मानव सभ्यताको इतिहासमा रोग उपचारका विभिन्न पद्धतिहरू विकसित भए। आयुर्वेद, यूनानी, एलोपैथी, प्राकृतिक चिकित्सा आदि सबैले आफ्नो स्थान बनाएका छन्। तर सन् १७९६ मा जर्मन चिकित्सक डा. स्यामुएल हैनिमैनले प्रस्तुत गरेको होमियोपैथी सम्पूर्ण चिकित्सा जगतका लागि क्रान्तिकारी कदम थियो। उनी विज्ञान र मानव करुणा दुवैका प्रतीक थिए। औषधि प्रयोगमा देखिएका दुष्प्रभाव र असफलताबाट निराश भई उनले एक नयाँ, शुद्ध चिकित्सा मार्गको खोजी गरे। यसरी जन्मियो—क्लासिकल होमियोपैथी।
क्लासिकल होमियोपैथी भनेको शुद्ध, मौलिक र हैनिमैनले प्रतिपादित सिद्धान्तअनुसारको उपचार प्रणाली हो। यसमा रोगलाई दबाउने होइन, शरीरभित्र रहेको जीवनशक्ति (Vital Force) लाई सन्तुलित गरी स्वास्थ्य पुनःस्थापना गरिन्छ।
क्लासिकल होमियोपैथीका मूल आधार
१. समानताको नियम (Law of Similars)
यसको आधारवाक्य हो— “Similia Similibus Curentur” अर्थात् “समान समानले निको पार्छ।”
जो पदार्थले स्वस्थ व्यक्तिमा लक्षण उत्पन्न गर्छ, त्यही पदार्थलाई सूक्ष्म मात्रामा रोगीमा दिँदा त्यही प्रकृतिका लक्षण निको हुन्छन्।
उदाहरणः
प्याज (Allium cepa) खाँदा आँखा रसाउँछ, नाक बग्छ।
यही औषधि एलर्जी वा रुघाखोकीमा, जब बिरामीमा त्यही लक्षण देखिन्छ, तब यसै औषधिले निको पार्छ।
२. एक औषधि मात्र (Single Remedy)
क्लासिकल होमियोपैथीमा एउटै समयमा एउटै औषधि मात्र दिइन्छ। बिरामीका सम्पूर्ण मानसिक–शारीरिक तथा भावनात्मक लक्षणलाई समष्टिगत रूपमा मध्यनजर राखी सिमिलिमम (सबैभन्दा मिल्दोजुल्दो औषधि) चयन गरिन्छ। यसले भ्रम कम गर्छ र उपचार गहिरो हुन्छ।
३. न्यूनतम मात्रा (Minimum Dose)
औषधिलाई लगातार घोल्ने र झक्झक्याउने (पोटेनटाईजकेशन) शक्तिकरण प्रक्रिया प्रयोग गरिन्छ। यसरी बनेको औषधि अत्यन्त सूक्ष्म हुन्छ, जसले जीवनशक्तिलाई मात्र स्पर्श गर्छ तर शरीरमा भौतिक विषाक्त असर गर्दैन।
४. जीवनशक्ति (Vital Force)
डा. हैनिमैनका अनुसार रोग शरीरमा मात्र होइन, जीवनशक्तिमा आएको असन्तुलन हो। औषधिले यो शक्ति जागृत गरी शरीरलाई स्वयं निको हुने क्षमता प्रदान गर्छ।
५. समग्र दृष्टिकोण (Holistic Approach)
क्लासिकल होमियोपैथी रोगको नाम हेरेर मात्र होइन, बिरामीको सम्पूर्ण व्यक्तित्व -
शारीरिक लक्षण
मानसिक अवस्था
भावनात्मक प्रतिक्रिया
बानी, व्यवहार, सपना, रुचि–अरुचि, रिस, द्वेष, डर, प्रेम, घृणा
यी सबैलाई आधार मानेर उपचार गर्छ।
उपचार प्रक्रिया
१. केस–टेकिङ (Case Taking)
रोगीको सम्पूर्ण विवरण, रोगको इतिहास, पारिवारिक इतिहास, मानसिक तथा शारीरिक पक्ष, जीवनशैली आदिको गहिरो अध्ययन गरिन्छ।
यसमा होमियोप्याथिक चिकित्सकले रोगीको व्यथा र कथालाई धैर्यपूर्वक सुन्नु र अवलोकन गर्नु आवश्यक हुन्छ।
