काठमाडौं — कांग्रे सभापति गगन थापाले उत्तेजना, प्रतिशोध र निषेधको राजनीतिबाट सुशासन प्राप्त हुन नसक्ने बताएका छन्।
पूर्व स्वास्थ्य मन्त्री सभापति थापाले बिहीबार काठमाडौंको मैतिदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
यसअघि काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधित्व गर्दै आएका थापा यसपटक भने सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट सचिन तिमिल्सेना उम्मेदवार रहेका छन्।
मतदानपछि उनले यो निर्वाचनले दिने म्यान्डेटले आगामी पाँच वर्ष नेपाल कसरी सञ्चालन हुन्छ भन्ने निर्धारण गर्ने बताए। उनका अनुसार मतदाताले स्पष्ट र सही म्यान्डेट दिएमा मात्रै देशलाई सही दिशामा लैजान सकिन्छ।
उनले विगतमा देखिएको असन्तुष्टिको पुनरावृत्ति भए त्यसको कुनै अर्थ नहुने उल्लेख गर्दै संविधान र द्वन्द्वपछिका उपलब्धिहरूलाई सही ढंगले सम्हाल्न नसकिएको पनि बताए।
थापाले अहिले देशलाई ठूलो परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सुशासन मुख्य मुद्दा रहेको बताए। 'मुख्य मुद्दा सुशासन हो । उत्तेजना, प्रतिशोध र निषेधको राजनीतिले सुशासन पाइँदैन,' उनले भने।
संविधान कार्यान्वयनका जटिलता अझै कायम रहेको भन्दै उनले मतदातालाई सुझबुझका साथ मतदान गर्न आग्रह गरेका छन्।
थापाले काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत मैतिदेवी मतदान केन्द्रबाट मतदान गरेका छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्व स्वास्थ्य मन्त्री थापाले बिहीबार काठमाडौंको मैतिदेवी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
थापाले मतदान गरेको क्षेत्रमा कांग्रेसका तर्फबाट सचिन तिमिल्सेना उम्मेदवार रहेका छन्।