नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनले चिकित्सा क्षेत्रभित्र मात्र होइन, समग्र समाज–राजनीतिक चेतनामा पनि केही महत्वपूर्ण संकेतहरू दिएको छ। उपाध्यक्ष पदका तीन प्रत्यासीमध्ये डा. कुन्जाङ शेर्पा विजयी भए। डा शेर्पा ५२३४ मतका साथ उपाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी डा गुरुशरण साहले ४३५० मतसहित प्रतिष्पर्धा गरे। डा अजयसिंह थापाले १८४४ मतसहित सम्मानजनक उपस्थिति जनाए।
सदस्यमा डा छवि पन्थी ४ हजार ८ सय ५७ मत पाएर सबैभन्दा धेरै चिकित्सकको मन जित्ने उम्मेदवार बने। यी सबै नतिजा सतहमा देखिने तथ्य हुन्। तर, भित्री तहमा यो निर्वाचनले धेरै गहिरा सन्देश बोकेको छ।
डा शेर्पाको जित र त्यसको पृष्ठभूमि
डा. कुन्जाङ शेर्पाको विजयलाई धेरैले ‘अनपेक्षित’ भने। तर, यसलाई आकस्मिक मात्र ठान्नु अधुरो विश्लेषण हुनेछ। लामो समयदेखि चिकित्सा क्षेत्रको सुधार, चिकित्सकको हकहित र नियामक संस्थाको पारदर्शिताबारे निरन्तर आवाज उठाउँदै आएका व्यक्तित्वका रूपमा डा. शेर्पाको छवि बनेको थियो।
उनी ‘सत्ता–संरचना’को परम्परागत घेराभन्दा बाहिर उभिएका उम्मेदवार थिए, जुन कुरा अहिलेको सामाजिक–राजनीतिक परिवेशसँग मेल खान पुग्यो।
देशकै समग्र राजनीतिक माहोल हेर्दा यथास्थितिप्रतिको असन्तुष्टि स्पष्ट देखिन्छ। परम्परागत शक्ति केन्द्रहरूको प्रभाव खुम्चिँदै गएको छ भने नयाँ पुस्ता (विशेषतः जेन–जी)ले “पुरानै तरिकाले देश र समाज चल्दैन” भन्ने सन्देश तीव्र रूपमा दिइरहेको छ।
यही मनोविज्ञान चिकित्सा क्षेत्रसम्म आइपुगेको संकेत काउन्सिल निर्वाचनले दिएको छ। चिकित्सा क्षेत्रमा लामो समयदेखि प्रभाव जमाउँदै आएको ‘शक्ति संरचना’प्रति देखिएको असन्तुष्टिको अभिव्यक्ति नै डा. शेर्पाको जितका रूपमा देखा परेको ठान्न सकिन्छ।
काठमाडौं उपत्यका, जसलाई प्रायः ‘शक्ति केन्द्र’ मानिन्छ, त्यही क्षेत्रका धेरै चिकित्सक मतदाताले फरक धार रोजेको पाइएको छ।
सदस्य निर्वाचन : एजेन्डा, सक्रियता र नेटवर्कको भूमिका
सदस्य पदका ८ सिटका लागि ३३ उम्मेदवारबीचको प्रतिस्पर्धा पनि अर्थपूर्ण रह्यो। निर्वाचित सदस्यहरूको पृष्ठभूमि हेर्दा, चिकित्सकको अधिकार, पेशागत मर्यादा र चिकित्सा क्षेत्रको सुधारका आन्दोलनमा सक्रिय अनुहारहरू अगाडि आएको देखिन्छ। यसले मतदाताले केवल परिचय वा पद होइन, उम्मेदवारको भूमिकालाई समेत मूल्याङ्कन गरेको संकेत दिन्छ।
यससँगै व्यक्तिगत र संस्थागत नेटवर्कको प्रभाव पनि नकार्न सकिँदैन। देशव्यापी सञ्जाल, पेशागत सम्बन्ध र सहकर्मीहरूसँगको निरन्तर सम्पर्कले मत परिणाममा अर्थपूर्ण भूमिका खेलेको देखिन्छ। त्यसबाहेक, चुनावी अभियानको व्यवस्थापन, स्पष्ट एजेन्डा, सामाजिक सञ्जाल र मिडियामार्फत् आफ्ना विचार सम्प्रेषण गर्ने क्षमताको कदर पनि यस निर्वाचनमा भएको छ।
समग्रमा, उपाध्यक्ष जस्तो महत्वपूर्ण पदमा ‘परिवर्तन’ र ‘नयाँ विश्वास’को खोजी देखियो भने अन्य पदमा लोकप्रियता, सक्रियता, स्पष्ट एजेन्डा र व्यक्तिगत सञ्जाल निर्णायक बने।
छिटफुट चिट र अर्थहीन प्यानल
