हाम्रो समाजमा विवाहपछि बच्चा चाहनु केवल दम्पतीको इच्छा मात्र होइन। पारिवारिक र सामाजिक अपेक्षा पनि हुन्छ। दुवैले भविष्यको सपना बाँड्छन, घरपरिवारमा बच्चाको हाँसो, न्यानो कपडाको तयारी, नाम रोज्ने कुरा र मनभरी आशा। र, कहिले काहि यो यात्रा अचानक रोकिन्छ।
गर्भवती हुनुको खुशी, उत्साह र तयारी एकै पटक चुँडिएर भुईमा झर्छ। गर्भपतन एक अत्यन्तै संवेदनशील र व्यक्तिगत अनुभव हो। नेपाली समाजमा यसबारे खुल्न, रुन वा आफ्नो दुख बाँड्न अझैपनि लाजको विषय मानिन्छ। गर्भ नटिकेपछि दुःख त आफ्नै मनमा हुन्छ। तर बाहिर समाजको मौन टिप्पणीले झनै गार्हो पार्छ।
तर आज हामी यही मौनतालाई तोड्ने प्रयास गर्छौं। गर्भपतन एक स्वास्थ्य समस्या हो, कुनै पाप होइन। यसका बारे राम्रोसँग जानकारी रहेमा कतिपय अवस्थामा गर्भपतनलाई रोकथाम गर्न सकिन्छ। गर्भपतन भइहाले थप जटिलताबाट जोगाउन सकिन्छ। र, यसको असरबाट बाहिरिन सजिलो हुन्छ।
गर्भपतन भनेको के हो ?
सामान्य भाषामा भन्नुपर्दा जन्मिएर बाँच्न सक्ने अवस्था (गर्भको व्यवहार्यता) हुनुभन्दा पहिले गर्भावस्था आफैँ रोकिनु वा विकास हुँदै गरेको बच्चाको मृत्यु हुनुलाई गर्भपतन भनिन्छ।
विभिन्न संस्था र उपलब्ध स्रोतहरूका आधारमा गर्भको व्यवहार्यताको समय फरक फरक हुन्छ। नेपालको सन्दर्भमा गर्भपतन भनेको २८ हप्ता (७महिना) वा १ किलोग्राम शिशुको तौल नहुञ्जेलको गर्भावस्था आफैँ रोकिनु र विकसित भईरहेको बच्चाको मृत्यु हुनु हो। यो प्राकृतिक रूपमा हुन्छ।
विश्वभर १० देखि २० प्रतिशत महिलाले आफ्नो जीवनमा कम्तिमा एक पटक गर्भपतनको अनुभव गर्छन्। गर्भवती अवस्थामा यदि तलका लक्षणहरू देखिए तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्त्री रोग विशेषज्ञलाई सम्पर्क गर्नुहोस् :
१. योनीबाट रगत बग्नु : हल्का गुलाबीदेखि गाढा रातोसम्म वा अचानक धेरै रगत बग्न थाल्नु
२. पेटको तल्लो भागमा तीव्र दुखाइ : महिनाबारी जस्तै तर झन् बलियो, निरन्तर वा झट्का–झट्कामा आउनु
३. रगतका थुप्रो/मासुजस्तै चोक्टा निस्किनु : ठूलो फोहोरजस्तै निस्कनु
४. गर्भका लक्षणहरू अचानक हराउनु : स्तन दुखाइ कम हुनु, वाकवाकी अचानक घट्नु, गर्भको अनुभूति हराएजस्तो लाग्नु
५. कम्मर वा तल्लो पेटमा असामान्य दुखाइ : सामान्य पीठ दुखाइभन्दा फरक, चाप परेजस्तो वा भारीपन महसुस हुनु।
गर्भपतनका कारण
धेरैजसो (लगभग आधा भन्दा बढी) अवस्थामा गर्भपतनको कारण पत्ता लाग्दैन। तर प्रायः यी कारणहरूले गर्भपतन हुन्छ :
१. क्रोमोसोमल असामान्यता : यो सबै भन्दा ठूलो कारण हो। भ्रूणको विकासमा आनुवंशिक त्रुटि हुँदा बच्चाको विकासमा असामान्य परिवर्तन आउछ र गर्भ आफैँ रोकिन्छ।
२. आमा स्वयंको स्वास्थ्य समस्या : नियन्त्रणमा नभएको मधुमेह, थाइराइड, अटोइम्युनरोग, गम्भीर संक्रमण, यौनजन्य रोग, वा गर्भाशयको संरचनागत समस्या आदिले गर्दा भू्रणको विकासमा बाधा पुग्दछ र गर्भ तुहिन्छ।
३. जीवनशैली : धूमपान, रक्सी, अत्यधिक कफी, कुपोषण, तनाव आदिले भू्रणको विकास रोकिन्छ।
४. उमेर : महिलाको उमेर ३५ वर्षपछि गर्भपतनको जोखिम बढ्छ। ४० वर्षपछि यो झन् बढी हुन्छ। उमेरसंगै अण्डाको गुणस्तर खस्कदै जाने भएकोले भू्रणको विकासमा आनुवंशिक त्रुटिको दर बढ्ने गर्छ।
गर्भपतनपछि के गर्ने ?