२. रिपर्टरी र म्याटेरिया मेडिका
संकलित लक्षणलाई Repertory मा राखेर सम्भावित औषधिहरू खोजिन्छ।
त्यसपछि Materia Medica को अध्ययन गरी सबैभन्दा मिल्दो औषधि चयन गरिन्छ।
३. सिमिलिममको चयन (Selection of Simillimum)
रोगीको सम्पूर्ण चित्रसँग मेल खाने एउटै औषधि छनोट गरिन्छ।
यही औषधिले रोगको जरा समातेर रोगीलाई निको पार्छ।
४. परिणामको मूल्याङ्कन
औषधि दिएकोपछि रोगीका लक्षण, मानसिक अवस्था र जीवनशक्तिमा आएको परिवर्तनको अध्ययन गरिन्छ।
यदि औषधि सही भयो भने रोगी क्रमशः समग्र रूपमा सुधार हुँदै जान्छ।
क्लासिकल होमियोपैथीका विशेष लाभ
१. गहिरो उपचार—रोगको जरा समातेर स्थायी निको पार्छ।
२. सुरक्षित—औषधि सूक्ष्म भएकाले कुनै साइड इफेक्ट हुँदैन।
३. समग्र निको—शरीर, मन र आत्मा तीनै तहमा सन्तुलन ल्याउँछ।
४. दीर्घकालीन रोगमा प्रभावकारी—एलर्जी, दम, माइग्रेन, चर्मरोग, मानसिक रोग, हर्मोनल असन्तुलन आदिमा लाभदायी।
५. व्यक्तिगत उपचार—प्रत्येक रोगीलाई अलग–अलग रूपमा हेर्ने भएकाले उपचार अत्यन्त व्यक्तिगत र गहिरो हुन्छ।
आधुनिक चुनौती र क्लासिकल होमियोपैथी
आजको व्यस्त जीवनशैलीमा कतिपय चिकित्सकहरूले सजिलो तरिका अपनाएर—
एउटै समयमा धेरै औषधि दिनु (Polypharmacy)
Complex remedies (मिश्रित औषधि)
केवल रोगको नामअनुसार औषधि दिनु
जस्ता प्रवृत्तिहरू बढिरहेका छन्। तर यसले होमियोपैथीको शुद्धता गुम्ने खतरा बढाउँछ।
क्लासिकल होमियोपैथीले भने यो धारणा दिन्छ—
“सही औषधि, सही मात्रा, सही रोगी” — यही उपचारको वास्तविक मार्ग हो।
व्यावहारिक उदाहरण
एक ३० वर्षीया महिला हरेक वसन्तमा नाक बग्ने, आँखा रसाउने र छिँक लाग्ने गुनासो लिएर आइन्। उनलाई धुलोमा समस्या बढी हुन्थ्यो। उनी सामान्यतया उत्साही तर संवेदनशील स्वभावकी थिइन्।
रिपर्टरी अध्ययनपछि Allium cepa औषधि मिल्यो। न्यूनतम मात्रामा दिइयो।
केही दिनमै लक्षणहरू हराए। अर्को वसन्तमा पनि समस्या हल्का मात्र भयो।
यसरी, रोग दबाउने होइन, शरीरको स्वाभाविक रक्षा प्रणालीलाई जागृत गरेर निको पारिन्छ।
निष्कर्ष
क्लासिकल होमियोपैथी केवल औषधि दिने तरिका मात्र होइन, यो मानव स्वास्थ्यप्रति समग्र दृष्टिकोण हो। हैनिमैनले प्रतिपादित सिद्धान्तहरू आज पनि उत्तिकै वैज्ञानिक, उपयोगी र प्रासंगिक छन्।
यो पद्धतिले हामीलाई सिकाउँछ—
रोग बाहिरी होइन, आन्तरिक असन्तुलन हो।
सही औषधि र सही सिद्धान्तले शरीर आफैं निको हुन्छ।
जीवनशक्ति सशक्त बनाउन सकिए सबै रोग हराउन सक्छन्।
त्यसैले, प्रत्येक होमियोप्याथ चिकित्सकले यदि क्लासिकल सिद्धान्तलाई शुद्ध रूपमा अपनाए भने होमियोपैथी विश्वका लागि अझ विश्वसनीय र प्रभावकारी चिकित्सा बन्न सक्छ।
-(डा. ललित कुमार मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन्।)