हर व्यक्तिको मुखमै झुण्डिएको शब्द ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धमा जति आशा र अवसरको चित्र कोरिएको छ, उति नै संशय र सतर्कताको लेन्स पनि तेर्सिएको छ। हर सन्दर्भ, हर समस्या र हर समयमा ‘एआई’ को सम्झना आउनुले यसको महत्व झल्काएको छ। युभल नोहा हरारीजस्ता विश्वप्रसिद्ध दार्शनिक लेखक र ‘एआई’ कै गडफादरका रूपमा चर्चित नोबेल पुरस्कार विजेता जेफ्री हिन्टनले समेत ‘एआई’ माथि आशंकाका शब्दहरू खन्याइदिँदा यस सम्बन्धमा आम मानिसले बुझेका ‘मानिसको रोजगारी खोसिदिन्छ’, ‘एआईले आफूभन्दा विकसित सिन्थेटिक इन्टेलिजेन्स र सुपर इन्टेलिजेन्स विकास गरेर प्रकारान्तरमा मान्छेलाई नै टक्कर दिन्छ रे’ भन्ने बुझाइमा मलजल हुने नै भयो। वास्तविकता के हो, कसो हो, यसै भन्न सकिँदैन। कुरो रह्यो—स्वास्थ्यका सवालमा ‘एआई’ ले हामीलाई रिझाउला कि बिझाउला त?
स्वास्थ्य क्षेत्रमा ‘एआई’ कत्तिको ‘म्याच’ हुन्छ ?
चिकित्सा जगतका केही प्रकृति र विकृति नै यस्ता छन् कि लाग्छ-‘एआई’ जस्तो प्रविधि नभएर यो क्षेत्र रुख्खिएको थियो। धेरैभन्दा धेरै तथ्यांक उत्सर्जन हुनु, धेरैथरी सरोकारवाला भएर बृहत ‘इकोसिस्टम’ हुनु, धेरैथरी नियामक हुनु, धेरै विशेषज्ञता र विशेषता हुनु, भएजति सबै मानिस नै यस क्षेत्रका उपभोक्ता हुनु, तथ्यांकलाई एक ठाउँबाट अर्को ठाउँमा सारफेर गर्नुपर्ने आवश्यकता हुनु, मानव जीवनसँग जोडिएको कारण सेवाको छिटो, छरितो र न्यून खर्चमा प्रवाहको माग हुनुजस्ता कारणले स्वास्थ्य क्षेत्र ‘एआई’ सुहाउँदो क्षेत्रमा पर्न आउँछ। उसैपनि समग्र मानव–उत्सर्जित तथ्यांकको कुल भण्डारणमा स्वास्थ्य क्षेत्रकै करिब १० प्रतिशत हाराहारी हिस्सा हुनुबाट पनि यो क्षेत्र ‘एआई’ का लागि उर्वर रहेको बुझिन्छ।
उपचारात्मक सेवामा ‘एआई’ ले कहाँ–कहाँ ठाउँ भेट्छ ?
चिकित्सक वा स्वास्थ्यकर्मीले आरामले ‘हिस्ट्री’ लिइरहँदा ‘भ्वाइस टु टेक्स्ट’ विधिले भनेझैँ मेडिकल रेकर्ड तयार गरिदिनु, छुटेका प्रश्न अलर्ट गराइदिनु, आवश्यक शारीरिक जाँच सुझाइदिनु, सम्भावित ‘डायग्नोसिस’ सम्झाइदिनु, ल्याब जाँचको सूची र सेड्युल बताइदिनु, रेडियोलोजी वा ईसीजीमा प्रिसिजन र एक्युरेसीसहित रोग पत्ता लगाइदिनु, एक वचनमै वा एक क्लिकमै प्रेस्क्रिप्सन तयार गरिदिनु, भर्ना वा शल्यक्रियाको आवश्यकता बताइदिनु, उपचार सफलताको सम्भावना (प्रोग्नोसिस) आकलन गर्नुजस्ता धेरै कदममा ‘एआई’ सहयोगी बन्न सक्छ। खोकीको आवाज वा सास फेर्ने तरिका नियालेर आफैं रोग सुझाइदिने विधि समेत विकास भइसकेका छन्। त्यस्तै ‘नेनो टेक्नोलोजी’ जस्ता नयाँ प्रविधिमा माइक्रो चिप्समार्फत क्यान्सर भएका कोषिका पहिचान गरी आवश्यक कारबाही गर्ने ‘थेराग्नोस्टिक’ (डायग्नोसिस र थेरापीको मिश्रित शब्द) वा क्यान्सर हुने सम्भावित कोषिकालाई पहिले नै तह लगाउने ‘प्रेडिक्टिभ ट्रीटमेन्ट’ सम्ममा पनि ‘एआई’ को भूमिका देखिन थालेको छ।
के अब ‘एआई’ ले चिकित्साकर्मीको भूमिकामा धावा बोल्ला त ?