गर्भपतनको शंका लाग्ने बितिकै तुरुन्त स्वास्थ्यकर्मीलाई भेट्नुहोस्। अल्ट्रा साउन्डबाट गर्भ पूर्ण रोकेको छ कि छैन वा बाँकी अवशेष छ छैन थाहा हुन्छ। अपूर्ण गर्भपतन भए एमभीए प्रक्रिया वा औषधिको आवश्यकता पर्नसक्छ। कुन विकल्प उपयुक्त हुन्छ, त्यो महिलाको स्वास्थ्य अवस्था, रक्तस्रावको मात्रा र भावनात्मक तथा शारीरिक तयारी अनुसार तय गरिन्छ।
गर्भपतनपछि शरीरले गर्भासयभित्रको बच्चा हटाउन प्रयास गर्छ। धेरै अवस्थामा यो प्रक्रिया स्वाभाविक रूपमा पुरा हुन्छ। तर कतिपय अवस्थामा यो प्रक्रिया पूरा हुँदैन। जसमा गर्भका केहि अंश भित्रै बाँकी रहन्छ। यसले अत्यधिक रक्तस्राव, संक्रमण, पेट दुखाइ जस्ता समस्या ल्याउन सक्छ।
शरीर र मन दुवैलाइ पुर्नस्थापना हुन समय चाहिन्छ। त्यसैले आफूप्रति कोमल र धैर्यवान् बन्नु अत्यन्त महत्वपूर्ण हुन्छ। पर्याप्त आराम दिएर शरीरलाई निको हुन दिनुहोस्। किनकि थकान र कमजोरी सामान्य हुन्छन्। रगत बग्दासम्म सर्सफाइमा विशेष ख्याल गर्नु आवश्यक छ। प्याड मात्र प्रयोग गर्नुहोस्। ट्याम्पोन वा मेन्स्ट्रुअल कप प्रयोग नगर्नुहोस्, ताकि संक्रमणको जोखिम कम रहोस्।
पौष्टिक खाना फलफूल, हरियो सागसब्जी, प्रोटीनयुक्त परिकारले ऊर्जा र रगतको मात्रा पुनः सन्तुलन गर्न मद्दत गर्छ। डाक्टरले दिएको औषधि भनेको समयमा सेवन गर्नु अनिवार्य छ। साथै, कुनै असामान्य लक्षण जस्तै अत्यधिक रगत बग्नु, ज्वरो आउनु, वा तीव्र पेट दुखाइ देखिए तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नु महत्वपूर्ण छ। शारीरिक जत्तिकै महत्व मानसिक स्वास्थ्यको पनि हुन्छ। त्यसैले साथी, परिवार वा काउन्सेलरसँग कुरा गर्दै भावनात्मक सहयोग लिनु पनि उपचारको अभिन्न अंश हो।
गर्भपतनपछि आफ्नो स्याहार गर्ने क्रममा केहि खतराका चिन्हहरुको बारेमा सचेत हुनुपर्छ र यी लक्ष्यणहरु देखिना साथ तुरुन्त नजिकको अस्पतालमा जानु पर्छ :
आपतकालीन चेतावनी
एक घण्टामा दुईभन्दा बढी प्याड भिज्ने गरी रगत बग्नु : यो आपतकालीन अवस्था हो। तुरुन्त अस्पताल जानुहोस्।
३८ डिग्रि सेल्सियस भन्दा माथि ज्वरो आउनु : संक्रमणको संकेत हुन सक्छ।
दुर्गन्धित पानी जस्तो योनी श्राव हुनु : यो संक्रमण वा जटिलता भएको संकेत हुन सक्छ।
तल्लो पेट वा कम्मरमा अत्यधिक, सहन नसकिने दुखाइः सामान्य मासिकजस्तै नभई, सहन नसकिने किसिमको दुखाइ।
