विद्यालय स्वास्थ्य नर्स विद्यालय समुदायको अभिन्न अङ्ग हो। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्य प्रवर्धन गर्दै सुरक्षित, स्वस्थ र सिकाइमैत्री वातावरण सिर्जना गर्नु विद्यालय स्वास्थ्य नर्सको प्रमुख जिम्मेवारी हो। यही जिम्मेवारीबोधका साथ म विगत करिब पाँच वर्षदेखि विद्यालय स्वास्थ्य नर्सको रूपमा निरन्तर रूपमा कार्यरत छु।
यस अवधिमा मैले विभिन्न विद्यालयहरूमा नियमित स्वास्थ्य सेवा प्रदान गर्ने, प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य व्यवस्थापन, स्वास्थ्य परीक्षण, विद्यार्थीहरूको स्वास्थ्य अभिलेख व्यवस्थापन, औषधि व्यवस्थापन, तथा विद्यालयमा देखिने सामान्य रोगहरूको निगरानी र सन्दर्भ सेवा जस्ता कार्यहरू जिम्मेवारीपूर्वक सम्पादन गर्दै आएको छु।
विद्यालयमा कार्यरत रहँदा विद्यार्थीहरूको व्यक्तिगत स्वास्थ्य समस्या पहिचान गर्ने, मानसिक स्वास्थ्य सम्बन्धी प्रारम्भिक संकेतहरू बुझ्ने, पोषण, सरसफाइ, व्यक्तिगत स्वच्छता, किशोर–किशोरी स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन, नशालु पदार्थ दुरुपयोग रोकथाम, तथा संक्रमणजन्य र गैर–संक्रमणजन्य रोगहरू सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छु।
साथै, विद्यार्थी मात्र नभई अभिभावक र शिक्षकहरूका लागि पनि स्वास्थ्य सचेतनामूलक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने अनुभव हासिल गरेको छु।
हाल म विगत एक वर्षदेखि रोशी माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य नर्सको रूपमा कार्यरत छु। यस विद्यालयमा कार्यरत रहँदा विद्यालय प्रशासन, शिक्षकहरू तथा विशेषगरी प्रधानाध्यापकज्यूबाट प्राप्त सहयोग, विश्वास र सकारात्मक वातावरणले मेरो पेशागत क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
यसै वर्ष सम्पन्न भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्रममा हाम्रो विद्यालयमा कुनै पनि स्वास्थ्य चौकीका कर्मचारीको प्रत्यक्ष सहभागिता बिना, केवल विद्यालय स्वास्थ्य नर्सहरूको टिमद्वारा सम्पूर्ण स्वास्थ्य सेवा व्यवस्थापन गरिएको थियो।
उक्त प्रतियोगितामा म विद्यालय स्वास्थ्य नर्सहरूको टिम लिडरको भूमिकामा रही स्वास्थ्य सेवा योजना निर्माण, प्राथमिक उपचार केन्द्र सञ्चालन, आकस्मिक केसहरूको तुरुन्त व्यवस्थापन, आवश्यक सन्दर्भ सेवा समन्वय, औषधि तथा सामग्री व्यवस्थापन, तथा समग्र स्वास्थ्य सेवा समन्वय कार्यलाई सफल र प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम भए।
कार्यक्रमको दौरानमा देखिएको हाम्रो सक्रियता, जिम्मेवारीबोध, टिमवर्क र उत्कृष्ट व्यवस्थापन क्षमताको उच्च कदर स्वरूप विद्यालय प्रशासनद्वारा चार जना विद्यालय स्वास्थ्य नर्सहरूलाई प्रशंसा–पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। यस सम्मानले विद्यालय स्वास्थ्य नर्सको भूमिकाको महत्वलाई थप उजागर गर्नुका साथै सम्पूर्ण टिमलाई अझ उत्साहित र गौरवान्वित बनाएको छ।

यस सम्पूर्ण अनुभवले मलाई नेतृत्व क्षमता, टिम व्यवस्थापन, आपतकालीन स्वास्थ्य सेवा, कार्यक्रम योजना तथा कार्यान्वयनमा अझ दक्ष बनाएको छ। आगामी दिनहरूमा पनि विद्यालय स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न विद्यार्थी केन्द्रित, उत्तरदायी र पेशागत रूपमा समर्पित भई कार्य गर्ने दृढ संकल्प लिएको छु।
स्वस्थ विद्यार्थी, सुरक्षित विद्यालय र सशक्त भविष्य निर्माणका लागि विद्यालय स्वास्थ्य नर्सको भूमिका अझ महत्वपूर्ण छ भन्ने विश्वासका साथ म निरन्तर सेवामा प्रतिवद्ध रहनेछु।
(बिमला हायो काभ्रेपलाञ्चोकस्थित रोशी माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य नर्सको रुपमा कार्यरत छिन्।)