काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) को १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन प्यानलले उम्मेदवारी दिएका छन्। आगामी निर्वाचनका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो।
प्याननलगत प्रतिष्पर्धा यसअघि पनि भइरहेका हुन् । तर, त्योबेला राजनीतिक छायाँमा निर्वाचन भइरहेको हुन्थ्यो । नेपाली कांग्रेस तथा प्रजातान्त्रिक मान्यता बोकेका दलहरुले 'प्रजातान्त्रिक' र नेकपा एमालेलगायत कम्युनिस्ट विचारधारामा आस्था राख्नेहरुले 'प्रगतिशील' भनेर प्यानलको नाम दिन्थें र मतदानकर्ता चिकित्सकहरु पनि 'व्यक्ति' भन्दा पनि राजनीतिक आस्थाका आधारमा भोट हाल्थे।
एनएमए स्थापना चिकित्सकका पेशागत हकहितका लागि मात्रै होइन, स्वास्थ्य क्षेत्रकै 'ब्रेन' बनाउन उद्देश्यले गरिएको थियो। 'एकता, भातृत्व र सेवा एनएमएको मुलमन्त्र हो। जसले चिकित्सकहरुबीच एकता र सद्भाव मात्रै नभएर आमजनको स्वास्थ्य उपचारलाई पनि उत्तिकै प्राथमिकतामा राखेको दर्शाउँछ। पेशागत एकता मुलुककै जेठो पेशागत संगठन एनएमए पछिल्लो राजनीतिक संक्रमणबाट ग्रसित हुँदै गयो। चिकित्सकहरु पनि राजनीतिक रुपमा विभक्त हुन थाले। त्यसको छायाँ एनएमएमा पर्न थाल्यो। जसले गर्दा प्रतिष्पर्धा 'पेशागत' नेतृत्वका लागि भन्दा 'राजनीतिक' लडाइँ जस्तो देखिन थाल्यो।
निर्वाचनपछि कम मत पाउने चिकित्सक होइन, एउटा राजनीतिक 'आस्था' नै किनारा लाग्ने अवस्था सृजना हुँदै गयो। एनएमले सुरुवाती दिनमा प्राप्त गरेको गरिमा पनि विस्तारै गुमाउँदै गएको आभाष आम चिकित्सकमा हुन थाल्यो। राजनीतिक आस्थाका आधारमा नेतृत्व चयन प्रणालीको विकास भएपछि एनएमएको सदस्य बन्ने जाँगर पनि आम चिकित्सकमा जाग्न छाडेको देखिन्छ। जो कुनैपनि राजनीति दलसँग निकट छैन तर पेशागत संस्थाको नेतृत्व गर्न चाहन्छ, ऊ आउने बाटो नहुनले यस्तो अवस्था सृजना गरेको हो।
अहिले तथ्यांक केलाउँदा जम्मा चिकित्सकको झन्डै एक तिहाइ मात्रै चिकित्सक संघका सदस्य छन्। नेपाल मेडिकल काउन्सिलमा ४० हजार हाराहारी चिकित्सक दर्ता हुँदा एनएमएको सदस्य हुन जम्मा १६ हजार आएका छन्। जसले एनएमएलाई आम चिकित्सकको आस्थाको केन्द्र भन्दा पनि राजनीति गर्नेहरुको रुचिको थलोको रुपमा चित्रण गरेको छ।
गर्विलो विगत ब्युँताउने चुनौती
संघले नेपालको पहिलो पेशागत संगठनको मान्यता मात्रै पाएको होइन, चिकित्सा पेशाकै पक्षमा महत्वपूर्ण निर्णय समेत गराउन सफल भएको थियो। एनएमएको स्थापना २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना डाक्टरहरूले गरेका थिए। एनएमएका पूर्वअध्यक्ष डा लोचन कार्कीको पुस्तक 'नेपाल चिकित्सक संघः विगतदेखि वर्तमानसम्म'का अनुसार त्यहीँ आयोजित एक बैठकले आफ्नो पेशागत हक, हित, प्रतिष्ठा, सुसंगठन एवम् भावनात्मक एकता बनाउने उद्देश्य र कर्तव्यवोध सहित १३ बुँदे एक निर्णय गरेको थियो, जसमा नेपाल चिकित्सक संघको स्थापना गर्ने अठोट प्रमुख थियो। सोही बैठकमा संस्थापक चिकित्सकहरूले उपचार सेवालाई नियमसम्मत बनाउने, स्वास्थ्य सेवामा संलग्न जनशक्तिलाई तालिम र प्रशिक्षणद्वारा दक्ष बनाउने, स्वास्थ्य मन्त्रालयसँग समन्वय राखी चिकित्सा ज्ञान-विज्ञानको प्रवर्द्धन गर्दै आम जनतालाई यसबाट लाभान्वित बनाउनेजस्ता कार्यमा पनि नेपाल चिकित्सक संघले आवश्यकता महसुस गरेको थियो।
उक्त निर्णयलाई सरकारी वैधानिकता र मान्यता प्राप्त गर्न सोही वर्षको चैत २ गते स्वास्थ्य मन्त्रालयमा निवेदन दिइयो र मन्त्रालयले सिफारिस सहित गृह मन्त्रालयलाई आवश्यक कार्यवाहीका लागि प्रक्रिया अगाडि बढायो। सोही वर्ष संघले सरकारबाट स्वीकृति पाएर नेपालको सबैभन्दा पहिलो पेशागत संगठन हुने इतिहास बनायो। संघको संस्थापक अध्यक्ष स्व.डा. सिद्धिमणि आचार्य दीक्षित भए। उनले ८ वर्ष अनवरत नेतृत्व गरेका थिए।