अत्यधिक कमजोरी, चक्कर वा बेहोसजस्तै हुनु : रगत धेरै बगिरहेको वा शरीरमा समस्या भइरहेको संकेत।
ठूलो–ठूलो रगतका चोक्टा बारम्बार निस्किनु : इन्कम्प्लीट मिसक्यारेज हुन सक्छ। उपचार आवश्यक छ।
गर्भका लक्षणहरू अचानक हराउनु (स्तन दुखाइ, वाकवाकी आदि) : डाक्टरसँग परामर्श लिनुहोस्।
गर्भपतन कसरी रोक्न सकिन्छ ?
प्रारम्भिक गर्भपतन धेरैजसो रोक्न सकिँदैन। किनकि धेरै जस्तो अवस्थामा यसको मुख्य कारण भ्रूणमा हुने प्राकृतिक त्रुटि हो। तर केही अवस्था भने रोकथामका उपायहरू अपनाइन्छ :
गर्भ धारण पूर्व विशेषज्ञसंग परामर्श लिएर तयारी गर्ने र फोलिक एसिड औषधि खान शुरु गर्ने
गर्भावस्थामा स्वास्थ्य संस्थामा गई नियमित जाँच गराउने
थाइराइड समस्या, मधुमेह, रक्तचाप, हर्मोन नियन्त्रणमा राख्ने
धूम्रपान, मदिरार हानिकारक औषधि सेवन नगर्ने
उचित सरसफाई, पोषण र मानसिक स्वास्थ्यमा ध्यान दिने
धेरै पटक गर्भपतन भइसकेको भएकारण पत्ता लगाउनको लागि उचित जाँच गर्ने
गर्भपतन स्वस्थ महिलामा पनि हुन सक्छ र धेरै जस्तो अवस्थामा यसले भविष्यका गर्भावस्थामा असर पार्दैन।
गर्भपतन सम्बन्धी समाजमा फैलिएका मिथ्या विश्वास
सामाजिक धारणा र सुनेका कुरा धेरैजसो विज्ञानसँग मेल खाँदैनन्। तर गर्भपतन जस्तो संवेदनशील विषयमा त यसले झन् आमाहरूलाई अनावश्यक रूपमा दोषी ठहरिने अवस्था सिर्जना गर्छ। धेरैले हल्का घरायसी काम गर्नु, थोरै हिँडडुल वा सीढी चढ्नु, मन नलागेर केही नखानु, झगडा–तनाव, बिजुलीको चमक वा ग्रहदशाजस्ता कुरा गर्भपातको कारण हो भनेर मान्छन्।
कहिलेकाहीँ त साना बच्चाले छोएर “नजर” लाग्यो भनेर पनि दोष लगाइन्छ। तर वैज्ञानिक प्रमाणले यसलाई समर्थन गर्दैन। सामान्य गर्भावस्थामा यस्ता सामान्य गतिविधिहरू गर्भपातको कारण बन्ने सम्भावना हुँदैन। यस्ता मिथ्याहरूले सत्यभन्दा डर र आरोप बढी फैलाउँछन्, त्यसैले ज्ञान र संवेदनशीलतासँग अघि बढ्नु आवश्यक छ।
गर्भपतनपछि मानसिक अवस्था
गर्भपतनपछि मानसिक स्वास्थ्यको प्रभाव धेरै गहिरो हुन सक्छ, र यो प्रत्येक महिलामा फरक–फरक रूपमा प्रकट हुन्छ। शारीरिक पीडा बिस्तारै निको हुन्छ, तर भावनात्मक चोट शान्त हुन समय लाग्न सक्छ।
