प्रत्यारोपणका लागि मुटु लैजाँदै चिकित्सक /तस्विर : द हिन्दु
भारत- लामो र कठिन प्रतीक्षापछि नेपाली नागरिक दुर्गा कामीले नयाँ जीवन पाएकी छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार भारतको केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सोमबार उनको सफल मुटु प्रत्यारोपण गरिएको हो। अस्पताल प्रशासनका अनुसार शल्यक्रिया सफल भएको छ र हाल बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ। आगामी ४८ देखि ७२ घण्टा उनी कडा निगरानीमा रहनेछिन्।
चार घण्टा लामो शल्यक्रियासँगै एर्नाकुलम जनरल अस्पताल भारतकै पहिलो जिल्ला अस्पताल बनेको छ, जहाँ मुटु प्रत्यारोपण सफलतापूर्वक गरिएको छ। अस्पतालका अनुसार यो ऐतिहासिक प्रत्यारोपण न्यायिक हस्तक्षेपपछि सम्भव भएको हो। २२ वर्षीया अनाथ दुर्गा कामी ‘सुपर अर्जेन्ट’ मुटु प्रत्यारोपण सूचीमा रहे पनि कानुनी प्रावधानका कारण सुरुमा समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। भारतीय कानुनअनुसार दाता मुटु वितरण गर्दा भारतीय नागरिकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ।
दुर्गा कामी, जसलाई अर्पणा भनेर पनि चिनिन्छ, झण्डै एक वर्षदेखि भारतमा मुटु रोगको उपचार गराइरहेकी थिइन्। उनको मुटु ४६ वर्षीय एस. शिबु नामक व्यक्तिबाट प्राप्त गरिएको हो। कोल्लम निवासी शिबु थिरुवनन्तपुरमस्थित सरकारी मेडिकल कलेज अस्पतालमा ब्रेन डेड घोषित भएपछि उनका अंग दान गरिएको थियो।
जनरल अस्पतालका डा. जर्ज भालुरान, डा. पल थोमस र डा. जियो पलसहित आठ सदस्यीय चिकित्सक टोली सोमबार बिहान थिरुवनन्तपुरम पुगेर मुटु संकलन गरेको थियो। बिहान ११ बजे सुरु भएको शल्यक्रिया विभिन्न अंग संकलन गर्नुपर्ने भएकाले दिउँसो १ बजेपछि मात्र सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ। संकलित मुटु हवाईमार्गबाट कोची ल्याइएर अपराह्न ३:१५ बजे अप्रेसन थिएटरमा पुर्याइएको थियो।
प्रत्यारोपणको तयारीका लागि दुर्गा कामीलाई आइतबार राति (डिसेम्बर २१) जनरल अस्पतालमा भर्ना गरिएको थियो। दाता र प्राप्तकर्ताबीच रगत समूह तथा एचएलए (ह्युमन ल्युकोसाइट एन्टिजन) मिलान सफल भएपछि चिकित्सकहरू मुटु प्रत्यारोपणको निर्णयमा पुगेका थिए।
सडक दुर्घटनामा परेका शिबु पछिल्लो सात दिनदेखि भेन्टिलेटरमा थिए। उनको मुटुसहित मिर्गौला, कर्निया, कलेजो र छाला पनि विभिन्न बिरामीलाई प्रत्यारोपण गरिने अस्पतालले जनाएको छ। एक मिर्गौला र छाला थिरुवनन्तपुरमस्थित सरकारी मेडिकल कलेजलाई, अर्को मिर्गौला कोल्लमको ट्राभानकोर मेडिकल कलेजलाई, कर्निया क्षेत्रीय नेत्र विज्ञान संस्थानलाई तथा कलेजो एक निजी अस्पताललाई उपलब्ध गराइने जनाइएको छ।