पाल्पा- पूर्वखोला गाउँपालिका–६, हेक्लाङका स्थानीयवासीले स्वास्थ्य चौकीमा मतदान केन्द्र राखिएकोमा स्थानीयले विरोध गरेका छन्। स्थानीयले विरोधस्वरुप निर्वाचन टोलीलाई अवरोध पुर्याएका छन्। सुरक्षाकर्मी र मतदान अधिकृतको टोली मतदान स्थल पुगे पनि स्थानीयले स्वास्थ्य सेवा प्रभावित हुने भन्दै सामग्री राख्न दिएका छैनन्।
स्थानीयका अनुसार हेक्लाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) र आपतकालीन सेवा सञ्चालनमा रहेकाले त्यहाँ मतदान केन्द्र राख्नु अव्यवहारिक छ। विकल्पको रूपमा ५० मिटरको दूरीमै रहेको 'बालहित प्राथमिक विद्यालय' हुँदाहुँदै संवेदनशील स्वास्थ्य संस्था रोजिएकोमा उनीहरूको तीव्र असन्तुष्टि छ।
स्थानीय हरिबहादुर बाह्रघरेले मानवीयताका नाताले सोमबारका लागि कर्मचारीलाई बस्न दिए पनि मतदानका कुनै पनि गतिविधि स्वास्थ्य चौकीमा हुन नदिने अडान राखे। "हामीले निर्वाचन कार्यालयमा पहिले नै निवेदन दिएका थियौँ, तर हाम्रो मागको कुनै सुनुवाइ भएन," उनले भने।
यसअघि नै हेक्लाङमा रहेका सबै राजनीतिक दलका प्रतिनिधिहरूले स्वास्थ्य चौकीमा मतदान केन्द्र नराख्न सामूहिक माग गरेका थिए। एमालेका धनबहादुर सारु, कांग्रेसका दुर्गाबहादुर थापा र कम्युनिष्ट पार्टीका हरिबहादुर बाह्रघरे लगायतले विद्यालयमा दुई वटा भवन उपलब्ध हुँदाहुँदै प्रसूति केन्द्र जस्तो संवेदनशील ठाउँ रोजिनु गलत भएको बताएका छन्।