स्वास्थ्य क्षेत्रमा ‘एआई’ राम्रो सहायक बन्न सक्छ। हर विधामा यसको कुनै न कुनै तहको महत्व प्रष्ट भइसकेको छ। विकसित मुलुकहरूमा बिरामी र आम उपभोक्ताको पक्षमा पनि ‘भर्चुअल हेल्थ असिस्टेन्ट’ जस्ता ‘एआई एजेन्ट’ ले धेरै समाधान घरमै उपलब्ध गराउने अवस्था बनाएका छन्। ‘आईओएमटी’ अर्थात् ‘इन्टरनेट अफ मेडिकल थिङ्स’ को अवधारणाले आफैं स्वास्थ्य स्क्रिनिङ गर्न सकिने अवस्था सिर्जना गरेको छ। तर त्यसो भन्दैमा स्वास्थ्य क्षेत्रमा ‘एआई’ ले चिकित्सक विस्थापित गर्ने, अस्पताल सुकाइदिने जस्ता सम्भावनाहरू केवल दुष्प्रचार मात्र देखिन्छन्। विभिन्न अध्ययनहरूलाई हेर्दा पनि यस्ता आशंका टिकाउ देखिँदैनन्। स्वास्थ्यसम्बन्धी तथ्यांक एकनासको नभई विविध हुने भएकाले ‘एआई’ लाई जुनसुकै मोडलमा ‘ट्रेन’ गरे पनि सम्पूर्ण शृंखला जादुमय तरिकाले जिम्मा लिन कठिन देखिन्छ। त्यसैगरी, स्वास्थ्योपचारमा जवाफदेहिता र कडा नियमन रहने भएकाले पनि यस्तो सम्भावना कमजोर हुन्छ। ‘मैले होइन, एआईले हो’ भनेर जस–अपजस उता तेर्स्याउन सजिलो छैन। सबैभन्दा मुख्य कुरा—स्वास्थ्य भनेको मानवीय संवेदना, सुझबुझ, अन्तर–विभागीय छलफल र सेकेन्ड ओपिनियन हावी हुने क्षेत्र भएकाले ‘एआई’ आएर यसलाई ‘डिह्युमनाइज’ गरेको स्वीकार्य नहुने देखिन्छ।
उसो भए स्वास्थ्यमा ‘एआई’ ले रिझाउला कि बिझाउला त ?
‘एआई’ ले जति डंका पिटे पनि, जति यसबारे अफवाह फैलिए पनि, यसले स्वास्थ्य क्षेत्रलाई मानव स्रोतविहीन बनाउने, स्वास्थ्यकर्मीलाई हायलकायल पार्ने, निर्णय उल्ट्याइदिने वा बिगार गर्ने सम्भावना न्यून छ। ‘एआई’ ले बरु एकनासका डेटा र पूर्ण रूपमा गणितीय निर्णय प्रक्रियामा आधारित हवाई उड्डयन वा बैंकिङ क्षेत्रलाई मानवरहित बनाउन सक्ला, तर स्वास्थ्य क्षेत्रमा भने एक सच्चा साथी वा सल्लाहकारको भूमिका खेल्न सक्छ—तर कुनै अकल्पनीय संकट सिर्जना गर्न सक्दैन। अर्थात्, ‘एआई’ ले स्वास्थ्य क्षेत्रलाई रिझाउने देखिन्छ, बिझाउने देखिँदैन।