सबैभन्दा पहिले आफूलाई दोष नदिनुहोस्। गर्भपतन प्रायः तपाईको नियन्त्रण बाहिरका कारणले हुन्छ। आफ्ना भावनाहरू दबाएर नराखी, पति–पत्नी वा नजिकका साथी–परिवारसँग खुलेर कुरा गर्नु ठूलो राहत बन्न सक्छ। विश्वासिलो व्यक्तिका साथ बोल्नु भावनात्मक भार हल्का बनाउने प्रभावकारी उपाय हो।
यदि निराशा, निद्रामा समस्या, भोक हराउनु, लगातार रोइरहनुजस्ता लक्षणहरू केही हप्तासम्म रहिरहे काउन्सेलर वा मनोवैज्ञानिकसँग भेट्नु अत्यन्त महत्वपूर्ण हुन्छ। समाजका तुच्छ टिप्पणी, दोषारोपण वा अन्धविश्वासले तपाईंको पीडा बढाउन सक्छ, त्यसैले त्यस्ता कुराहरूलाई मनमा नलिनुहोस्। आफूलाई समय दिनु, भावनाहरू स्वीकार्नु र आवश्यक सहयोग लिनु यी सबै उपचार प्रक्रियाका भाग हुन्।
गर्भपतनपछि फेरी गर्भधारण सम्भव छ ?
गर्भपतनपछि अनुभव निकै कठिन हुन सक्छ। तर भविष्यमा स्वस्थ गर्भधारण सम्भव नहुने भन्ने डरले धेरै महिलालाई अनावश्यक तनाव दिन्छ। वास्तवमा एक पटक गर्भपतन भइसकेपछि पनि लगभग ८५ प्रतिशत महिलाले पुनः पूर्ण रूपमा सामान्य गर्भधारण गर्न सक्छन्।
शरीर र गर्भाशयलाई पुनः तयारीका लागि समय दिन सामान्यतया २–३ महिनापछि गर्भधारण प्रयास गर्नचिकित्सकहरूले सुझाउँछन्। यदि लगातार दुई वा तीन पटक गर्भपात दोहोरिएको छ भने क्रोमोसोम परीक्षण, गर्भाशयको संरचना जाँच, हर्मोनको सन्तुलन, थाइरोइड, र रक्तका केही विशेष परीक्षणहरू गर्न आवश्यक पर्न सक्छ। साथै गर्भ लिनुअघि फोलिक एसिड सेवन गर्ने, स्वास्थ्यकर खानपान, तौल सन्तुलनमा राख्ने, र तनाव व्यवस्थापन गर्ने जस्ता उपायहरूले भविष्यको गर्भावस्था अझ स्वस्थ र सुरक्षित बनाउन मद्दत गर्छ। सबैभन्दा महत्वपूर्ण कुरा आफूलाई दोष नदिनु र आवश्यक परे चिकित्सकीय तथा भावनात्मक सहयोग लिनु हो।
निष्कर्ष
गर्भपतन जीवनको एक दुःखद अध्याय हो। तर यो जीवनको अन्त्य होइन, न त सपनाको अन्त्य नै। यो प्रकृतिकै एक क्रूर सत्य हो, जसलाई हामी मानवीयसंवेदनाका साथ बुझ्न र स्वीकार्न सिक्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा आफूप्रति दयालु बन्नुहोस्। आफ्नो शरीर र मनलाई समय दिनुहोस्। यो पीडालाईआफै भित्र नादबाउनु होस्। कुरा गर्नुहोस्, अर्को गर्भावस्थाको आशा राख्नुहोस्। तपाईं एक्लो हुनुहुन्न डाक्टर, परिवार र समुदाय सधैं तपाईको साथमा छन्।
(स्त्री रोग तथा प्रसुति रोग विशेषज्ञ डा श्रीना श्रेष्ठ सिद्धि स्मृति अस्पतालमा कार्यरत छिन्।)