काठमाडौं - भेरी अस्पताल नेपालगञ्जमा आजबाट तीन दिने फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम सुरु भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो।
चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्न सुरु भएको कार्यक्रम पुस १४ गतेसम्म सञ्चालन हुनेछ। भेरी अस्पतालमा एमडी एमएस कोर्सको अध्यापन सुरु भइसकेको छ। स्नातकोत्तर तहका विद्यार्थीलाई प्रभावकारी रुपमा पढाउने सिप विकासका पक्षलाई कार्यक्रममा जोड दिइएको छ।
आधुनिक अध्यापन विधि, पाठ्यक्रम अनुसारको परीक्षा प्रणाली र मूल्यांकन विधि, थेसिस तथा अनुसन्धान निर्देशन लगायत विषयमा प्रशिक्षण दिइने अस्पतालले जनाएको छ। हाल अस्पतालमा कार्यरत ३० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले उक्त प्रशिक्षण लिइरहेको अस्पतालले जनाएको छ।