काठमाडौँ- नेपालको राजधानी काठमाडौँसहित देशभरको सडकमा हालैको 'जेनजी' पुस्ताको शासनसत्ताविरुद्धको आन्दोलनमा भएको घटनाले मुलुक शोकमा डुबेको छ। भदौ २३, सोमबार देश, माटो र झण्डाको इज्जत जोगाउन शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका निहत्था युवामाथि राज्यद्वारा गोली चलाइएपछि थुप्रैको ज्यान गएको घटनालाई चिकित्सक तथा समाजसेवी डा. सन्दुक रूईटले "कालो सोमबार"को रूपमा व्याख्या गरेका छन्।
डा. रूईटले विज्ञप्ति जारी गर्दै भने, 'देशप्रेमी निहत्था सपुतहरूको हत्या कुनैपनि शब्दले निन्दा गर्न अपुरो हुन्छ। म गहिरो पीडामा छु र ज्यान गुमाउने युवाका अभिभावकप्रति हृदयदेखि संवेदना व्यक्त गर्दछु।'
उनले परिवार र व्यक्तिबाटै राज्य बन्छ भन्ने स्मरण गराउँदै सरकारको दमनकारी रवैयाले राज्यलाई उजाडतर्फ धकेल्ने चेतावनी दिए। 'निहत्था युवाको रगतले कुनै नेताको दोष पखालिँदैन। भविष्य चिन्तित जेन्-जी पुस्ताको यो आन्दोलन अब इतिहासमै दुर्गामी अर्थ राख्नेछ,' रूईटले जोड दिए।
डा. रूईटले आफ्ना भावनालाई सडकमा प्रकट गर्ने युवामाथि भएको गोली प्रहारलाई 'अक्षम्य अपराध' भन्दै यस्ता अपराधी मनोवृत्तिले शासनसत्ता चलाउन नसकिने स्पष्ट पारे।
अन्त्यमा उनले सबै नेपालीले अब राजनीतिक वेथितिबाट मुक्ति खोजेको भन्दै रचनात्मक र विकासशील मुलुक निर्माणतर्फै अबको परिवर्तन अघि बढ्ने अपेक्षा व्यक्त गरे। 'सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं' उनको अपिलमा भनिएको छ।
उनको अपिल
अहिले नेपालको राजधानी काठमाडौँ लगायत देशभर युवाहरू अझ विशेष गरेर "जेन्-जी" पुस्ता शासनसत्ताको भ्रष्ट आचरण, जवाफहीन व्यवहार र आफ्नालाई मात्रै पोस्ने रवैयाको खुलेर विरोध गर्न सडकमा उत्रिएका छन् । सोमबार देश, माटो र झण्डाको इज्जत जोगाउन सडकमा उत्रिएका निहत्था युवाहरूको जुन रूपमा राज्यले हत्या गऱ्यो त्यसको जतिसुकै कठोर शब्दमा निन्दा गरेपनि कम हुन्छ । हिजोको घटनाले मलाई अत्यन्तै दुखित बनाएको छ । म यो पीडा शब्दमा बयान गर्न सक्दिन। नविन सोचले प्रेरित भएका देशप्रेमी सपुत गुमाउने सबै आमाबुवा प्रति म हृदयको अन्तरमनबाट समवेदना प्रकट गर्दछु।
कुनैपनि व्यक्तिको घर परिवारले बन्छ । त्यही व्यक्ति र परिवार मिलेर राज्य बन्छ । कुनै व्यक्तिको परिवार उजाड्ने अहिलेको सरकारको व्यवहारले कस्तो राज्य बन्ला ? भाद्र २३, सोमबारको दिन अब इतिहासमा "कालो सोमबार"का रूपमा दर्ज भइसकेको छ । अहिले असान्दर्भिक जस्तै भइसकेका कुनैपनि नेताको दोष निहत्था युवाको रगतले पखालेर पखालिँदैन । आफ्नो भविष्यका लागि चिन्तित "जेन्-जी" पुस्ताले सुरु गरेको यो विरोध र यो आन्दोलनले दुर्गामी अर्थ राख्नेछ भन्नेमा कुनै दुईमत छैन ।
आफ्नो सुनौलो भविष्यको सपना कुल्चिएर अगाडि बढिरहेको शासनसत्ताको विरोध गर्नु कुनै अपराध होइन । तर आफ्नो भावनालाई सडकमा मुखरित गर्ने अबोध केटाकेटीको हत्या गर्नु अक्षम्य अपराध हो । त्यही अपराधी मनोवृत्तिले शासनसत्ता चलाइरहन सकिन्छ भन्ने सोच कसैले राख्नु हुँदैन ।
अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन् । अबको परिवर्तन रचनात्मक र विकासशील देश बनाउने सोचबाट प्रेरित हुनेछ भन्ने अपेक्षा म र मजस्तै धेरै अभिभावकहरुले लिएका छौं । सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।
डा. सन्दुक रूईट