विजयपछि उपाध्यक्ष डा. कुन्जाङ शेर्पाले सार्वजनिक रूपमा ‘चिट’ र ‘प्यानल’ संस्कृतिप्रति असन्तुष्टि जनाउनु आफैंमा अर्थपूर्ण सन्देश हो। चिकित्सा क्षेत्र जस्तो बौद्धिक र विवेकशील पेशामा यस्ता अभ्यास उपयुक्त नहुने उनको भनाइले नैतिक राजनीति र पेशागत मर्यादाको प्रश्न उठाएको छ।
तर, विगत जस्तो 'चिट संस्कृति' यसपल्ट हावी भएन। छिटफुटमा चिट बाँडिए। त्यसको असर सामान्य रह्यो। यद्यपि प्यानल निर्माणको प्रयास भएको उनले बताएपनि मतदाताले त्यसलाई व्यापक रूपमा अनुसरण नगरेको परिणामले देखायो।
उपाध्यक्षदेखि सदस्यसम्म केही हदसम्म प्यानलगत मत खसे पनि, धेरैजसो मतदाताले व्यक्तिगत मूल्याङ्कनका आधारमा मत दिएको देखिन्छ। यही कारणले एक पक्ष विशेषका मात्र होइन, सबैतिर विश्वास र आस्था भएका उम्मेदवारहरू निर्वाचित भएका छन्।
न्यून मतदान र डिजिटलाइजेसनको अपरिहार्यता
नेपाल मेडिकल काउन्सिलमा करिब ४० हजार चिकित्सक दर्ता छन्। तर, जम्मा ११ हजार ९१९ मत मात्रै खस्नुलाई स्वभाविक रुपमा लिन सकिदैन। अझै व्यापक रुपमा मतदान हुनसक्ने विकल्पबारे छलफल गर्नुपर्ने आवाजलाई यसले बलियो बनाएको छ। चार भागको एक भागभन्दा कम सहभागिताले सम्पूर्ण चिकित्सक समुदायको प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने बहस स्वाभाविक रूपमा उठ्छ।
चिकित्सा पेशाको व्यस्तता, भौगोलिक दूरी र भौतिक बुथ प्रणाली नै न्यून मतदानको प्रमुख कारण देखिन्छ। धेरै चिकित्सक चाहेर पनि मतदानमा सहभागी हुन नसकेको यथार्थलाई बेवास्ता गर्न सकिँदैन। यही पृष्ठभूमिमा निर्वाचन डिजिटलाइज हुनुपर्ने माग यसपल्ट खुलेर आएको छ। डा. शेर्पाले आफ्नो पहिलो वक्तव्यमै आगामी निर्वाचनमा डिजिटल प्रविधि प्रयोग गर्ने प्रतिबद्धता जनाउनु यस दृष्टिले महत्वपूर्ण संकेत हो।
विवादरहित निर्वाचन र गणना : संस्थागत परिपक्वता
नेपाल मेडिकल काउन्सिलको यो निर्वाचनलाई लिएर उल्लेख गर्नैपर्ने पाटो भनेको विवादरहित निर्वाचन र मतगणना हो । अध्यक्ष डा चोपलाल भुषालको परिपक्वता, रजिष्ट्रार डा सतिश देवको सक्रियता र निर्वाचन समितिको निष्पक्षताको परिणाम हो ।
चुनावका सवै प्रक्रियालाई उम्मेदवारले स्वभाविक रुपमा स्वीकार्ने वातावरण निर्माण गर्ने कार्य आफैंमा जटिल हुन्छ। तर, काउन्सिलले त्यो जटिलतालाई सहज रुपमा पूरा गरेको छ।
निर्वाचनपछि बोल्दै डा सतिश देवले काउन्सिलको सिंगो टिमको लगन-खटन, निर्वाचन समितिको निष्पक्ष निर्वाचन गराउने भावना र उम्मेदवाहरुको सुझबुझले सम्भव भएको बताएका छन्।
चिकित्सा क्षेत्रमा दुईटा निर्वाचन हुन्छन्- एउटा काउन्सिलको र अर्को नेपाल मेडिकल एशोसिएसनको। १२ वर्षमा यी निर्वाचन सँगसँगै पर्न जान्छन्। त्यसकारण यसपल्ट एकमहिना अघि-पछि हुने संयोग परेको छ। काउन्सिलको निर्वाचनले आगामी निर्वाचनका लागि केही संकेत गरेको छ। केही शिक्षा दिएको छ। सम्बन्धितले त्यसलाई बोध गरेका छन् भन्ने विश्वास छ। उनीहरुले ती संकेत बुझुन् र शिक्षा लिउन्। संघको निर्वाचन पनि सभ्य, भव्य र निष्पक्ष भएको लेख्न-देख्न पाइयोस्!