त्यो समय चिकित्सक संघले त्यस्तो काम गरेको छ, जुन सरकारले गर्न सकिरहेको थिएन। परोपकार राहत शिविरमा चिकित्सा सेवा, सिनेमाहलबाट शिक्षामूलक उपचार पद्धतिबारे सिनेमा प्रशारण, उपत्यकाबाहिर घुम्ती स्वास्थ्य सेवा लगायत संस्थाको ओज र आवश्यकता दुईटै बढाइदिएको थियो। संस्थाको यही गरिमाका कारण २०१४ साल बैशाखमा स्वास्थ्य मन्त्रालयको सल्लाहकार निकायमा चिकित्सक संघका महासचिवलाई सदस्यका रूपमा आमन्त्रण गर्न थालिएको थियो।
सेवाभाव, समर्पण, बौद्धिक व्यक्तिको संलग्नताले आमजनमा समेत चिकित्सक संघको अभिभावकीय छवि बनेको थियो। सरकारले त्यही भएर 'सल्लाहकार' संस्थाका रुपमा ग्रहण गर्यो। तर, राजनीतिक आस्थाका आधारमा चिकित्सक विभक्त हुँदा 'पार्टी निकट' स्वास्थ्य मन्त्रीका आँखामा सल्लाहकार र अर्को पार्टीको मन्त्रीका आँखामा 'प्रतिपक्ष' बन्ने अवस्था रह्यो। चिकित्सक संघका पदाधिकारीले 'स्वतन्त्र संस्था' बनाउने खोजेपनि चुनावको समयमा बन्ने 'प्यानल'का कारण यस्तो भएको हो।
टिम फलानो अर्थात् साझा नेतृत्व
अहिले तीनटा प्यानल चुनावी प्रतिष्पर्धा छन् । खोतल्दै जाँदा ती प्यानल र त्यसको नेतृत्वको पक्षधरता पनि पहिचान गर्न मुश्किल छैन। उनीहरु आफैंले त्यसबाट मुक्त राखेर निर्वाचनमा होमिनु व्यक्तिगत रुपमा जोखिमपूर्ण होला तर संस्थाका लागि पनि हितकर हुन्छ। संघ राजनीतिक प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सके एनएमए फेरि एकपटक चिकित्सकको साझा अभिभावक संस्था बन्ने सम्भावना देखिन्छ। यसबाट सबैभन्दा ठूलो लाभ भनेको नेतृत्व चयनमा व्यक्तिको योग्यता, दृष्टि र कार्ययोजनामाथि केन्द्रित प्रतिस्पर्धा विकास हुनु हो। राजनीतिक आस्थाका आधारमा होइन, पेशागत क्षमता र प्रतिबद्धताका आधारमा नेतृत्व चुन्ने संस्कृतिले संगठनभित्र स्वस्थ लोकतान्त्रिक अभ्यासलाई बल पुग्नेछ।
राजनीतिक आस्थाका आधारमा मात्रै नेतृत्वमा पुग्ने परिपाटीको अन्त्य हुँदा आम चिकित्सकमा संघप्रति अपनत्व र भरोसा बढ्नेछ। हाल सदस्यता लिन अनिच्छुक देखिएका ठूलो संख्याका चिकित्सक पुनः संघतर्फ आकर्षित हुने सम्भावना प्रबल हुन्छ। यसले सदस्य संख्या मात्र होइन, संघको प्रतिनिधित्व शक्ति र वैधानिक दबाब क्षमता पनि उल्लेख्य रूपमा बढाउनेछ।
संघ राजनीतिक रुपमा तटस्थ बनेपछि सरकारसँगको सम्बन्ध पनि व्यक्तिकेन्द्रित होइन, संस्थागत र नीतिगत बन्नेछ। जुनसुकै दलको स्वास्थ्य मन्त्री भए पनि एनएमएलाई ‘निकट’ वा ‘विपक्षी’ भनेर होइन, स्वतन्त्र पेशागत सल्लाहकारका रूपमा स्वीकार्ने वातावरण बन्न सक्छ। यसले स्वास्थ्य नीति निर्माण, चिकित्सा शिक्षा, जनशक्ति व्यवस्थापन र चिकित्सकको हकहितसम्बन्धी निर्णयमा एनएमएको प्रभावकारिता पुनःस्थापित गर्न मद्दत गर्नेछ।
राजनीतिक विभाजन हटेपछि संघभित्रको ऊर्जा आन्तरिक संघर्षमा होइन, पेशागत सुधार, अनुसन्धान, तालिम र सेवा विस्तारमा केन्द्रित हुन सक्छ। चिकित्सकको कार्यस्थल सुरक्षा, पारिश्रमिक, ड्युटी आवर, मानसिक स्वास्थ्य जस्ता साझा मुद्दामा एकीकृत आवाज उठाउन सजिलो हुनेछ।
सबैभन्दा महत्वपूर्ण कुरा, राजनीतिक प्रभावबाट मुक्त एनएमएले पुनः आम जनतामाझ सेवाभावी, बौद्धिक र विश्वसनीय संस्थाको छवि बनाउन सक्छ। सुरुवाती दिनमा जस्तै राज्यले गर्न नसकेका क्षेत्रमा अग्रसर हुने, नवीन सोच र सामाजिक उत्तरदायित्व बोक्ने संस्थाको रूपमा आफ्नो गर्विलो इतिहासलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्न सक्छ।
राजनीतिक छायाँबाट मुक्त निर्वाचन केवल प्रक्रिया सुधार मात्र होइन, एनएमएको आत्मा पुनःजागृत गर्ने अवसर हो। यो अवसर सदुपयोग गर्न सके संघ फेरि एकपटक सबै चिकित्सकको साझा मञ्च र स्वास्थ्य क्षेत्रको मार्गदर्शक ‘ब्रेन’ बन्न सक्छ।