काठमाडौं- अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शुशीला कार्की नियुक्त भएकी छन्। पूर्वप्रधानन्यायाधीश कार्कीको मन्त्रीमण्डलका बाँकी सदस्यको टुंगो लागेको छैन।
तत्कालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समेत उनले नै सम्हाल्नेछिन्। तर, 'नागरिक सरकार' भनिएको उनको मन्त्रीमण्डल पूरा गर्नेगरी गृहकार्य जारी छ। सम्बन्धित क्षेत्रका विज्ञलाई नै मन्त्रालय दिनेगरी जेनजी टिमसँग नवनियुक्त प्रधानमन्त्री कार्कीले छलफल गरिरहेकी छिन्।
आगामी ६ महिनाभित्र चुनाव समेत गर्नेगरी बनेको सरकारले आन्दोलनका क्रममा भएको भौतिक तथा संरचनागत अस्तव्यस्तता समेत सम्हाल्नुपर्ने देखिन्छ। भौतिक रुपमा ध्वस्त स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसलाई दिइएला ? अझै स्पष्ट भइसकेको छैन । तर, प्रख्यात आँखा रोग विशेषज्ञ डा सन्दुक रुईतले चाहेको खण्डमा जिम्मेवारी प्राप्त गर्ने संकेत भने देखिन्छन्।
डा रुइत जेनजी अभियानका मुख्य योजनाकार सुधन गुरुङसँग निकट छन्। गुरुङको 'हामी नेपाल' अभियानमा उनी अध्यक्ष रहेको बारबरा फाउन्डेसनले पहिलेदेखि नै सहयोग गर्दै आइरहेको देखिन्छ। एक अन्तर्वार्ता गुरुङले भनेका छन्, 'हामी नेपालको अभिभावक, पिता जे भनेपनि बारबरा फाउन्डेसन र सन्दुक रुइत हो। जे गर्दा पनि हामि डा सन्दुक रुइतलाई सुन्छौं, अनि मात्र काम गर्छौं।'

प्रदर्शनका क्रममा 'सक्रियता
जेनजी प्रदर्शनमा डा रुइतको 'सक्रियता' समेत देखिएको थियो। सामान्यतया राजनीतिक विषयमा त्यति नबोल्ने उनले प्रदर्शनका क्रममा दुईटा अपिल जारी गरेका छन्।
डा सन्दुक रुइटले भने- अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन्
उनले पहिलो अपिल १८ जनाको हत्या भएपछि जारी गरे। जहाँ उनले भनेका छन्, 'अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन् । अबको परिवर्तन रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुनेछ भन्ने अपेक्षा म र मजस्तै धेरै अभिभावकहरुले लिएका छौं । सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ।'
दोस्रो दिन आन्दोलन चर्कियो। सार्वजनिक सम्पत्ति आगजनी र तोडफोड हुन थाले। त्यसबेला पनि उनले अपिल जारी गरे।
डा. सन्दुक रुईटको आग्रह : सार्वजनिक सम्पत्तिको नोक्सानी नगर
उनले भने, ' डा. सन्दुक रुईटको विशेष अनुरोध : सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।'
यो पृष्ठभूमि हेर्दा यो नयाँ परिवर्तनका लागि डा रुइतको रुचि देखिएको छ। परिवर्तनपछिको माहोल सम्हाल्ने रुचि राखेमा अहिलेको 'जेनजी अभियान'ले उनलाई स्वीकार्ने देखिन्छ।
आम नेपालीजनमा पनि उनीप्रति आशा र भरोसा छ। त्यसैले उनले चाहेको अवस्थामा नयाँ स्वास्थ्य मन्त्रीका लागि आम स्वीकार्यता भने उनले यसअघि विश्वको आँखा उपचार र कल्याणकारी क्षेत्रमा गरेको योगदानका कारण पनि छ।