलुन्टियर्स ओभरसिजको सहयोग तथा नेपाल हस्पिस केयर सेन्टर, धरानको आयोजनामा उक्त कार्यशाला कात्तिक १९ र २० गते सञ्चालन गरिएको थियो।
'समुदायलाई क्यान्सर उपचार सेवासाँग जोडिरहेको: कोशी प्रदेशमा क्यान्सर स्क्रिनिङ तथा प्रारम्भिक पहिचानको प्रवर्द्धन” मूल नारासहित आयोजित कार्यशालाको उद्घाटन कात्तिक १९ गते प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झाले पानसमा बत्ती बालेर गरेका थिए। कोशी प्रदेशमा क्यान्सरको बढ्दो चुनौतीलाई सम्बोधन गर्दै रोकथाम, समयमै पहिचान, स्क्रिनिङ र उपचार सेवामा समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।
उद्घाटन सत्रमा प्रा.डा. शिवेन्द्र झा, प्रदेश सचिव डा. कीर्तिपाल सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यशालाको उद्देश्यमाथि अन्कोलोजी डिभिजन प्रमुख डा. सोनिया दुलालले प्रकाश पारेका थिए। साथै, अमेरिकाबाट आएकी एचभीओ बीपीआरईएन/जीपीएनकी आयोजना निर्देशक डा. मेलानी थोमसले पूर्वी नेपालमा अन्कोलोजी जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा प्रस्तुति दिएकी थिइन्।
कार्यशालामा महिला स्वास्थ्य स्वयंसेविका, नर्सिङ कर्मचारी तथा अन्य समुदायस्तरका स्वास्थ्यकर्मीहरूलाई क्यान्सरका प्रारम्भिक लक्षण पहिचान, जनचेतना अभिवृद्धि र समयमै स्वास्थ्य संस्थामा प्रेषण गर्ने प्रणालीबारे प्रशिक्षित गरिएको थियो।
कार्यशालामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङबारे डा. सूर्यप्रसाद रिमाल, स्तन क्यान्सर स्क्रिनिङबारे डा. शारदा खड्का र फोक्सोको क्यान्सर स्क्रिनिङबारे डा. अग्रज उप्रेतीले सहजीकरण गरेकी थिइन्। त्यसैगरी, प्रा.डा. विष्णुदत्त पौडेलको सहजीकरणमा कोशी प्रदेशभर क्यान्सर स्क्रिनिङ प्रभावकारी बनाउने र प्रभावकारी रेफरल प्रणालीबारे प्यानल छलफल भएको थियो।
ग्यास्ट्रोएन्टेरोलोजी तथा कलेजोको प्राथमिक क्यान्सर स्क्रिनिङबारे डा. प्रकाश साप्कोटा र डा. बरुणेन्द्र योगीले प्रस्तुति दिएका थिए। मुख तथा टाउको–घाँटीको क्यान्सरबारे डा. दीपक पौडेल र डा. कश्मिरा पोखरेलले सत्र सञ्चालन गरेकी थिइन् भने बिरामीको उपचार यात्रामा फार्मासिस्टको भूमिकाबारे प्रा.डा. विष्णुदत्त पौडेल र डा. सोनिया दुलालले सहजीकरण गरेकी थिइन। साथै, सामुदायिक नर्सिङ विभागले शंकास्पद लक्षण देखिएदेखि निदान र उपचारसम्मको बिरामीको यात्राबारे प्रस्तुति दिएको थियो।
-1794041155.jpeg)