चितवन- पुष्पकमल दाहाल प्रचण्डले मुलुक कठिन अवस्थामा रहेको उल्लेख गर्दै स्थायित्व र समृद्धितर्फको यात्रा निर्धारण गर्न निर्वाचन महत्वपूर्ण हुने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डले बिहीबार भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र ‘क’ बाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले सक्रियता र उत्साहका साथ उत्सवकै रूपमा निर्वाचनमा सहभागी हुन उनले अपिल गरेका छन्। धेरैभन्दा धेरै मतदाता सहभागी भएमा त्यसले आउने परिणामलाई स्थायित्वतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
प्रचण्डले यसअघिको निर्वाचनभन्दा यसपटक नेकपाको परिणाम राम्रो आउने दाबी पनि गरेका छन्।
उनले अहिलेको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।
“मुलुक अहिले कठिन अवस्थामा छ। त्यसैले स्थायित्व र समृद्धिको यात्रालाई सही दिशामा लैजान यो निर्वाचन अत्यन्तै महत्वपूर्ण छ। सबै मतदाताले उत्साहका साथ सहभागी भएर लोकतन्त्रको उत्सव मनाउनुपर्छ,' उनले भने।